नेपाल र यमनबीच एएफसी एसियन कप छनोटको समूह ‘एफ’ चरणको खेल मंगलबार सशस्त्र प्रहरीको हलचौकस्थित फुटबल मैदानमा हुँदैछ।
गृहयुद्धले थलिएको यमनविरुद्ध मैदानमा उत्रिँदा नेपालले थुप्रै कुराको हेक्का राख्नु पर्नेछ। युद्धको स्थितिमा पनि यमनले मध्य पूर्व, विशेषत सन् २०२२ को विश्व कप आयोजनाको तयारीमा रहेको कतारमा दह्रो अभ्यास गरेको छ।
नेपालको समूहमा रहेको यमनले ३ महिनाअघि ताजकिस्तानलाई २–० ले पराजित गरेको थियो। त्यसैले यमनी टोलीको मनोवल उच्च देखिन्छ।
यही समूहको पहिलो खेल नेपालले फिलिपिन्ससँग ४–१ ले गुमाइसकेको छ।
समूह ‘एफ’ मा नेपाललाई हराएको फिलिपिन्सपछि यमन दोस्रो स्थानमा छ। नेपाल सबैभन्दा अन्तिम चौथो स्थानमा रहेको छ। यस्तो अवस्थामा मंगलबारको खेल छनोट चरणमा टिकिरहन नेपालका लागि निकै महत्वपूर्ण मानिन्छ।
घरेलु मैदान र घरेलु समर्थकको साथ पाउने कारण नेपाली टोली केही उत्साही देखिन्छ। तर, शारीरिक र प्राविधिकरुपमा नेपालभन्दा केही उच्च मानिएको यमनलाई आफूहरुले कमजोर आँक्ने दुस्हास नगरेको सहायक प्रशिक्षक राजुकाजी शाक्य बताउँछन्।
‘उनीहरु छिटो पास खेल्छन। पोजिसन बनाउन पनि माहिर छन। शारीरिक रुपमा पनि राम्रै देखिएका छन। त्यसैले हामीले कमजोर आँकेका छैनौ,’ उनले सेतोपाटीसँग भने।
नेपाल र यमनबीच यसअघि दुई पल्ट भिडन्त भएको छ। दुवै पल्ट नेपाल पराजित भएको थियो।
सन् २००० मा पहिलो पल्ट कुवेतमा भएको एसियन कपको छनोट चरणमा नेपालको भिडन्त यमनसँग भएको थियो। हरि खड्का, निराजन रायमाझी, बसन्त थापा र नरेश जोशी जस्ता स्टार स्ट्राइकरको अगाडि यमनले ३–० ले नेपाललाई पराजित गरेको थियो। यही छनोट चरणमा कुवेतविरुद्ध पराजित भए पनि नेपाली स्ट्राइकर बसन्त थापाले ‘म्यान अफ दि म्याच’ अवार्ड जितेका थिए।
यस बाहेक नेपालले २०१४ मा कतारको दोहामा मैत्रीपूर्ण खेल खेलेको थियो। त्यतिबेला पनि नेपाल २–० ले पराजित भएको थियो।
यमनविरुद्ध ३ वर्षअघि मैत्रीपूर्ण फुटबल खेलेका राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ भन्छन्, ‘उनीहरु आक्रामक खेल खेल्न रुचाउँछन्। शारीरिक रुपमा पनि बलियो छन्।’ त्यतिबेला स्ट्राइकरको भूमिकामा रहेका अनिल गुरुङ मात्र हाल राष्ट्रिय टोलीमा समावेश छन्। जुमानु राई, सन्तोष साहुखललगायतका स्ट्राइकर टोलीमा नरहेको अवस्थामा नेपाली आक्रमणको मोर्चा विमलघर्ती मगर, भरत खवास र नवयुग श्रेष्ठले सम्हाल्ने लगभग पक्का छ।
नेपालले यही प्रतियोगिताका लागि भनेर गत साता भारतको मुम्बईस्थित अधेरीमा भारतको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। करिब २ वर्षपछि भारतविरुद्ध खेलिएको यस खेलमा नेपाली खेलाडी केही सिथिल देखिएका थिए। यो खेल नेपालले २–० ले गुमाएको थियो।
भारतविरुद्धको खेलमा डिफेन्स, ‘सेट–पिसेस’ र ‘बल पोजिसन’, तीनवटै ठाउँमा समस्या देखिएको थियो। त्यसैले भारतबाट फर्किएपछि जापानी प्रशिक्षक ग्योटोकु कोजु यसको समाधानमा तल्लिन देखिएका छन्। यमनविरुद्धको खेलमा उनले यी तीनवटै क्षेत्रमा देखिएको सुस्ततालाई कसरी हल गर्छन? यसले नतिजालाई पनि प्रभावित पार्नेछ।
‘विगत लामो समयदेखि हामीले लिग फुटबल खेलेका छैनौं। अन्तर्राष्ट्रिय खेल पनि भएका छैनन्। त्यसैले आफ्नो समस्या बुझ्ने मौका पाएका थिएनौं’, कप्तान विराज महर्जनले सेतोपाटीसँग भने– ‘भारतविरुद्धको खेल पछि केही ठाउँमा समस्या देखिएको छ। त्यसलाई दुरुस्त गर्न कोजु सरले डिफेन्स र ‘डेड बल’ हरु अत्याधिक मात्रामा हान्न सिकाइरहनु भएको छ।’
नेपालको टिममा मंगलबार दुई नियमित खेलाडी सहभागी हुने छैनन्। विक्रम लामा रातो कार्ड पाएको कारण मैदानबाट बाहिर रहने छन्। रविन श्रेष्ठ घुँडाको सर्जरीको कारण यमनविरुद्ध मैदानमा उत्रिँने छैनन्।
हाल नेपालको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिरहेका थुप्रै खेलाडीले युथ–१७ टिममा हुँदा एक पल्ट यमनसँग मैत्रीपूर्ण खेल खेलेका थिए। उनीहरुले २०६४ सालमा उज्वेकिस्तानमा युथ–१७ को विश्व कप छनोट खेल खेल्न जाँदा मलेसियामा मैत्रीपूर्ण खेल खेलेका थिए। त्यतिबेला पनि नेपाल २–१ ले पराजित भएको थियो। रोचक कुरा, त्यतिबेला नेपालको तर्फबाट गोल गर्ने स्ट्राइकर भरत खवास थिए।
उनलाई १० वर्षपछि फेरि राष्ट्रिय टोलीबाट यमनविरुद्ध खेल्ने अवसर जुरेको छ। ३ वर्षअघि मैत्रीपूर्ण खेलमा उनी आर्मीको ट्रेनिङमा समावेश थिए। त्यसैले उनी मैत्रीपूर्ण खेलमा सहभागी भएका थिएनन्। तर, १० वर्ष पछि जुरेको अवसरलाई उनी जितमा बदल्न आतुर देखिएका छन्। भन्छन, ‘यो मेरो सपना हो।’