महोत्तरी र अर्घाखाँचीमा भएको महिलामाथि भएको बलात्कार बिरूद्ध कास्की सौन्दर्यकर्मी महिलाहरू सडकमा उत्रिएका छन् । महोत्तरीको औरी गाँउपालिकाकी एक युवतीको बलात्कार र अर्घाखाँचीमा सामुहिक बलात्कार पछि महिलाको ज्यान गएको विरूद्धमा सडकमा उत्रिएर विरोध प्रर्दशन गरेका हुन्। सामुहिक बलात्कारका दोषीहरूलाई कडा कारबाहीको माग गर्दै सौन्दर्य कला ब्यवसायी संघ, कास्कीले पोखरामा विरोध प्रर्दशन गरेको छ।
पोखरा सभागृह चोकबाट सुरू भएको विरोध प्रर्दशन पोखरा मानव अधिकार चोकमा पुगेर सभामा परिणत भएको थियो। सौन्दर्य पेशामा आवद्ध २१ वर्षीय युवती जेष्ठ २८ गते साँझ ७ बजे ब्यवसाय सञ्चालन पश्चात घर फर्कने क्रममा तीन जना युवाहरूबाट बलात्कारमा परेकी थिइन् भने बुधवार साँझ साढे ७ बजे गुल्मी खर्ज्याङबाट कपडा सिलाएर घर तर्फ फर्किने क्रममा बलात्कारको सिकार भएकी अर्घाखाँची छत्रदेवी गाउँपालिका १ की २१ वर्षिय महिलाको मृत्यु भएको थियो।
विभिन्न नाराका प्लेकार्ड सहित सडकमा उत्रिएको सौन्दर्यकर्मीहरुले बलात्कारीलाई फासीको सजाए दिन माग गरेका थिए ।
कोष सभालाई सम्बोधन गर्दै सौन्दर्य कला ब्यवसायी संघका सल्लाहकार चिनु गुरूङ्गले सन्दर्यकर्मी सुरक्षित रुपमा आफ्नो पेशा व्यवसायमा लागेर काम गर्न पाउनु पर्ने, निर्धक्क साथ हिड्न पाउने अधिकारको ग्यारेन्टी गर्न र जघन्य अपराधमा संलग्नको छिटो पहिचान गरी कडा भन्दा कडा कारबाहीको माग गरिन् ।
त्यसै गरि सौन्दर्यकर्मी युनियनका संस्थापक अध्यक्ष मिना गुरूङले कुनै पनि राजनीतिक दबाबमा दोषिले उन्मुक्ति पाउने अवस्थामा आउने नहुने बताइन्। उनले घटनाबाट विक्षिप्त हुन पुगेकी युवतीको स्वास्थ्य परीक्षण र उपचारका लागि उचित क्षतिपूर्तिको व्यवस्थाको लागि सरकारसँग समेत माग गरिन्।
सौन्दर्य कला ब्यवसायी संघका अध्यक्ष सोमन गुरुङ, पोखरा उद्योग बाणिज्य संघ महिला उद्यम विकास उपसमिति संयोजक सिता बराल लगायतले अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे ।