‘भद्रगोल’ हास्य टेलिशृंखलाका दुई अभिनेता कुमार कट्टेल र अर्जुन घिमिरे (जिग्री–पाँडे) को जोडीले जतिबेला सप्तरीका तीन दृष्टिविहिन परिवारलाई घर बनाइदिने घोषणा गरे, उनीहरूले गाली र ताली बराबर सुन्नुपर्यो।
धेरैले भने– धुर्मुस–सुन्तलीले जे गरे त्यही गर्नुपर्छ?
धुर्मुसका साख्य भाइ कुमार कट्टेल र हास्य टेलिशृंखला ‘सिस्नोपानी झ्याम्म’ देखि आत्मीय बनेका अर्जुन घिमिरेले यस्ता टिप्पणीका जवाफ दिन जरुरी ठानेनन्। अहिले उनीहरूसँग जवाफ तयार छ– उनीहरू तीनवटा घर ठड्याउन सफल भएका छन्।
‘हामीले कसैलाई जवाफ दिइरहन आवश्यक ठानेनौं,’ मंगलबार साँझ घर तयारी भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनपछि सेतोपाटीसँग कुरा गर्दै घिमिरेले भने, ‘जुन दिन घर ठड्याउन सकिन्छ, हामीले जवाफ दिनै पर्दैन भन्ने सोचले काम गर्यौं। यिनीहरू प्रचार मात्र बढी गर्छन्, काम गर्दैनन् भन्ने पर्न सक्छ भनेर फेसबुकमा घर बनाइरहँदाका फोटोहरू पनि त्यति राखेनौं।’
गत वर्ष बर्खा मासमा बाढी जाँदा प्युठानका बाढीपीडितका लागि राहत वितरण गरेसँगै सामाजिक क्रियाकलापमा यी दुईको सक्रियता सुरु भएको थियो। त्यतिबेलै उनीहरूले ‘जिग्री–पाँडे’ प्रतिष्ठान खोलेका थिए।
गत वर्ष पुस महिनाको एकदिन, जिग्रीले फेसबुकमा एउटा भिडियो देखे– जसमा सप्तरीको राजविराजदेखि २० किलोमिटर पर गम्हरियाका दृष्टिविहिन परिवार खान–लाउन नपाउने स्थिति चित्रण गरिएको थियो।
दुई भाइ र एक बहिनीको १७ जनाको परिवार एउटै घरमा बस्थ्यो। घरका मुली दुई दाजुभाइ नै दृष्टिविहिन थिए भने कमाएर पाल्नुपर्ने बहिनी आँखा त देख्थिन्, तर सानैमा जलेकी उनी शारीरिक रूपले अशक्त थिइन्। दुई भाइसहित घरका ६ जना त दृष्टिविहिन नै थिए। यस्तो अवस्था देखेपछि जिग्री–पाँडेले लत्ताकपडा र खाद्यान्न बोकेर सप्तरी जाने निर्णय लिए। आफ्नै खल्ती र केही पैसा साथीसँग खोजखाज गरी करिब ५० हजारको राहत बोकेर उनीहरू उक्त विपन्न परिवार भेट्न पुगे।
दुई महिनालाई पुग्ने खाद्यान्न, न्यानो कपडा, सरसफाई सामग्री बोकेर गएका उनीहरूको मन तब कुँडियो, जब घरभन्दा राम्रो त चर्पी नै थियो। केही संस्थाको पहलमा बनाइएका चर्पी पक्की थिए भने घरको स्थिति दयनीय। चर्पीमा सामान थन्क्याएर उनीहरू बारीको पाटोमै शौच गर्न आनन्द मान्थे।
‘शौचालय त थियो, तर सबै बारीको पाटातिर जान्थे,’ कट्टेलले सुरुआती अवस्था चित्रण गरे, ‘हामी ठन्डीको समयमा पुगेका थियौं। घरचाहिँ कस्तो थियो भने, पूर्वतिरबाट सिरेटो चल्दा पश्चिमबाट निस्कन्थ्यो। पूरै ज्यान ढाक्ने लुगा कसैको आङमा थिएन। १७ जना एकै ठाउँमा लहरै सुत्दा रहेछन्। बालबालिकाको कपालमा माटो जमेको थियो। लट्टैलट्टा। जुम्रैजुम्रा। यस्तो अवस्था देखेपछि हामीलाई लाग्यो, यहाँ लत्ताकपडा, खाद्यान्न मात्र दिएर केही हुनेवाला छैन। त्यो त केही समयका लागि मात्र हुन्थ्यो। हामीले तत्काल सल्लाह गर्यौं– दिगो राहत दिने घर बनाइदिन पाए कसो होला।’
घर बनाइदिने निर्णयमा जम्मा दुई जनाको सल्लाह थियो। त्यो पनि तुरुन्तैको सल्लाह। यताबाट जाँदा राहत बोकेर गएका उनीहरू घर बनाइदिने योजना बोकेर फर्किए। सुरुमा एउटा मात्र घर होला भन्ने सोचेका थिए, पछि त तीनवटा पो रहेछ। आर्थिक अभावका कारण तीन परिवार एकै ठाउँमा बस्दै आएका रहेछन्।
तै पनि, उनीहरूको आँट गलेन।
त्यो आँट उनीहरूले धुर्मुस–सुन्तलीबाट बटुलेका रहेछन्।
भुइँचालो गएपछिको समय हो। धुर्मुस–सुन्तली लगायतको टोली सुरुमा नुवाकोटका विभिन्न ठाउँमा टहरा, शौचालय बनाउँदै हिँडेको थियो। काभ्रेको पहरी बस्तीमा घर बनाउने सोच त निकै पछिको हो। उनीहरू राहत वितरण तथा टहरा निर्माणमै सक्रिय थिए। धुर्मुसको टोलीमा खटिनेमध्येका यी दुईले त्यतिबेलै सामाजिक काममा ‘असली मजा’ भेटे।
‘हामी भुइँचालो बेला जति ठाउँमा गयौं, त्यहाँ हाम्रो उपस्थितिले नै पीडितहरू खुसी हुन्थे,’ घिमिरेले भने, ‘त्यस्तो दुःख बेला पनि हामीलाई हेर्न भीड लाग्थ्यो। हामीले केही गर्नै पर्दैनथ्यो, नजिक बसिदिए मात्र पनि ठूलो राहत हुँदो रहेछ।’
चिनिएको व्यक्तिलाई ठूलो समूहले सजिलै पत्याउँछ। अझ आफ्नो गाउँठाउँ, आफ्नै पीडालाई पर्दामा देखाइदिने कलाकारलाई मानिसले अझ नजिकको ठान्छन्। नभेट्दै/नदेख्दै उनीहरू दर्शकको विश्वासपात्र बनिसकेका हुन्छन्। जिग्री–पाँडेलाई पनि यही विश्वास थियो। कलाकारले सामाजिक काम गर्दा त्यसको प्रभाव ठूलो पर्ने विश्वासले उनीहरूले उतिबेलै विभिन्न योजना बुन्न थालेका थिए।
उनीहरू पछि पनि धुर्मुस–सुन्तलीसँगै राहत वितरण, बस्ती निर्माणमा सक्रिय भए। दुवैले धुर्मुस–सुन्तलीको आत्मविश्वास, तनाव नजिकबाट देखे। जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि निरास नहुने धुर्मुसको काम गर्ने शैलीबाट प्रभावित भए।
सामाजिक काममा आनन्द लिइरहेका जिग्री–पाँडेको मनमा आगोको बीउ सल्कियो।
र, त्यही आगोले विस्तारै सल्किँदै अहिले भुंग्रोको रूप लिएको छ।
तीनवटा घर त्यही भुंग्रो हो!
नेपाली समाजमा एउटा भनाइ प्रचलित छ, आगोको बीउ र झगडाको निहुँ धेरै चाहिँदैन। आगोलाई जगाइराख्न दाउरा थपिराख्नुपर्छ, अगुल्टो ठोसिराख्नुपर्छ। उनीहरूले ठोसिराखे।
त्यो समय उनीहरूका लागि कतिसम्म सुखद भइदियो भने हास्य कलाकारितामा चर्चा दिनप्रतिदिन बढिरहेको थियो। देशका विभिन्न ठाउँबाट हास्य प्रस्तुतिका लागि निम्ता आइरेका थिए।
उनीहरू गाउँगाउँ पुग्न थाले। यसरी हास्य कलाकारिताको सिलसिलामा विभिन्न ठाउँ पुग्दा उनीहरूलाई गाउँठाउँको समस्या बुझ्ने अवसर मिल्यो। यात्रामा रहँदा उनीहरू विचार–मन्थन गर्थे।
‘हाम्रो कार्यक्रम हेर्न आउने दर्शकको अनुहारमा हाँसो त हुन्थ्यो,’ जिग्रीले भने, ‘त्यसको पछाडि पीडा लुकिरहेको पत्ता लगाउन हामीलाई गाह्रो थिएन। देशको राजनीतिले सिर्जना गरेको विकृत परिस्थितिका कारण भोग्नुपरेको दुःख भुलाउन उनीहरू हाम्रो कार्यक्रममा आएका हुन्थे। सबैभन्दा बढी वितृष्णा त युवाहरूमा पायौं। उनीहरू देशमा आशाका अनुहार खोजिरहेका थिए। उनीहरूलाई खुसी हुन ठूलो बहाना पनि चाहिन्थेन, एउटा मान्छेले राम्रो काम गरिदिए मात्र पुग्थ्यो। यही समय धुर्मुस–सुन्तली आइडल बने। तर, धुर्मुस–सुन्तलीलाई स्याबास मात्र भन्ने, काम गर्न अघि सर्ने जमात कमै देखियो।’
यस्तो अवस्था देखेपछि धुर्मुस–सुन्तलीको अभियानलाई नै सघाउन आफूहरू सामाजिक काममा अगाडि सरेको जिग्री–पाँडेको दाबी छ। यसमा कसैले धुर्मुस–सुन्तलीले गरेकै काम किन भनेर सोध्नु गलत प्रश्न रहेको उनी बताउँछन्। त्यही काम किन भन्दा पनि त्यसले समाजमा के प्रभाव पा¥यो भनेर चर्चा गर्नु आवश्यक रहेको उनीहरू दुवैको ठम्याइ छ।
‘धुर्मुस–सुन्तलीले देश बन्नुपर्छ भन्नुभयो,’ पाँडेले भने, ‘हामीले बन्नुपर्छ भनेर नारा लगाएका हौं। युवा अघि सर्नुपर्छ भन्दा हामी सर्यौं। धुर्मुस–सुन्तलीले काम गर्नु भनेको समग्र हास्य कलाकारिता क्षेत्रले काम गरेको ठहर्छ। अर्थात्, उहाँहरूको काम हाम्रो पनि हो। हाम्रो काम उहाँहरूको पनि हो।’
कलाकारिता आफैंमा ठूलो सामाजिक काम मानिन्छ। राम्रा कामको प्रशंसा र बेथितिविरुद्ध कलाकारिताले खबरदारी गर्ने गर्छ। त्यसैले कला आफैंमा राजनीति मानिन्छ। जिग्री–पाँडेको बुझाइमा देश अहिले यस्तो मोडमा छ, कलाकारिताले मात्र खराब कामको विरोध÷व्यंग्य गरेर पुग्ने समय होइन। निराश युवामा ऊर्जा जगाउन र आशा सञ्चार गर्न चिनिएका अनुहार ‘फिल्ड’ मै ओर्लिन जरुरी रहेको उनीहरू बताउँछन्।
‘हामी देशै परिवर्तन गर्छौं भनेर हिँडेका छैनौं,’ दुवैको भनाइ उस्तै छ, ‘कलाकारिता हाम्रो पेशा हो। हामी ठाउँठाउँमा गएर सामाजिक काममा अघि सरौं भन्दा कतिले आफैं गरे हुन्छ नि भन्थे। त्यसैले हामी आफैं अघि सर्नु जरुरी पनि थियो। त्यसले धेरैमा सकारात्मक ऊर्जा दिँदो रहेछ भन्ने उदाहरण धुर्मुस–सुन्तलीको कामबाटै देखिएको छ। हामी निराश युवा भने होइनौं। हामी यो देश हाम्रै पालामा बन्छ र हामीले नै बनाउनुपर्छ भन्ने सोच राख्ने युवा हौं। हामी यही सकारात्मक सोच प्रसार गर्न चाहन्छौं।’
घर बनाउँदाको समयमा आफूहरूको यस्तो सोच धेरैले रुचाएको उनीहरूले अनुभव गरेका छन्। ‘हामीले त्यति प्रचार गरेनौं, तर सहयोग जुट्यो,’ जिग्री भन्छन्, ‘सुरुमा केही नकारात्मक टिप्पणी सुनिए पनि हामीले अभियान सुरु गरेको छोटो समयमै करिब २५ लाख सहयोग जुट्नुलाई हाम्रो कलाकारिता जीवनको अहिलेसम्मकै ठूलो उपलब्धी ठानेका छौं।’
त्यसो त, घर पूर्ण रूपमा तयार भइसके पनि जिग्री–पाँडे यतिबेला तत्काल हस्तान्तरण गर्न नसक्ने अप्ठ्यारोमा छन्। सुरुमा ३० लाख सहयोगको माग गरेका उनीहरूले सोचेका रहेछन्, २५ लाखमा घर सकिन्छ। बाँकी पाँच लाख उनीहरूको खाना, शिक्षादिक्षाका लागि जम्मा गरिदिने योजना थियो। तर, बनाउँदा बनाउँदै ३० लाख खर्च भएको उनीहरूको दाबी छ। त्यसैले पाँच लाख तिर्न बाँकी रहेकाले उनीहरूले सहयोगको अपेक्षा राखेका छन्।
त्यति रकम पनि चाँडै नै जुट्ने विश्वास रहेकाले उनीहरू निराश भने छैनन्। बरु घर बनाउँदाको अनुभवले आफूहरूको जीवनमै ठूलो प्रभाव पार्ने सिकाइ ‘बोनस’ मा मिलेको भन्दै उनीहरूले खुसी व्यक्त गरे।
‘निश्चय पनि कुरा गर्नुभन्दा काम गर्न गाह्रो हुन्छ नै। तर, हामी खाली यही कुरा मात्र गरेर बसिरहेका छौं। गर्न कति गाह्रो हुन्छ भन्ने अनुभव गर्न त काम गर्नुपर्यो नि। काम गर्न गाह्रो हुन्छ नै, तर असम्भव छैन। सकारात्मक काम गर्नेको खुट्टा तानिन्छ भनिन्थ्यो। घर बनाउँदाको हाम्रो अनुभवले भन्छ, तपाईं ठोस योजनासहित काम गर्न अघि सर्नुस्, तपाईंलाई धकेल्ने हजारौं हुन्छन्,’ जिग्रीले भने।
यो अनुभव युवाहरूका लागि उनीहरूले दिएको सल्लाह पनि हो। उनीहरूको सल्लाह यति मात्र छैन। भन्छन्, ‘महिनाको एक सय रुपैयाँ र एक दिन आफ्नो गाउँ–ठाउँलाई दिनुस्, तपाईंले सोचेजस्तो देश बन्न धेरै समय लाग्दैन।’
उनीहरूको खुसी यतिमा मात्र छैन। जिग्री–पाँडे पुगेपछि अहिले गम्हरियाकै मुहार फेरिएको छ। त्यतिबेला गम्हरियाका दुई सय घरमा बिजुली बत्ती पुगेकै रहेनछ। उनीहरूले पूर्व ऊर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेरै पहल गरिदिएछन्। त्यसपछि अहिले त्यो गाउँ झलमल्ल भएको छ। शौचालयमा दिसा–पिसाब गरे मात्र बिजुली बत्ती जोडिदिने सर्त तेस्र्याएपछि बारीमा जाने चलन पनि घटेको उनीहरू बताउँछन्।
उनीहरूले घर बनाइदिएको परिवारका सबै केटाकेटी विद्यालय जान थालेका छन्। चार बालबालिकालाई ‘हेल्प नेपाल नेटवर्क’ ले आफ्नो शिविरमा राखेर पढाउन थालेको छ। अहिलेको यो खुसी त छँदैछ, त्यो घरको फेरिँदो भविष्यको कल्पनाले नै उनीहरूलाई पुलकित तुल्याउँछ।
‘हामी ती बालबालिकाको भविष्य सोचेर उत्साहित छौं,’ एउटै कुरामा आलो–पालो बोल्ने जिग्री–पाँडे भन्छन्, ‘आशा छ– ती बालबालिका भोलि सुन्दर देश बनाउने बनेर निस्किन्छन्। उनीहरूले भोलि सोच्लान्– हाम्रो घर जिग्री–पाँडेले बनाइदिएका हुन्।’