पूर्वाधार काठमाडौंको बौद्धदेखि कालीमाटीसम्म केबलकार बनाउन फ्रेन्च राजदूतले काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई सुझाव दिएका छन्। काठमाडौंका मेयर शाक्यलाई बिहीबार नेपालस्तथित फ्रान्सेली राजदुत एभ्स क्यारमोआले भेटेका थिए।
यही भेटमा दुतावासले काठमाडौंमा केबलकार सञ्चालन गर्न भएको प्रारम्भिक अध्ययन प्रतिवेदन प्रस्तुति गरेको थिए। महानगरपालिकाका सहयाक प्रवक्ता नमराज ढकालका अनुसार फ्रान्सेली दुतावासका तर्फबाट कन्सल्ट्यान्ट श्याम श्रेष्ठले मेयर शाक्यसमक्ष केवलकारको सम्भाव्यताबारे प्रस्तुति गरेका थिए।
फ्रान्स सरकारको आर्थिक लगानीमा यसअघि नै यो परियोजनाको प्रारम्भिक अध्ययन भएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा यो अध्ययन भएको र अब दुतावासले महानगरसँगको समन्वयमा अघि बढाउन चाहेको ढकालले बताए।
'अहिलेसम्म भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग उहाँहरूले काम गरिरहनु भएको थियो,' उनले भने,'मेयरको निर्वाचन भइसकेपछि भने उहाँहरूले महानगरसँग काम गर्न चासो देखाउनु भएको छ।'
कन्सल्ट्यान्ट श्रेष्ठले प्रस्तुतिमा निर्माण सुरू भएको दुई वर्ष भित्रमा नै केवलकार बनाइसक्ने बताएका थिए। साथै उनले काठमाडौंका लागि सुहाउँदो सहरी यातायातको विकल्प हुने पनि मेयर शाक्यलाई सुझाएका थिए।
केवलकार निर्माणका लागि विश्व बैंक, एसियाली विकास बैंक वा एशियाली पूर्वाधार विकास बैंक मध्ये कुनै बैंकले लगानी गर्न सक्ने श्रेष्ठले बताएका थिए। अथवा जनताको लगानी पनि थपेर 'पब्लिक-प्राइभेट पार्टनरसिप'मा पनि निर्माण गर्न सकिने उनको सुझाव थियो। योजना सम्पन्न गर्न करिब १२ अर्ब रूपैंया लाग्ने दूतावासको आंकलन छ।
राजदुत क्यारमोआले काठमाडौंका लागि मेट्रो वा मोनो रेलभन्दा केवलकार उपयुक्त विकल्प हुनसक्ने भन्दै फ्रान्सले यसमा काम गर्न चाहेको बताए। भेटमा सहरी यातायात सुधार, हरियली बृद्धी र सहरी सरसफाइबारे छलफल भएको सहायक प्रवक्ता ढकालले बताए।