अस्ट्रेलियामा गत मार्च महिनामा भएको कार दुर्घटनालगत्तै श्रीमतीलाई घाँटी थिचेर मार्न खोजेको भन्दै अस्ट्रेलियाली अदालतले एक नेपालीलाई दुई वर्ष कैद सजाय तोकेको छ। अदालतबाट सजाय सुनाइएका दीपक अधिकारीकी पत्नी पम्फा धितालले भने आफूलाई श्रीमानले केही नगरेको भन्दै उनको बचाउमा बयान दिएकी छन्।
रौतहटका ४६ वर्षीय अधिकारी लामो समयदेखि अस्ट्रेलिया बस्दै आएका व्यापारी हुन्। एमवन मोटर वेमा उक्त दुर्घटना हुनेबित्तिकै दुवै हात श्रीमतीको गलामा लगेर थिचेको भन्दै न्यायाधीशले उनलाई सजाय सुनाएको अस्ट्रेलियाबाट प्रकाशित 'द टेलिग्राफ' ले जनाएको छ।
अष्ट्रेलियामा सडक दुर्घटनालगत्तै श्रीमतीको घाँटी थिचेको आरोपमा नेपालीलाई दुई वर्ष कैद
यस सम्बन्धमा हामीले मंगलबार उनकी पत्नी पम्फासँग सम्पर्क गर्यौं। उनले अदालतको आदेशमा भनिएअनुसार आफ्नो श्रीमानबाट त्यस्तो कुनै काम नभएको बताइन्।
दुर्घटनालगत्तै श्रीमानले आफ्नो घाँटी थिचेको भन्ने कुरा नै कपोलकल्पित रहेको उनको दाबी छ। अदालतको आदेशलाई चुनौती दिँदै उनले सेतोपाटीसँग भनिन्, 'यहाँ अस्ट्रेलियामा विटनेस (प्रत्यक्षदर्शी) को बयानकै आधारमा निर्णय हुँदो रहेछ। उनीहरुले झुक्किएर त्यस्तो बयान दिएका हुन सक्छन्। तर, जस्तो कुरा बाहिर आएको छ त्यस्तो भएकै होइन। दुर्घटनामा परे पनि मलाई केही भएकै छैन।'
आफूले मुद्दा पुनरावलोकनको प्रयास गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरिन्। मार्च २५ को कार दुर्घटना अत्यन्तै सामान्य भएको र केही परिबन्दले श्रीमानमाथि त्यस्तो आरोप लागेको उनको दाबी छ।
दीपकले भने दुर्घटनापछि गाडीमा चेपिएकी श्रीमतीलाई बचाउन आफूले तानेको बयान दिएका थिए। त्यही क्रममा प्रत्यक्षदर्शीले उनको हात श्रीमतीको घाँटीमा रहेको र अँठ्याउन खोजेको भन्दै बयान दिएपछि दीपकलाई जेल सजाय तोकिएको थियो।
पम्फा हाल पिजा रेस्टुरेन्ट व्यवसाय सम्हालिरहेकी छन् भने दीपक जेलमै छन्। उनीहरुका १२ वर्षका छोरा र १० वर्षकी छोरी छन्।