स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ।
तिलोत्तमा नगरपालिकामा यसअघि नै तालमेल गरी उम्मेदवार घोषणा गरेको भएपनि बुटवल र देवदहमा भने मंगलबार मात्रै तालमेलको घोषणा भएको हो। जसअनुसार बुटवल उपमहानगरपालिकामा मेयरमा नेपाली काँग्रेसका खेलराज पाण्डे र उपमेयरमा माओवादी केन्द्रका जगतबहादुर पोखरेललाई उम्मेदवार बनाइएको छ।
त्यस्तै देवदह नगरपालिकामा पनि मेयरमा नेपाली काँग्रेसका हिराबहादुर खत्री र उपमेयरमा नेकपा माओवादी केन्द्रका टीका न्यौपाने गौतम उम्मेदवार बनाउने सहमति भएको छ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक र नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हकिकुल्ला खाँद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा तालमेल गरिएको दुबै स्थानका उम्मेदवारहरुलाई विजयी गराउन दुबै पार्टीका नेता तथा कार्यकर्ता, समर्थक, सुभेच्छुक तथा मतदातामा अपिल गरिएको छ। १९ वडा रहेको बुटवल उपमहानगरपालिकामा ६६ हजार ८ सय ४३ मतदाता रहेको छन्।
पहिलो चरणको निर्वाचनमा कांग्रेस र माअोवादीले पोखरा र भरतपुर महानगरमा तालमेल गरेका थिए।
काँग्रेसले बुटवल उपमहानगरपालिकामा जनमुक्ति पार्टीसँग केही वडाहरूमा तालमेल गरिसकेको छ भने उपमेयरको लागि माओवादी केन्द्रसँग तालमेलको ढोका खुला राख्दै पद खाली राखेको थियो ।
पार्टीले उपमेयरमा महिलालाई नदिई तालमेलको नाममा माओवादी केन्द्रलाई दिएको भन्दै कांग्रेसका महिला कार्यकर्ता असन्तुष्ट बनेको छन्। संविधानमै स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा एकजना महिला अनिवार्य गरिएकोमा तालमेलको नाममा महिलालाई पछाडि पारिएको कांग्रेसकी एक सदस्यले बताइन्।