यतिखेर अस्ट्रेलिया नेपाली चलचित्र र कलाकारहरुको दोस्रो घरका रुपमा चिरपरिचित बन्न पुगेको छ ।
पछिल्ला एक वर्षमा हरेक साता कम्तिमा दुई कार्यक्रम नभएको दिन हुँदैन सिड्नीमा। शनिबारको मात्र कुरा गरौ, हर्षभीलमा पुराना गायक कुमार बस्नेतले लोकलयमा लप्सीको गेडा चुसेर गाइरहँदा केही यता रकडेलमा कर्णदास जिन्दगीको के भरोसा भनेर आफ्नो भाका सुनाइरहेका थिए सोही दिन चलचित्रकी नायिका निता ढुंगाना नाचिरहेकी थिइन्।
त्यही दिन लिम्बु चलचित्रको पनि आकर्षणको केन्द्रबिन्दु बनेको थियो । सिड्नीबासी नेपालीका लागि कार्यक्रम र चलचित्र अनि मेला र महोत्सव नयाँ र नौलो मान्न छाडिसकेका छन्।
यो त सिड्नीको मात्र नजारा हो, अस्ट्रेलियामा छरिएर रहेका एक लाख नेपाली समुदायभित्र ब्रिसबेन, मेलवर्नमा पनि बाक्लो कार्यक्रमको सूची प्रसस्त रहेका छन्।
नेपाली कलाकार र चलचित्रका लागि उर्वरभूमीका रूपमा रहेको अस्ट्रेलियामा थाम्नै नसकिनेगरी आयोजना भैरहेका यस्ता कार्यक्रमका पछाडि अरु अरु के के उद्धेश्य छन् त। यहाँका प्रवासी नेपालीका लागि यी मनोरन्जनका मेला मात्र हुन कि आयोजकका लागि पैसा कमाउने खेला पनि हो। यहाँ यस्ता महोत्सव र मेलाका नाममा अरु कुनै धन्दा त भएका छैन शंका गर्ने ठाउँ निस्किएको छ। यस्ता प्रश्नहरु यतिखेर अस्ट्रेलियामा चर्को रुपमा उठने गरेका छन्।
कार्यक्रम आयोजना हुन्छन्, केहीले अग्रिम जानकारी दिन्छन् तर यसको उद्धेश्य र आयोजनाको पुष्टी गरेको भने पाइँदैन। तिज आउँदैछ अस्ट्रेलियामा। तिजमा मात्र भिन्न नाम र कलाकारको उपस्थितिमा करिब आधा दर्जन कार्यक्रम सिड्नीमा हुँदैछन्। भन्न खोजिएको कुरा के हो भने यी कार्यक्रम अनि महोत्सव र मेलाहरुले हाम्रो समुदायको हित र प्रर्वधनका लागि भनिन्छन्। गरे त राम्रो हो, तर कार्यक्रमपछि भने केही भएको र गरेको सुनिदैन।
तीज धमाका, तीज महोत्सव, तीज पार्टी, तीजको रमझम, तीज संगालो। यो त एउटा उदाहरण मात्रै हो। हप्तै पीच्छे हुने यस्ता कार्यक्रमले हाम्रो भाषा, संस्कृती र समुदायको हितमा काम गरेको छ भने ठिकै होला नत्र मेला गरेर अर्कैवाटो पैसा कमाउने खेला गरेको हो भने यो चाही ठीक भएन।
कुरो यतिखेर चलचित्र र कलाकारसँगै मेला र महोत्सवको पनि निकै महत्व हुन थालेको छ। खाना महोत्सव, नेपाल महोत्सव अनि चलचित्र महोत्सव। यी महोत्सव र मेलाको मुल उद्धेश्य सोध्यो भने मुलुक चिनाउने भन्ने कोरा जवाफ आउँछ। तर महोत्सव र मेला नेपाल चिनाउँने कामका लागि नभइ खल्ती भर्ने खेलाका रुपमा बिकसित हुन थाल्यो भने यो अर्को खतरनाक विषय बन्न सक्छ। यस्तो कामले मुलुक चिनाउने कुरो त छाडौ बदनाम गराउन चुरो पनि बन्न सक्छ।
मुलुकको माया र भाषा संस्कृतीको मोहले प्रवासीहरूको बाक्लो उपस्थिति रहने यस्ता कार्यक्रमहरुको पारदर्शिता भने देखिदैन।
समुदायका अगुवा डा. भरत पौडेले कार्यक्रमको गराइ र भनाइमा एक रूपता हुनुपर्ने कुरामा जोड दिन्छन्। एउटा विषयमा कार्यक्रम गर्ने र अर्को उद्धेश्य प्राप्ति गर्ने काम पक्कै पनि ठिक होइन। कुनै पनि सामाजिक सद्भावका लागि गरिएका कार्यक्रमहरु परदर्शी हुनु जरूरी छ तर यहाँ भएको देखिदैन। यो नेपालको पुरानो रोग हो ,डा.पौडेलले बताए।
नन फर प्रोफिट अर्गनाइजेसनका रूपमा फेयर ट्रेडिङमा दर्ता भएका संस्थाहरुको नाममा फ्री भिसा मगाएर आफ्नो ब्यापार गरिरहेको केही इभेन्ट कम्पनीहरुले यसलाई आम्दानीको बाटोसमेत बनाएका छन्। अस्ट्रेलियाको भिसा लगाइसकेपछि अमेरिका जान सहज हुँदा पनि कलाकारहरुको महत्वको विषय भित्र पर्छ, अस्ट्रेलिया।
भर्खरै भ्रमणमा आएका एक कलाकर्मीले खुलेरै भने, ‘यहाँबाट फर्केपछि अमेरिका ट्राइ गर्ने। लगभग पक्का हुन्छ।’
हाम्रो समाजले थाम्नै नसक्ने गरि आयोजना भएको यस्ता कार्यक्रमहरुमा सहभागिता पातलिदै गएको महशुश गर्छन्, आरकेएस अस्ट्रेलियाका निर्देशक रविन्द्र कुमार शर्मा। ‘पछिल्ला दिनमा केही राम्रा कार्यक्रममा पनि सहभागिता घटेको छ। काम र फुर्सदको समयमा मनोरञ्जन मन पराउने हाम्रो समाजले यतिधेरै कार्यक्रम पचाउन सकेको छैन,’शर्माले भने।
‘कलाकार, चलचित्र, महोत्सव र मेला मात्र होइन अब त ब्यक्तिका बर्थ डे र बिवाहमा पनि कलाकार आउन थालेका छन्, यो राम्रो सकेंत भने होइन’, रविन्द्रले सेतोपाटीसँग भने। पछिल्लो साता एउटा रेस्टुरेन्ट उदघाटनमा समेत कलाकार आएको दृष्टान्त रविन्द्रले दिए।
फेसबुकमा प्रचार गरिने यस्ता कार्यक्रमहरुमा पोष्टरमा देखिने कलाकार र पर्दा पछाडिका सल्लाहकार समेत रहने शंका पनि गरिन थालिएको छ।
पछिल्ला दिनमा कार्यक्रममा आएका केही नामधारी कलाकारहरु सिड्नीमा बरालिएको दृष्यले कतै यो मेला अस्ट्रेलिया भित्र्याएर पैसा कमाउने खेलाका रुपमा त बिकसित हुन थालेको छैन भन्ने प्रश्न उठन थालेको छ। यदि यसो हुन थालेको हो भने यस्ता मेला मुलुक बदनाम गराउने खेला पनि बन्न सक्छ। बेलैमा सचेत बनौं।