पार्टी नेतृत्वले स्थानीय तहको निर्वाचन बहिष्कारको घोषणा गरेपनि राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले भने त्यसलाई उल्लंघन गर्दै स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिएका छन्। रुपन्देहीमा राजपाका कार्यकर्ताले केहि स्थानीय तहमा स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । पार्टी चुनावमा सहभागि नभएपछि राजपाका कार्यकर्ताले रुपन्देहीका तीन स्थानीय तहमा स्वतन्त्र उम्मेदवार दिएका हुन्।
राजपाको बाहुल्यता रहेको रुपन्देहीको दक्षिणी क्षेत्रमा विहान ८ बजेदेखि हुने भनिएको मनोनयन दर्ता १० बजेपछि मात्र भएको थियो । राजपाका अशोक कुमार शुक्ला र कमालुद्दिन शेखले जिल्लाको सम्मरीमाई गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै मर्चवारीमाई गाउँपालिकाको अध्यक्षमा राजकुमार सिंह र उपाध्यक्षमा जानकी प्रसाद चौधरी तथा कोटहीमाई गाउँपालिकाको अध्यक्षमा बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
यता राष्ट्रिय जनता पार्टीका नेताहरुले स्थानीय तहको निर्वाचन गरेर सरकारले नाटक मञ्चन गरेको आरोप लगाएका छन्। आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले मधेशको माग सम्बोधन नगरी निर्वाचन गराउनुको कुनै अर्थ नरहेको बताए।
अध्यक्ष ठाकुरले विगगतमा भएका सम्झौता कार्यान्वयन गरी निर्वाचन गराउनु पर्नेमा जवरजस्त निर्वाचन गर्दैमा समस्याको समाधान नहुने दावी गरे। उनले आफूहरुका सामू आत्मसमर्पण, आत्महत्या र संघर्ष गरी तीन विकल्प भएको बताउँदै आत्महत्या र आत्मसमर्पण गर्न नसक्ने तर संघर्ष जारी राख्ने बताए।
अर्का अध्यक्ष महतोले आफूहरुको विरोध हुँदाहुँदै पनि कार्यकर्तालाई गिरफ्तार गरेर सम्पन्न गर्न खोजिएको निर्वाचन लोकतान्त्रिक हुनै नसक्ने दाबी गरे।