प्रदेश नम्बर–५ बाट पहाडी जिल्ला छुट्याउने गरी संसदमा संविधानको दोस्रो संशोधन विधेयक दर्ता भएपछि सबैभन्दा ठूलो आन्दोलन बुटवलमा भयो। बुटवलका जनता मात्र होइन, नेता पनि आफ्नो दलको पर्वाह नगरी प्रदेश छुट्याउन नहुने भन्दै आन्दोलनमा लागे। जुलुस निस्किए, बन्द भयो। बुटवल एकाएक तात्यो।
पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउने सहितको संविधान संशोधन विधेयक अहिले पनि संसदमा छ। तर तत्काल संधोशन पास हुने सम्भावना नभएपछि मत्थर भएको बुटवलको राजनीति अहिले चुनावी सरगर्मीले तातेको छ।
पाँच नम्बर प्रदेशको राजधानी हुन सक्ने बुटवल उपमहानगरको नेतृत्व गर्न दलहरू कोही गठबन्धन गरेर चुनावमा होमिएका छन् भने कोही गठबन्धनविरुद्ध एक्लै भिडिरहेका छन्।
रुपेन्देहीको क्षेत्र नम्बर ४ मा पर्ने बुटवल उपमहानगरमा संविधानसभाका दुवै चुनावमा एमालेले बाजी मारेको थियो। यो क्षेत्रबाट एमालेका उपमहासचिव विष्णु पौडेल दुवै चुनावमा कांग्रेस उम्मेदवारलाई हराएर निर्वाचित भएका थिए। पहिलो संविधानसभामा उनले कांग्रेस उम्मेदवारभन्दा ३ हजार बढी मत ल्याएका थिए भने दोस्रो चुनावमा त करिब ७ हजार बढी मत ल्याएर विजयी बनेका थिए।
२०७० सालको दोस्रो संविधानसभा चुनावमा तत्कालीन एनेकपा माओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि यही क्षेत्रबाट निर्वाचन लडेका थिए। मत परिणाममा उनी तेस्रो भए।
त्यसअिघ पनि २०५४ को स्थानीय निर्वाचन जितेकाले एमाले बुटवललाई आफ्नो ‘किल्ला’ ठान्छ। एमालेको त्यही ‘किल्ला’ तोड्न कांग्रेसले यसपालि माओवादी केन्द्रसँग तालमेल गरेको छ। मेयर र उपमेयरमा माओवादीसँग मिलेको कांग्रेसले केही वडामा भने राष्ट्रिय जनमुक्ति पार्टीसँग पनि गठबन्धन गरेको छ।
कांग्रेससहित तीन दल एकातिर भए पनि देशका अन्य सहरमा विभिन्न पार्टीसँग तालमेल गरेको एमाले बुटवलमा एक्लै चुनावी मैदानमा ओर्लिएको छ। आफ्नो ‘किल्ला’ जोगाउन एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी बुटवलको मेयर बन्ने दौडमा छन्। उनी २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन बुटवल नगरपालिका- ९ को सदस्यमा निर्वाचित भएका थिए।
मजदुर आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका सुवेदी गत असोजमा एमाले रुपन्देहीका अध्यक्ष बनेका थिए। बलियो संगठन, इमानदार र जुझारु कार्यकर्ता भएकाले बुटवलको मेयर आफूले जित्ने सुवेदीको दाबी छ।
‘प्रदेश नम्बर ५ मा रहेको पहाड र तराई अलग हुनै सक्दैन, त्यसलाई अलग गर्नु भनेको मानिसको शरीरबाट टाउको अलग गरे जस्तै हो भन्ने यस क्षेत्रका तमाम मतदाता र सर्वसाधारणको भावना छ, त्यही भावनाको नेतृत्व गरेका कारण पनि यस क्षेत्रका मतदाताले एमालेलाई मतदान गर्ने छन्,’ सुवेदी भन्छन्, ‘बुटवलको विकास गर्ने यहाँका भूमिहीन सुकुम्वासीको भावना बुझ्ने एमाले मात्र हो भन्ने आम मतदातालाई थाहा छ।’
एमालेलाई बुटवलको नेतृत्व पाउन पहिला जति सजिलो भने यसपालि छैन। त्यसका दुई कारण छन्।
पहिलो, बुटवल उपमहानगरमा ६६ हजार ८ सय ४३ मतदाता छन्। गत संविधानसभा निर्वाचनमा कांग्रेस र माओवादीले पाएको मत एमालेको भन्दा ५ हजार बढी थियो। सायद त्यही मतका आधारमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न कांग्रेस र माओवादी केन्द्र एक बनेर एमालेविरुद्ध उभिएका छन्।
नेपाली कांग्रेसले माओवादी केन्द्रलाई उपमेयर र ६ वटा वडाअध्यक्ष तथा जनमुक्ति पार्टीलाई ४ वटा वडा अध्यक्ष दिएर मेयरसहित बाँकी ९ वटा वडा अध्यक्षसहित निर्वाचनमा होमिएको छ।
दोस्रो, रुपन्देही क्षेत्र नम्बर ४ मा बुटवलसँगै रहेको साविक पर्रोहा गाविस स्थानीय तह पुनर्संरचनासँगै सैनामैना नगरपालिकामा जोडिएको छ। १३ हजार मतदाता रहेको पर्रोहा अलग भए पनि ८ हजार मतदाता रहेको सेमलार भने बुटवलमा गाभिएको छ।
बुटवलबाट छुट्टिएको पर्रोहामा राजनीतिक हिसाबले एमालेको राम्रो पकड छ भने गाभिएको सेमलारमा नेपाली कांग्रेस बलियो मानिन्छ। यसले पनि कांग्रेसलाई बढी आशावादी बनाएको छ।
कांग्रेस–माओवादी गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका खेलराज पाण्डेय यिनै कारणले यसपालि बुटवलमा आफूले चुनाव जित्ने दाबी गर्छन्।
नेविसंघ र तरुण दलको राजनीतिबाट आएका पाण्डेय कांग्रेसका बुटवल नगर सभापति हुन्। २०७२ मा उनी बुटवल नगर विकास समितिका सभापति थिए। उनले अहिले आफूलाई टिकट दिएर पार्टीले न्याय गरेको बताए।
‘मैले निष्ठाको राजनीति गर्दै आएँ, यसपटक मलाई मेयरमा टिकट दिएर कांग्रेसले न्याय गरेको छ’, पाण्डेयले भने, ‘अब मतदाताले मत दिएर न्याय गर्नेछन् भन्नेमा म विश्वस्त छु।’
नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानले बुटवल नगरपालिकाको मेयर हुँदा कोरेको मार्गचित्रमा बुटवल अहिलेसम्म अगाडि बढेको उनको दाबी छ। ‘शिक्षण संस्थाको स्थापना, लुम्बिनी अञ्चल अस्पताल लगायत स्वास्थ्य संस्थाको स्तरोन्नतिजस्ता बुटवलका हरेक विकास निर्माणमा कांगेसले अगुवाइ गरेको छ, त्यही भएर कांग्रेसलाई मतदानले भोट दिन्छन्’, उनले भने।
माओवादी केन्द्रसँगको सहकार्यपछि उसको मत पनि आफूले पाउने भएकाले अंक गणितका आधारमा यसपटक आफूले जित्ने उनको दाबी छ।
निर्णायक वडा नम्बर ११अधिकांश सुकुम्बासी बस्ती रहेको वडा नं. ११ जुनसुकै राजनीतिक दललाई जिताउने निर्णायक वडा बन्दै आएको छ। अहिलेसम्मका निर्वाचनमा एमालेले पकड जमाउँदै आएको उक्त वडामा मात्र ११ हजार ६ सय १९ मतदाता छन्।
अरु ४/५ वडा भन्दा वडा नं. ११ एउटैमा धेरै मतदाता रहेको र यही वडा नै उम्मेदवारलाई जिताउने र हराउने निर्णायक बन्ने भन्दै सबै उम्मेदवारको ध्यान यहाँका मतदाताको मन जित्नेतर्फ केन्द्रित बनेको छ।