दुखैदुखको पहाडमा खुसीको एक टुक्रा पर्खिँदा पर्खिँदै, फुङ उडेका उदासीका फूलहरू ढकमक्क फुल्थे हजुरआमाको चाउरी परेका निधारमा। कतै सन्तोषको एक धर्सा भेटिन्न थ्यो तर जिम्मेवारीको रापले घाम उदाएदेखि अस्ताएसम्म उहाँलाई पोलिरहन्थ्यो। माटोले माखिएको हात, पसिनाले भिजेको निधार र थकाइले भरिएको शरीरभित्र पनि त्यस्तो अद्भुत ममता थियो, जसले परिवारलाई बाँधेर राख्थ्यो।
२७ वर्षसम्म जीवनसाथी मुग्लिन हराउँदा पनि दुई लालाबालालाई अँगालोमा कसेर हजुरआमाले संसारसँग लड्नुभयो। उहाँको त्यो संघर्ष कुनै साधारण कथा होइन; गाउँको धुलो, पसिना र आँसुमा लेखिएको जीवित उपन्यास हो। हजुरले बिताएको संघर्ष आज कुनै चल्ती सिनेमा बन्न सकेको भए, त्यो देशभरि हिट हुने थियो। तर त्यो कथा पर्दामा होइन— हजुरका फाटेका हात र चाउरी परेका निधारमा लेखिएको थियो जसको हरेक अक्षरमा आँसु र पसिनाको मसी मिसिएको थियो।
मेलापात, खेतबारी, गाईभैँसी, गोठ, दाइ पराल, उहाँको दिनचर्या यही थियो। तर त्यही कामको थकाइभित्र पनि हजुरआमाले आत्मसम्मान र इज्जतलाई कहिल्यै मर्न दिनुभएन। गाउँका मान्छेहरू भन्थे- उहाँले नगरेको काम छैन।
साँच्चै, गाउँमा मेलापात नगएको घर थिएन अनि त्यो मेलापातमा हजुरआमाको हात नपुग्ने गाउँ हुन्नथ्यो। हजुरले गाईभैँसीलाई घाँस काट्ने अनकन्टार भीर पनि आफ्नो नाममा बनाइदिनु भएको थियो रे। मलाई हजुरले रुँदै सुनाएको याद छ। एक्लो देखेर आँगन जोत्न आफन्त आउँथे तर हजुरले त्यस माटोमा आफ्नो इज्जतको गन्ध मिसाइदिनु भएको थियो। खरको छाना फाल्दिँदा झ्यालको पातलो पराल फेर्दा पनि हजुरको आत्मसम्मान कहिल्यै ढलेन। त्यसकै आशीर्वाद होला, आज पाँच भाइ नाति बाँसको आँख्लाजस्तै पलाएका छौँ।
म जान्ने हुँदादेखि नै अर्नि, गेडागुडी वा मिठो परिकार कसैले मेलापातमा दिए भने सुटुक्क पटुकीमा च्यापेर ल्याइदिनु हुन्थ्यो। त्यो सानो स्नेह, त्यो अदृश्य सम्झना, अहिले मेरा लागि सबैभन्दा ठुलो सम्पत्ति हो। मैले हजुरआमा भनेर कहिल्यै बोलाइनँ, सधैँ आमा भन्थेँ किनभने उहाँ मेरो कर्मदाता, जीवनदाता र ममता स्वयम् हुनुहुन्थ्यो। मलाई हुर्काउन, पढाउन र मान्छे बनाउन हजुरले गरेको तपस्या शब्दले यहाँ बयान गर्न सक्दिनँ। हजुरको ममता बिना मेरो जीवन सुर बिनाको गीत जस्तै छ।
गाउँको चौपारिमा खेल्ने बाल्यकालका दिन सम्झँदा अहिले पनि लाग्छ— उहाँको मायाले नै मलाई मानिस बनायो। उहाँको हाँसो, उहाँको हातको न्यानोपन, उहाँले बनाएको दूधको चिया र भातको सुगन्ध अहिले पनि मनको कुनामा तातो छ। घाम जलेको बिहानमा उहाँको हातको रोटी र कोदाको ढिँडो भुटेको मकैमा त्यो माया मिसिएको हुन्थ्यो। उहाँले मलाई पढाउन, बढाउन र जीवनसँग जुध्न सिकाउनु भएको त्यो शक्ति आज पनि मेरो साससँगै चलिरहेको छ।
समयको आफ्नै नियम हुन्छ भनेर सिकाउने हजुरआमा अन्ततः त्यही समयको घेरामा पर्नुभयो। बुढ्यौलीको भार, बाँच्ने संघर्ष र थकित शरीरले अन्तिम श्वास लिँदै गर्दा सायद उहाँले हामी सबैलाई सम्झनुभयो होला— त्यो कल्पनाले नै मन चिसिन्छ। तपाईंको प्यारो नातिलाई कति बोलाउनु भयो होला। कस्तो आँधी चलेको होला! बुढ्यौलीको छेउमा सन्तान टाढा हुँदा, उहाँले कति पटक स्वर्ग जाने बाटोमा फर्केर हेर्नुभयो होला।
हजुरको निधनसँगै मेरो आँखामा लागेको बादल अझै हटेको छैन। चाहे म सात सागर पार आएँ, चाहे कति चस्मा फेरेँ, त्यो बादल अझै उस्तै बाक्लो छ। मैले हजुरलाई सम्झेर लेखेका यी शब्दहरू कागजमा होइन, मुटुको पानामा कोरिरहेको छु। यो लेख लेख्दै गर्दा हरेक वाक्यसँगै आँसुको सिँचाइ भइरहेको छ। छ वर्ष बितेछ हजुरलाई बिदा गरेको तर सम्झनाको जरा अझै मनमा गाडिएको छ। कहिलेकाहीँ लाग्छ— यी शब्दहरू हजुरले कतै सुन्न सक्नुभयो भने भगवानले ती हावामा मिसाइदिऊन्।
हजुरबुबा २७ वर्षपछि घर फर्किनुभयो, बाटो भुलेर अर्के गाउँ जाँदै गर्दा गोठालाले बाटो देखाउँदै घरसम्म ल्याएको रे। उहाँसँग बुढ्यौलीबाहेक केही थिएन। त्यो क्षणमा हजुरआमाको मनभित्र कस्तो आँधीहुरी चलेको होला!
कहिलेकाहीँ कल्पना गर्छु— यदि हजुरआमा भएको भए मेरो सानी छोरीको हात समातेर खेल्दै, कोमल पाउमा माया गरेर तेल मालिस गर्दै, हाँस्दै बोल्दै हुनुहुन्थ्यो होला। यो बिरानो तर आधुनिक सहरमा हजुर को हात समाएर एक फनक्क घुम्न मन थियो। एक पटक यहाँको समुद्रमा गएर हजुर र मेरो दुख पखाल्न मन थियो। त्यो दृश्य सायद स्वर्गभन्दा सुन्दर हुन्थ्यो। तर हजुर अब फर्केर आउनुहुन्न।
तपाईं जिउँदो भगवानले छोडेर जाँदा आशाका पालुवा बिस्तारै सुक्दै गए। म सात समुद्र पारिको देशमा छु— त्यो दुखको पिङको डोरी अझै समातिरहेको छु। कहिलेकाहीँ मन भन्छ— ‘ए हजुर, एक चोटि फर्केर आउनुहोस् न। तपाईं दुख साट्ने त्यो चौपारि सुनसान छ। तपाईं पिउने त्यो मूलको पानी अहिले धमिलो छ। त्यो कान्तारमा उभिएको बुढो बाबियोले कपाल फिँजारेर हजुरको बाटो कुरिरहेको छ। त्यो गैरबारीको काफलको रुखमा कैलीले अझै ‘कुहू कुहू’ गरेर हजुरको नाम लिन्छ। गाउँको हावा अझै तपाईंको पसिनाको गन्ध बोकेर बगिरहेको छ।’
म त्यो हावासँगै हजुरको सम्झनामा हराउँछु अनि आँखा बन्द गर्छु। कहिलेकाहीँ लाग्छ— गाउँ, वन, पाखा, चराहरू, सबै कुरामा हजुरको उपस्थिति अझै बाँकी छ तर हजुर भने संसारको पारिपट्टि, अनन्त निद्रामा। म परदेशी आकाशतिर हेरिरहेको छु— जहाँ हजुरको अनुहार ताराजस्तो टल्किन्छ र म त्यही उज्यालोमा आँसु झार्छु।
स्वर्गबाट पनि हामीमाथि आशीर्वाद बर्साइरहनु भएको छ भन्ने अनुभूति म हरेक बिहान घामको किरणसँगै महसुस गर्छु। तपाईंको नाति तपाईंको आशीर्वादको छायाभित्र उभिएको छ। जीवनको हरेक खुसीमा, हरेक पीडामा, हजुरको नामसँगै बाँचिरहेको छ।
-1761466062.JPG)