गजामा झन्डै २ वर्षदेखि जारी युद्ध अन्त्य हुने भएको छ।
इजिप्टको शार्म एल शेखमा सोमबारदेखि इसराइल र हमासबीच भएको अप्रत्यक्ष वार्ता बिहीबार बिहान निष्कर्षमा पुगेपछि गजामा जारी युद्ध अन्त्य हुने मोडमा पुगेको हो।
यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख भूमिका खेलेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गत सेप्टेम्बरमा ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई ह्वाइट हाउसमै बोलाएर गजामा युद्धविराम गर्ने विषयमा छलफल गरेका थिए।
ह्वाइट हाउसकै छलफल क्रममा ट्रम्पले नेतन्याहूलाई युद्धविरामको २० बुँदै खाका दिएर त्यसमा सहमत हुन भनेका थिए। निर्देशन मानेर नेतन्याहूले ट्रम्पको प्रस्तावअनुसार हमाससँग युद्धविरामका लागि इसराइल तयार रहेको सार्वजनिक गरेका थिए।
ट्रम्पले प्रस्ताव गरेको २० बुँदामा हमासले ७२ घन्टाभित्र सबै बन्धक रिहा गर्नेदेखि इसराइलले २५० आजीवन कैदी र १७०० गाजावासी बन्दीलाई मुक्त गर्ने प्रस्ताव छ।
त्यस्तै गजालाई आतंकमुक्त बनाउने, हमासलाई निःशस्त्रीकरण गराइने र उनीहरूलाई गजा सरकारमा भूमिकाविहीन बनाइने भनिएको छ। त्यस्तै हमासलाई आममाफी दिने विषय पनि ट्रम्पको प्रस्तावमा उल्लेख छ।
बन्धकहरूलाई मुक्त गर्ने लगायतका विषयमा हमासले सहमति जनाए पनि निःशस्त्रीकरण र गजा सरकारमा भूमिका नहुने भन्ने सर्त हमासले नमान्ने बताएको छ।
युद्धविराम सम्झौता उक्त सर्तलाई हटाएर गरियो कि परिमार्जन गरियो भन्ने खुल्न बाँकी छ। यद्यपि शनिबार वा आइतबारदेखि बन्धकहरु छुट्ने आकलन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन्।
चार दिनसम्मको छलफल गरी युद्धविराम सम्झौताका लागि क-कसले भूमिका खेले भनेर चासो छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इसराइलबाट गुप्तचर संस्था मोसाद र शिन बेटका अधिकारीहरू वार्तामा सहभागी थिए। साथै प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको परराष्ट्र नीति सल्लाहकार ओफिर फल्क र बन्धकबारे समन्वय गर्ने गाल हिर्श वार्तामा सहभागी थिए।
प्रधानमन्त्री नेतन्याहूका निकट सहयोगी तथा रणनीतिक मामिलामन्त्री रोन डर्मर पनि बुधबार तेस्रो दिनको वार्तामा सहभागी भएका थिए।
प्यालेस्टिनी पक्षबाट हमासको निर्वासित गजा प्रमुख खलिल अल हैयाको एक टोली वार्तामा सहभागी रहेको रोयटर्सले जनाएको छ।
यससँगै गाजास्थित इस्लामिक जिहाद समूहले पनि सहभागिता जनाएको थियो। यो समूह आकारमा हमासभन्दा सानो भए पनि अझ कट्टर मानिन्छ र यसको कब्जामा पनि इसराइली बन्धकहरू रहेको बताइन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नर वार्तामा संलग्न थिए। सहमति जुटाउन ट्रम्पले बुधबार मात्रे विटकोफ र कुश्नरलाई इजिप्ट पठाएका थिए। कुश्नरले ट्रम्पको पहिलो कार्यकालमा मध्यपूर्व दूतका रूपमा पनि काम गरेका थिए।
कतारका प्रधानमन्त्री सेख मोहम्मद बिन अब्दुररहमान अल–थानीले लामो समयदेखि वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका छन्। कतारकै टोलीले हमासको जवाफ इसराइली पक्षसम्म पुर्याउने जिम्मा लिएको थियो।
कतारले यसअघि भएका युद्धविराममा पनि प्रमुख भूमिका निर्वाह गरेको थियो।
टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिन पनि यस पटकको वार्तामा सक्रिय बने। नेटो सदस्य देश टर्कीको पनि हमाससँग निकटको सम्बन्ध रहेको रोयटर्सले जनाएको छ । यद्यपि इसराइलले यसअघि टर्कीलाई औपचारिक मध्यस्थको रूपमा स्वीकार गरेको थिएन। यो सहभागिताले टर्कीको भूमिका क्षेत्रीय राजनीति र कूटनीतिमा बढ्दै गएको संकेत गर्छ।
इजिप्टले पनि सुरूवातदेखि नै मध्यस्थता गर्दै आएको छ। उसले मानवीय सहायता सुनिश्चित गर्ने, बन्धक मुक्तिका लागि सन्देश र प्रस्तावहरू आदानप्रदान गराउने गर्दै आइरहेको छ।