मंगलबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले बढे पनि कारोबार भने बढ्न सकेन। ४ दशमलव ६ अंकले नेप्से बढेर १५ सय ८५ अंकमा कायम भएको छ। यस दिन १४३ कम्पनीको ४९ करोड २ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। यसअघि सोमबार ४९ करोड ८८ लाखको सेयर किनबेच भएको थियो।
यस दिन उत्पादनबाहेक सबै समूह बढेका छन्। उत्पादन समूह ७ अंकले घटेको छ। बिमा १४, बैंकिङ ३, होटल १७, विकास बैंक २, जलविद्युत १३, फाइनान्स १ र अन्य समूह ८ अंकले बढेका छन्।
कारोबार रकमका आधारमा यस दिन एभरेष्ट बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ४ करोड ६८ लाखको कारोबार भयो। कम्पनीले हकप्रदको भागिदार बन्नका लागि बुक क्लोजको मिति तोकेकाले सेयर कारोबार उच्च भएको हो। ३ बराबर १ को अनुपातमा हकप्रद लिनका लागि कम्पनीको असार ६ गतेभित्र सेयर किनिसक्नुपर्दछ।
त्यस्तै स्टाण्डर्ड चार्टड बैंकको ३ करोड ९६ लाखको सेयर किनबेच भयो। नेपाल इन्भेष्टमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि कारोबारका आधारमा अगाडि देखिए।
वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको मूल्य ९ प्रतिशतले बढ्यो।
दोस्रोमा रहेको तारागाउँ रिजेन्सीको मूल्य ६ प्रतिशतले बढ्यो। हिमालयन डिष्टिलरीका लगानीकर्ताले सबैभन्दा बढी ७. ८ प्रतिशतले मूल्य गुमाए।