कोपा अमेरिका च्याम्पियन चिलीले कन्फिडरेशन कपमा विजयी सुरुवात गरेको छ। आइतबार राती क्यामरुनलाई २–० ले हराउने क्रममा चिलीले समूह बीमा उत्कृष्ट प्रदर्शन गर्यो।
यो समूहमा विश्व च्याम्पियन जर्मनी र अस्ट्रेलिया पनि सहभागी छन्। यी दुई देशको भिडन्त सोमबार हुँदैछ। मस्कोमा भएको खेलमा वायर्न म्युनिखका मिडफिल्डर अर्टुरो भिडाल र इडुआर्डो भेर्गासको गोलमा चिलीले सफलता निकाल्यो। भिडाललाई ८१ मिनेटमा गोलका लागि बेञ्चबाट मैदानमा आएका आर्सनलका फरवाड एलेक्सिस साञ्चेजले बल निकालेका थिए।
उनी ५८ मिनेटमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। साञ्चेज चिलीको सर्वाधिक गोलकर्ताको कीर्तिमान नजिक छन्। तर, उनले गएराती यो कीर्तिमानलाई आफ्नो नाममा लेखाउन सकेनन्। साञ्चेज र युभेन्ट्सका पूर्व स्ट्राइकर मार्सेलो सालासको अन्तर्राष्ट्रिय फुटबलमा बराबरी ३७ गोल छ। सालासले २००८ मा सन्यास लिएका थिए।
भेर्गासले ९० पछि थप गरिएको दोस्रो मिनेटमा गोल गरेका थिए।