स्थानीय तहको दोस्रो चरण निर्वाचनका लागि आईतबार रुपन्देहीका १६ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भईरहेको छ। प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा १४ गते हुने निर्वाचनको लागि मनोनयन दर्ता भइरहेको हो।
निर्वाचन आयोगले सबै जिल्लामा उम्मेदवारी दर्ताको काम भईरहेको जनाएको छ। रुपन्देहीका १६ वटा स्थानीय तहमा पनि कतिपय राजनीतिक दलहरुले उम्मेद्वारी दर्ता गरिसकेका छन् भने केहीको बाँकि छ।
रुपन्देहीमा बुटवल उपमहानगरपालिका सँगै ५ वटा नगरपालिका र १० वटा गाउँपालिका छन् । जिल्ला सुरक्षा समितिले अतिसंवेदनशिल क्षेत्रको सूचिमा राखिएका रुपन्देहीका दक्षिणी क्षेत्रका ६ वटा स्थानीय तहमा सुरक्षा व्यवस्था समेत कडा बनाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बिहान ८ बजेदेखि आ-आफ्ना गाउँपालिका तथा नगरपालिकामा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका हुन् ।
निर्वाचनको विरोधमा उत्रिएको राजपा नेपालले स्वतन्त्रबाट रूपन्देहीको समरीमायां गाउँपालिकामा उम्मेदवारी दर्ता गराएको छ। राजपा निकटका अशोक शुक्लाले गाउँपालिका अध्यक्ष र कमाल उद्धिन शेखले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन्। शुक्ला र सेख राजपा नेता सर्वेन्द्रनाथ शुक्ला निकट कार्यकर्ता हुन्।
रूपन्देहीमा सबै दलहरुको चासोको रुपमा रहेको बुटवल उपमहानगरपालिका एमालेको तर्फबाट मेयरमा शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य गोमाले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले उपमहासचिव विष्णु पौडेल हज्जारौ कार्यकर्ताहरुको र्याली तथा बाजागाजासहित बुटवल उपमहानगरपालिका पुगेका उम्मेदवारद्धयले दिउँसो साढे ११ बजे मनोनयन दर्ता गराएका थिए।
त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट कांग्रेसका खेलराज पाण्डेले मेयरमा र माओवादी केन्द्रका जगत बहादुर पोखरेलले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस र माओवादीका हज्जारौं कार्यकर्ता सहित पुगेका पाण्डे र पोखरेलले मनोनयन दर्ता गराएका हुन् ।
यता बुटवल उपमहानगरपालिकामा साना पार्टिहरुको गठबन्धनबाट नयांशक्तिका होमबहादुर गलामीले मेयरमा र उपमेयरमा पार्टिका मन्जु खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै नेपाल मजदुर किसानपार्टीका हरिसुन्दर बासीले पनि बुटवलमा मेयरमा उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ।
सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराउने जनमुक्ति पार्टिले बुटवलमा मेयरमा जनक थापा र उपमेयरमा धनी आले मगरको मनोनयन दर्ता गराएको छ।
तिलोत्तमा नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा लक्ष्मण खनाल र उपमेयरमा राधिका पौडेलद्धारा उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै मेयर पदमा स्वतन्त्रबाट दिनेश अर्याल, नयांशक्तिबाट ज्ञानप्रसाद भुर्तेल र जनमोर्चाबाट रुक बहादुर पराजुलीको मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । अन्य दलहरुले उम्मेदवार दर्ता गराउने क्रम जारी रहेको छ ।
सिद्धार्थनगर नगरपालिकामा विभिन्न राजनितिक दलहरु संगै स्वतन्त्रबाट मेयरमा सुमन न्यौपाने र उपमेयरमा भवानी रिजाल बेल्बासेको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ।