स्थानीय तह निर्वाचन मुखैमा आईरहेको बेला स्थानीय प्रशासनले रुपन्देहीका ६ वटा स्थानीय तहलाई अति संवेदनशिल क्षेत्रको सूचिमा राखेको छ। मधेशी दलहरुको प्रभाव क्षेत्र मानिने रूपन्देहीका दक्षिणी क्षेत्रका स्थानीय तहलाई अति संवेदनशिल क्षेत्रमा राखेको हो।
जसअनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई, मर्चवारी, मायाँदेवी, रोहिणी र समरीमाई गाउँपालिका अति संवेदनशिल क्षेत्रको सूचिमा रहेका छन् ।
१ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेको रुपन्देहीमा अतिसंवेदनशिलको सूचिमा राखिएका गाउँपालिका सबै दक्षिण क्षेत्रका हुन्।
जिल्ला सुरक्षा समितिले सैनामैना, देवदह, सिद्धार्थनगर नगरपालिका तथा सियारी, ओमसतिया, कञ्चन र गैंडहवा गाउँपालिकालाई संवेदनशिल क्षेत्रको सूचिमा राखेको जनाएको छ।
त्यसैगरी बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका र सुद्धोधन गाउँपालिकालाई भने सामान्यको सूचीमा राखेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवत्ता प्रहरी नायव उपरीक्षक बेल बहादुर पाण्डेले सुरक्षा समितिले राखेको संवेदनशिलताको आधारमा सुरक्षा व्यवस्था मिलाईने बताए।
यही असार १४ गते हुन गईरहेको स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी रूपन्देहीमा २ हजार म्यादी प्रहरी भर्ना गरिएको छ।
जिल्लाका सबै स्थानीय तहमा निर्वाचन कार्यालय संचालन भएसंगै २४ सै घण्टा प्रहरी परिचालन गरिएको र शुक्रबार उम्मेद्वार मनोनयन संगै मतदान केन्द्रमा सुरक्षाको प्रबन्ध मिलाईने प्रहरी प्रवक्ता पाण्डेले जानकारी दिए।