गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले राजनीतिक पार्टीका नेता नधाउन प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले प्रहरी संगठनका उच्च अधिकृतहरु सरुवा बढुुवाका लागि राजनीतिक पार्टीमा नेतासमक्ष दौडने परम्परा रहेकाले आफूले त्यो अन्त्य गर्ने दाबी गरे।
नेतासमक्ष धाउने प्रहरीलाई कारबाही गर्ने उनले चेतावनी दिए। नेपाली प्रहरी, सशस्त्र प्रहरी वल र राष्ट्रिय अनुसन्धान विभागको निरीक्षणका क्रममा पनि आफूले यस्तो निर्देशन दिएको उनले बताए।
मन्त्री शर्माले प्रहरी अधिकृतहरुमाथि कडा निगरानी राखिएको समेत बताए। 'टेष्ट गरौँन त भनेर मैले प्रहरी अधिकारीहरुलाई नेताहरुसमक्ष नधाउन भने,' भन्दा भन्दा पनि केहीले फोन गरेका छन्। मैले फोन नर्गनुस भन्दा किन फोन गर्नुभएको भनेको छु ।' 'अब फोन गरे कारबाही गर्छु', मन्त्री शर्माले भने।
प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप नगर्ने उनले बताए। 'म प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप गर्दिन,' मन्त्री शर्माले 'भने राजनीतिक नेतृत्व गर्छु।'
'अहिलेसम्म सही ढंगले काम गर्दै आएको छु', उनले भने 'म गृहमा पनि सही ढंगले काम गर्छु, सहि नियतले काम गर्छु, भोलि मुल्यांकन गर्ने जिम्मा तपाईँहरुको हो। '
प्रहरी सरुवा बढुवा विधि सम्वत हुने उनले बताए। सरुवा बढुवालाई पारदर्शी बनाइने भन्दै त्यसलाई सिष्टममा लैजाने उनले बताए।
सिपाहीको मनोवल बृद्धि नगरीकन शान्ति सुरक्षा राम्रोसँग गर्न नसकिने भन्दै उनले सिपाहीको मनोवल नगिर्ने गरी योजना बनाउने उनले बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई स्पष्ट कार्यक्षेत्र टुंग्याउनु पर्ने मन्त्री शर्माले बताए।
संघीय प्रहरीका बारेमा कार्यदलले प्रतिवेदन तयार पारेर बुझाइसकेको उनले सुनाए। प्रहरी संगठनमा देखिएका समस्या समाधान गर्न योजना बनाएर अधि बढ्ने उनले बताए। राष्ट्रिय अनुसन्धान विभागको काम कारबाही प्रति मन्त्री शर्माले असन्तुष्ट जनाए।
'तपाईँहरुको रिर्पोट भन्दा पत्रपत्रिका पढे धेरै आउँछ भनेर मैले अनुसन्धान विभागलाई भनेको छु,' मन्त्री शर्माले भने 'अनुसन्धान विभागको पनि पुर्नसंरचनाको खाँचो छ।'