उत्तरी रसुवाको चिलिमे क्षेत्रमा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य ५० प्रतिशत बढी काम पूरा भएको छ ।
साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाका प्रमुख सुदनसिंह महतका अनुसार १४ दशमलव ८ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजाको विद्युत् गृहमा एक हजार ३८७ मिटर सुरुङ खन्ने काम सकिएको, मुहान स्थल तिलोचेमा बाँध बाँध्ने काम ९५ प्रतिशत सकिएको र सिम्बु गाउँमा रहने विद्युत् गृहको निर्माण कार्य अगाडि बढिसकेकाले आयोजनाको समग्र कार्य ५५ प्रतिशत पूरा भएको हो ।
आगामी एक वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माणको काम छिटोछरितो भइरहेको काममा संलग्न आयोजनाका प्राविधिकले बताएका छन् ।
यस्तै एउटै पानीले रनर घुम्ने ४२ दशमलव तीन मेगावाटको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य पनि तीव्र रुपमा अगाडि बढिरहेको र हालसम्म दुई हजार २०० मिटर सुरुङ खन्ने काम पूरा भइसकेको आयोजनाका प्रशासकीय अधिकृत एवम् समन्वयकर्ता सुनिलप्रसाद रेग्मीले जानकारी दिए। प्राविधिकका अनुसार सुरुङको लम्बाइ चार हजार २०० मिटर रहेको छ ।
यसैगरी, उत्तरी रसुवाको सीमावर्ती क्षेत्र थुमनमा निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माण ४० प्रतिशतको हाराहारीमा पुगिसकेको सम्बद्ध प्राविधिकले जनाएका छन् । रासस