नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले चुनाव हुन नदिएर फेरि देशलाई शून्यतामा धकेल्न खोजेको हो भनेर प्रश्न गरेकी छन्।
मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले चुनाव हुन नदिने भनेर बताउँदै हिँडेका जेनजी प्रतिनिधिहरूलाई आफूहरूले लोकतान्त्रिक निकास चाहेको बताएकी छिन्।
'आखिर चुनाव हुन नदिएर कुन शून्यतामा मुलुकलाई पुर्याउन खोजिरहेका छन् उनीहरू? 'नाइँ मलाई त्यही सत्ता चाहिन्छ' भन्ने ओलीहरू र 'हामी चुनाव दिन्नौं' भन्ने जेनजी साथीहरू तपाईंहरूलाई स्पष्ट होस्, हामी त लोकतन्त्र चाहन्छौं। लोकतान्त्रिक निकास चाहन्छौं। र देशलाई नयाँ जनादेशका साथ हाम्रो आवाज बोल्नेहरूलाई संसदमा जनताको आवाज प्रतिनिधित्व गरिरहेको हेर्न चाहन्छौं,' उनले लेखेकी छिन्।
रक्षाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै रहेको बताएकी छन्।
उनले नेकपा एमालेले लिइरहेको दोहोरो कदमबारे पनि प्रश्न उठाएकी छिन्। यद्यपि चुनावमा सहभागी हुने कदमपछि लोकतान्त्रिक यात्रामा स्वागत समेत गरेकी छिन्।
'एकातिर नाइँ मलाई त्यही सत्ता चाहिन्छ' वाला रून्चे आक्रोश छँदैछ। अर्कोतिर एमालेले अर्को भाग पाइहालिन्छ कि भनेर दल दर्ता गराएको छ। यो कुराको लागि लोकतान्त्रिक बाटो अवलम्बन गरेकामा भने एमालेलाई शंकाको सुविधा सहित लोकतान्त्रिक यात्रामा स्वागत भन्नैपर्छ,' उनले भनेकी छिन्।