एक महिनाअघिसम्म मुद्दती निक्षेपमा उच्च व्याजदर दिएर ग्राहकलाई लोभ्याएका बैंकहरुले अहिले तिनै ग्राहकको व्याजदर घटाइदिन थालेका छन्। ति बैंकहरुले दैनिकजसो पत्रपत्रिकामा नयाँ व्याजदर कायम भएको सूचना जारी गरेका छन्।
लगानीयोग्य रकम (तरलता) बढ्न नसके पनि बैंकहरुले मुद्दतीमा दिन थालेको व्याजदर भने एकाएक घटाएका हुन्। एक महिनाअघिसम्म १२ प्रतिशत व्याजदर दिनेगरी मुद्दती निक्षेप तानेका बैंकहरुले त्यही योजनाको निक्षेपलाई अहिले ११ प्रतिशतमा झारेका छन्।
असार महिनामा नयाँ कर्जा प्रवाह नहुने र त्यसपछि तरलतामा थप सुधार आउने अपेक्षाले बैंकहरुले व्याजदर घटाएका हुन्। केही महिनाअघिसम्म हिमालयन बैंकले न्यूनतम मौज्दात २ लाख रुपैयाँको ‘स्पेसल फिक्स्ड डिपोजिट’मा १२ प्रतिशत व्याजदर दिने गरेकोमा असार १ गतेदेखि लागू हुनेगरी ११ प्रतिशतमा झारेको छ।
ग्लोबल आइएमई बैंकले न्यूनतम मौज्दात १ लाख रुपैयाँमै ३ महिने अवधिको १२ प्रतिशत व्याजदर दिने गरेकोमा अहिले घटाएर ११ प्रतिशतमा झारेको छ। त्यस्तै एनसीसी बैंकले न्यूनतम १ लाख रुपैयाँको १२० दिने मुद्दतीमा १२ प्रतिशत व्याजदर दिने गरेकोमा असार १ देखि ११ प्रतिशतमा झारेको छ।
मेगा बैंकले पनि न्यूनतम १० लाख मौज्दातको ४ महिने अवधिमा १२ प्रतिशत व्याजदर दिने गरेकोमा अहिले ११ प्रतिशतमा झारेको छ। यीबाहेक अन्य बैंकहरुले पनि मुद्दतिमा ग्राहकबाट लिन थालेको रकमको व्याजदर घटाउन थालेका छन्। बैंकमा नगद मौज्दात बढ्ने संकेत देखिएसँगै बैंकहरुले धमाधम व्याजदर घटाउन थालेका हुन्।
नेपाल राष्ट्र बैंकले अब बजारमा तरलता केही बढ्न सक्ने जनाएको छ। राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले असार महिनामा बैंकहरुले नयाँ कर्जा प्रवाह नगर्ने भएकाले त्यसपछिका दिनहरुमा तरलता बढ्ने जानकारी दिए।
एक साताअघिसम्मको तथ्याङ्कअनुसार बैंकहरुमा ५७ अर्ब रुपैयाँ तरलता रहेको पण्डितले बताए। चालु आवको १० महिनासम्म बैंकहरुले ६२ अर्ब ३९ करोड तरलता सदुपयोग गरिरहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाए पनि अहिले केही झरेको हो।
‘असार महिना क्लोजिङ डेट भएकाले बैंकहरुले थप कर्जा प्रवाह गर्दैनन्, त्यसपछिका दिनमा तरलता सुधार हुन सक्ने संकेतकै कारण बैंकहरुले व्याजदर घटाएको हुन सक्छ’ उनले भने।
चुनाव खर्च र विकास खर्च परिचालन भएसँगै अब तरलता केही बढ्न सक्ने पण्डितको भनाइ छ। ग्लोबल आइएमई बैंकका मिडिया कोर्डिनेर प्रशन्न बास्कोटाले आफूहरुको ब्याजदर तुलनात्मक रुपमा बढी नै भएकाले मुद्दतीमा सामान्य घटाइएको उल्लेख गरे।
‘केही मात्रामा निक्षेप रकम पनि पछिल्ला दिनमा बढेको छ भने आगामी दिनमा अझै बढ्न सक्ने देखिन्छ’ बास्कोटाले भने। चुनावी खर्च र विकास खर्च परिचालन बढेसँगै बैंकहरुमा निक्षेपको मात्रा केही बढेको बैंकर्स बताउँछन्। यद्यपी लगानीका लागि पर्याप्त पुँजी भने सिर्जना हुन नसकेको उनीहरुको भनाई छ।
आर्थिक वर्ष सकिँदा बजारमा नगद प्रवाह बढ्ने र लगानीयोग्य पुँजी पनि थपिनेमा बैंकहरु विश्स्त देखिन्छन्। जसका कारण उनीहरुले आर्थिक वर्ष सुरु हुनुभन्दा १ महिनाअघि देखि नै लागू हुनेगरी मुद्दतीमा व्याजदर घटाएका छन्।