गृहमन्त्री जनार्दन शर्माले कुनै डर र भय बिना ढुक्क भएर निर्वाचनमा भाग लिन सक्ने गरी सुरक्षा रणनीति बनाईएको बताएका छन्। स्थानीय तहको निर्वाचनको सन्दर्भमा लुम्बिनी अञ्चलका सुरक्षा निकायका प्रमुखसँगको सुरक्षा गोष्ठिपछि संचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री शर्माले जनताको मताधिकारको अधिकारलाई सुरक्षित हुने गरी सुरक्षाको व्यवस्था गरिएको बताएका हुन्।
गृहमन्त्री शर्माले उम्मेद्वारी दर्ताको दिन छिटपुट रूपमा सामान्य घटना घटे पनि अब त्यस प्रकारका घटना नदोहोरिने उनले दाबी गरे।
मनोनयन दर्ताको क्रममा बाजुरा र कपिलबस्तुमा भएका घटनाले आफूलाई दुखित तुल्याएको भन्दै अब त्यस्ता घटना नदोहोर्याउन समिक्षा गरेर सुरक्षा सतर्कता बढाईएको उनको भनाई थियो ।
मनोनयन दर्ताका क्रममा घटना घटाउने समूह बीच अनुसन्धान भइरहेको र घटना घटाउनेलाई नियन्त्रणमा लिइ कारबाही गरि छाड्ने उनले दावी गरे।
गृहमन्त्री शर्माले सुरक्षाको कारण प्रदेश नं. २ को निर्वाचन नसारिएको स्पष्ट पार्दै निर्वाचनमा सहभागी नभएका दलहरुलाई सहभागि गराउन निर्वाचन सारिएको बताए।
सुरक्षा गोष्ठीमा गृह सचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक प्रकाश अर्यालसँगै पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, रूपन्देही र अर्घाखाँची जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो।