गत वर्ष रमजान चलिरहँदा पत्रकार गनी अन्सारीले लेखेको एउटा ट्विट उनको टाइमलाइनमा अझै झुन्डिरहेको छ– ‘म यस्तो भाग्यमानी मुस्लिम हुँ, जसलाई रमजानको दिनभरीको व्रत तोड्दा साँझपख खाइने खाना (इफ्तार) को निम्तो एकजना हिन्दु साथीले दिन्छ।’
दुई हजारभन्दा बढी लाइक र साढे आठ सयभन्दा बढी रिट्विट पाएको यो ट्विटमुनि गनीले ह्यासट्याग गर्दै लेखेका छन्– सहिष्णुता।
बिबिसी नेपाली सेवामा कार्यरत गनी पर्साका मुस्लिम हुन्। उनका ‘लगौंटिया यार’ देखि पत्रकारिताका हितैषी अधिकांश हिन्दु धर्मावलम्बी नै छन्।
अचेल गनी रमजान मनाइरहेका छन्। मिलनसार, साथी–सर्कलमा ‘प्यारा’ गनीलाई इफ्तारका लागि यो महिनाभर निम्तो आइरहन्छ। तर, गनी हार्नै नसक्ने ठाउँमा मात्र पुग्छन्। किनकि, इस्लाम धर्मभित्र एउटा मान्यता छ– रमजानभरी सकेसम्म आफ्नै परिश्रम खानु।
पाहुना स्वागत गर्न झन्झट नमान्ने गनी बरु आफ्नै भान्छामा डाक्छन्। आफैं ‘इफ्तार’ तयार पार्छन् र ‘डिनर’ खुवाउँछन्।
यसै साता गनीले हामीलाई आफ्नो भान्छामा डाके।
रातको झन्डै नौ बज्न आँटेको थियो। बिहानको तीन बज्नुअघि नै सेहरी (सूर्योदय हुनुअघिको खाना) खाएर दिनभर रोजा बसेका गनीलाई खाना खाने हतारो थिएन। सात बजे उनले रोजा तोडेका थिए, मुगल स्वादको सरवत पिएर। फलफूल र केही दालमोठ चपाउँदै भोक साम्य पार्ने कोशिसमा थिए।
हामी पुग्दा उनको भान्छामा इफ्तार तयार थियो। विशालनगरस्थित फ्ल्याटमा एक्लै बस्ने गनी खाना पकाउन जाँगरिला छन्। भान्छा सफा र चिटिक्क छ। ढोकाबाट छिर्नेबित्तिकै दुइटा बेडरुम र किचनको बीचमा सानो ‘डाइनिङ रुम’ छ।
देब्रेतिरको दुईवटा बेडरुम पनि उत्तिकै सुकिला छन्। उति साजसज्जा छैन। चहकिलो छ। डाइनिङ टेबलमा एउटा कस्मेटिक फूलदानी टक्रक्क उभिएको छ। फूलदानीलाई अढेस लगाएर एक पन्ने हरियो कागज ठडिएको थियो, जुन अरबी क्यालेन्डर हो। क्यालेन्डरमा रमजान महिनाभर रोजा सुरु हुने, सेहरी खाइसक्नुपर्ने, इफ्तार लिने समय खुलाइएको छ। रमजान अवधिमा यही क्यालेन्डर गनीका लागि नमाज र खानाको समयतालिका बन्छ।
रमजानको अर्थ व्रत होइन। यो त अरबी क्यालेन्डरअनुसार नवौं महिना हो। विक्रम सम्बतको पुस महिनाजस्तै। अरबी क्यालेन्डरमा सबैभन्दा पवित्र महिना मानिन्छ रमजानलाई। यसै महिना कुरानको अवतरण भएको भनाइ छ।
जामे मस्जिदका मौलाना मोहम्मद मोसिनका भनाइमा इस्लाम धर्मअनुसार मूल देवताले जब पृथ्वीका मानिसलाई नियन्त्रण गर्न नियमको खाँचो देखे, त्यसपछि आकाशमा एकैचोटि नियम खन्याइदिए। त्यो नियम पृथ्वीमा आइपुग्न २३ वर्षभन्दा बढी लाग्यो।
ती नियम पृथ्वीमा हजरत मोहम्मदले ओसार्थे। कहिले मानिसको भेषमा, कहिले आवाजमा र कहिले पर्दाले ढाकिएर आउने मोहम्मदले रुखका पात, बोक्रा त कहिले ढुंगामा कुरानका आयात लेखे। त्योभन्दा बढी त मानिसलाई कण्ठ पार्न लगाए। त्यसैले आजसम्म कुरान सकेसम्म कण्ठ पार्नुपर्ने मान्यता छ।
कुरानलाई पृथ्वीसम्म ल्याइपुर्याउने मोहम्मद मूल देउताका अन्तिम दूत मानिन्छन्। त्यसअघि एक लाख चौबिस हजार दूत पृथ्वीमा आएको मानिन्छ। अन्तिम दूतले ल्याएका वचनहरू नै पछि इस्लामी कानुन बने। उनले बोलेका हरेक वचनलाई र गरेका हरेक कर्मलाई स्वीकार गर्नुपर्ने मान्यता छ, जसलाई सुन्नत भनिन्छ। यतिसम्म कि, मोहम्मदले जस्तो लगाउँथे, जस्तो खान्थे मुस्लिमहरू त्यसलाई सकेसम्म पछ्याउँछन्। ‘जस्तो, दाह्री पाल्नु मोहम्मदको रूपलाई पछ्याइएको हो,’ मौलाना मोसिन भन्छन्।
गनी दाह्री त पाल्दैनन्, तर रमजान बेला खजुर खान्छन्। ऊबेला मोहम्मद खजुर खान्थे रे। त्यसैले मुस्लिमहरू रमजान बेला सकेसम्म खजुर खान्छन्। गनीको टेबलमा टुक्रा पारिएको फलफूलको थालमा पनि तीन टुक्रा खजुर थियो।
सुन्नतजस्तै इस्लाम धर्मको मुख्य पाँच स्तम्भमध्ये अर्को मुख्य स्तम्भ हो, रोजा अर्थात् व्रत। ‘व्रतको मूल ध्येय हुन्छ, भोकलाई महसुस गर्नु,’ गनी भन्छन्, ‘यहाँ अभिनय गर्न कसैलाई छुट छैन। अनुशासन मानेको अभिनय गर्नु धर्मको विपरित जानु हो।’
गनी धर्मको विपरित बाटोको यात्रामा छैनन्। उनलाई सही मार्ग पछ्याउनु छ। त्यसैले उनी दिनभर रोजा बस्छन्। बिहान सूर्योदय हुनुअघि नै आफैंले पकाएको सेहरी खाएर दुई घन्टा जति सुत्छन्। सूर्यको किरण धर्तीमा झर्नुअघि नै उठ्छन् र अफिस दगुर्छन्। रमजानकै लागि बिबिसीले उनकै अनुरोधमा बिहानको ड्युटी मिलाइदिएको छ। अझ, नमाज पढ्न रमजान महिनाभर छुट्टै कोठाको व्यवस्था गरिदिनेसम्म भनेको रहेछ।
समाचार लेख्नु र पढ्नु उनको दैनिकी हो। विभिन्न देशमा भएका धार्मिक साम्प्रदायिक हत्या–हिंसा, भोकमरीका समाचार पढ्दापढ्दै उनलाई भाउन्न छुट्दो रहेछ। त्यसैले गनीलाई सकारात्मक ऊर्जाको खाँचो पर्छ।
अफिसबाट फर्किएपछि गनी दिनभर कोठामै समय बिताउँछन्। रमजान महिनाभर उनी उति टाढाको यात्रा गर्दैनन्। काठमाडौंभित्रै पनि उति टाढा जाँदैनन्। दिनभर प्रवचन सुन्छन्, कुरान पढ्छन्। सकारात्मक सोच जगाउने पुस्तक मात्र यतिबेला उनको सिरानी/टेबलवरपर हुन्छन्। शुक्रबार जामे मस्जिद पुग्छन्। दिनको पाँचपटक नमाज पढ्नुपर्ने नियम छ, उनी नियम मान्छन्।
नमाजको मात्र होइन, उनी मुस्लिम धर्मका पाँचै स्तम्भलाई उत्तिकै मान्छन्। नमाज पढ्ने, स्वीकार गर्ने र व्रत बस्नेबाहेक अर्को दुई मुख्य स्तम्भ हो– दान गर्नु।
दानसम्बन्धी एउटा भनाइ छ, दाहिने हातले दान गरेको छ भने देब्रे हातलाई थाहा दिनु हुँदैन। गनीले दान दिन बाँकी नै छ, तर के दिन्छन् र कति दिन्छन् भन्ने कुरै भएन।
पैसा छ भने वार्षिक बचतको साढे दुई प्रतिशत, सुन, चाँदी या अन्नअनाज छन् भने पनि भएअनुसारको साढे दुई प्रतिशत दान गर्नैपर्ने नियम छ। त्यसबाहेक सामथ्र्य छ भने जीवनकालभरमा एकपल्ट हज गर्न मक्कामदिना जानैपर्ने इस्लाम धर्मको मुख्य स्तम्भ हो। गनीले पाँचौं स्तम्भ पूरा गर्न बाँकी छ। कुनै दिन मक्कामदिना पनि जाने उनको धोको छ। उनले अरबी भाषा सिकेर अरबीमै लेखिएको कुरा पढ्ने धोको नै साँचिराखेका छन्।
रमजान बेला यी पाँचै स्तम्भ पछ्याउँदा ७० गुना बढी लाभ मिल्ने मान्यता छ। गनी धार्मिक लाभका लागि भन्दा आफ्नो चित्तशुद्धीका लागि यी मान्यता पछ्याउने बताउँछन्।
रमजान महिनाभर गनीको बिहानदेखि रातिसम्मै धार्मिक क्रियाकलापमै व्यस्त हुन्छन्। साँझ इफ्तारको समय हुनुअघि नै भान्छामा छिर्छन्। व्रत तोडेपछि यही खानुपर्छ भन्ने नियम छैन। आफ्नो क्षमताअनुसार जे खाए पनि हुन्छ। गनी दाल, भात, अचार सबै तयार पार्छन्। खाना तयार भयो भन्दैमा इफ्तारको समयभन्दा एक मिनेटअगाडि पनि खान मिल्दैन।
दिनभर पानी त परको कुरा, जान्दाजान्दै थुक पनि निल्यो भने व्रत तोडिन्छ। १३ वर्षदेखि व्रत बसेका गनीले अहिलेसम्म कुनै व्रत तोड्नुपरेको छैन। थुप्रैपटक झुक्किएर पानीको बोतल उचालिसकेका उनी बीचैमा सजग भएका उदाहरण थुप्रै रहेछन्। खाना पकाउँदा पकाउँदै झुक्किएर चाखेका पो छन् कि? अनि, खाना पकाउँदै गर्दा गनीको मुखमा पानी रसाउँदैन? गनी यसलाई आफ्नो इन्द्रियमाथि नियन्त्रण गर्ने सही समय ठान्छन्।
‘रोजा बस्नु भनेको पेटका लागि मात्र होइन,’ उनी भन्छन्, ‘रमजान हरेक अंगको रोजा हो। यहाँ कानले पनि व्रत बस्नुपर्छ, नाक, जिब्रो, छाला सबैले रोजा बस्नुपर्छ। यो अवधिमा इन्द्रियमाथि कसरी नियन्त्रण गर्ने भनी सिकिन्छ। दिनको १५–१६ घन्टा लगातार रोजा बस्दा भोक के हो भन्ने महसुस हुन्छ। दिनदुःखीहरूले खान नपाउँदाको क्षण कस्तो होला भन्ने नजिकबाट अनुमान लगाउन सकिन्छ।’
दिनको १५–१६ घन्टा पानीसमेत नपिई रोजा बस्दा गनीलाई अहिलेसम्म कमजोरीको महसुस गर्नु परेको छैन। न पट्यारलाग्दो दिन बिताउनुपरेको छ। रमजान बेला साथीसंगीले उनलाई एक्लो हुन दिँदैनन्। यस्तो बेला केही साथीहरू गनीको ‘फेभरेट डिस’ को नाम लिँदै जिस्काउनकै लागि फोन गर्छन्। जिस्क्याउने साथीहरुलाई यतिले धित मर्दैन। केही केटी साथीहरुको जिस्काउने तरिका बेग्लै छ, ‘म राम्री छैन त गनी!’
गनी खुलेर हाँसिदिन्छन्।
यो हँसिमजाकले गनीलाई आफ्नो रमजान थप रंगीन भएको आभास हुँदो रहेछ। ‘यसरी जिस्क्याउँदा मलाई साथीहरुले केयर गरिरहेका छन् भन्ने लाग्छ,’ गनी ठट्टाभित्र पनि सम्बन्धका गहिरो अर्थ भेट्छन्।
गनीलाई यसरी जिस्क्याउने सबै हिन्दु साथी रहेछन्।
घडीले साढे नौ बजाउने संकेत दिँदै थियो। गनी भान्छाभित्र छिरे। दाल, आँपको अचार, फ्राई भिँडीको तरकारी र भात टेबलमा ओसार्न थाले। एउटा कचौरामा उसिनेको आलु मिचेर बनाइएको अचार थियो। जुन उनले घरबाटै सिकेर आएका थिए। रमजान बेला गनीलाई परिवारको खुबै याद आउँछ। यादमा भुल्दै आमाबाट सिकेको आलुको अचार बनाउँछन्। जुन उनको प्रिय खानामध्येको एक हो।
रमजान बेला साँझपख गनीलाई घरको यादले बिछट्टै सताउँदो रहेछ। मध्यरातमै सेहरी खाइसक्नुपर्ने समय हुन्छ। गनी निस्लोठ निद्रामा हुन्थे। पोहोरसम्म घरबाट फोन आएपछि मात्र गनी उठेर सेहरी खान्थे। यसपालि घरबाट फोन गर्नुपरेको छैन, अलार्मले ब्युँझिन्छन्।
जब साँझ इफ्तारको समय हुन्छ, गनी घरको भान्छाको स्वाद कल्पना गर्न थाल्छन्। भान्छामा पाक्दै गरेको दृश्य कल्पनामा नाच्छन्। इफ्तार पकाउँदै गर्दा उनी घर सम्झन्छन्। परिवार सम्झन्छन्। परिवारका सबै जना लहरै बसेर इफ्तार खाँदाको सामूहिकताले उनलाई झनै एक्लो महसुस हुन्छ। कहिले उनी आफैं फोन गर्छन्, कहिले दाइ–भाउजु, आमा–बाले फोन गर्छन्। उताबाट घरको भान्छामा पाक्दै गरेको खान्कीको जानकारी आउँछ। घरमा आलुको अचार पाकेको थाहा पाउनेबित्तिकै गनी पनि आलु उसिन्न बसालिहाल्छन्। जुन उनको प्रिय खान्कीमध्येको एक हो, आमाबाट सानै उमेरमा सिकेको खान्की।
इफ्तारकै समय गनीको दिमागमा बाल्यकालका स्मृति पनि एकाएक मडारिएर आउन थाल्छन्।
घरको कान्छो छोरा उनी सानोमा चकचके थिए रे। घरमा पाक्दै गरेको खान्की उनले चाखेपछि मात्र अरुले खान पाउँथे। मुस्लिम समुदायमा सानाको जुठो ठूलालाई नचल्ने भन्ने हुँदैन। आमा अचार बनाइरहेकी हुन्थिन्। उनी आमाले अचार तयार पारिरहेको भाँडोमा हात डोबिदिन्थे। खोसेर खान तम्सिन्थे।
तब, आमा हकार्दै भन्थिन्, ‘यो हाम्रो परिवारले मात्र खाने चिज हो र? छिमेकी (हिन्दुहरू) ले पनि खानुपर्छ। उनीहरूलाई जुठो दिनुहुँदैन।’
गनीले यति नै बेला थाहा पाए– सहिष्णुता।
गनी जुन समाजमा हुर्के, त्यो ठाउँ हिन्दुबाहुल्य क्षेत्र थियो। उनकी आमाको हातले बनाएको अचार उनका छिमेकी हिन्दुहरू स्वाद मानेर खान्थे। अचारकै लागि गनीको घरसम्म आउँथे।
‘हाम्रो घरनजिकैको मस्जिदमा बिहान माइकबाट ठूलो आवाजमा अजान बज्थ्यो,’ गनी बाल्यकालतिर फर्किए, ‘मेरो एउटा हिन्दु साथी भन्थ्यो, तिमीहरु को अजानले मलाई बिहान भयो भन्ने संकेत दिन्छ। हाम्रो अजानले उसलाई अहिले भन्ने गरेजस्तो ‘अलार्म’ को काम गर्दो रहेछ। मलाई पनि बिहान मन्दिरमा बज्ने घन्टीले बिहान भएको जनाउ दिन्थ्यो। मेरो हिन्दु साथीलाई अजान मन पर्ने, मलाई मन्दिरको घन्टी। भन्नुको अर्थ, म जुन समाजमा हुर्किएँ, सानैदेखि सहिष्णुता देखेँ। मैले सहिष्णुता छ भनेर प्रमाणित गर्नका लागि बोलिरहेको छैन, यो मेरो बच्चैदेखिको भावना हो।’
गनी रमजान, ईद आउँदा जति पुलकित हुन्छन्, हिन्दु समुदायको दीपावली, छठ र होली आउँदै गर्दा पनि उत्तिकै मन रमाउँदो रहेछ।
‘छठमा हामी साथीहरू तलाउमा जान्थ्यौं, माटोका भुँड्का फुटाउँथ्यौं,’ उनी भन्छन्, ‘म ईदमा पनि घर जान्छु, भ्याएसम्म छठमा पनि जान्छु। छठमा त हाम्रो घरमा हिन्दु छिमेकीको घरमा भन्दा बढी प्रसाद जम्मा हुन्छ।’
गनी छठ र होलीमा घर गइरहनुमा विशेष कारण लुकेको रहेछ।
गाउँ, जहाँ उनका ‘हितका मित’ छन्।
यो गनी आठ वर्ष छँदाको कुरा हो, हजुरआमाले रामनारायण गुप्ता र गनीबीच मितेरी साइनो जोडिदिएकी थिइन्। ‘वास्तवमा सहिष्णु त कहिल्यै स्कुल नपढेका हाम्रा हजुरआमाहरू पो हुनुहुँदो रहेछ,’ गनी भन्छन्, ‘जसले फरक धर्म सम्प्रदायबीच मितेरी साइनो जोडिदिनुभयो। धर्म र जात नभन्ने यो साइनो विशिष्ट लाग्छ। यो सम्झिँदा हजुरआमाप्रति श्रद्धा भरिन्छ।’
हजुरआमाले मीत लगाइदिएपछि रामनारायण र गनी ‘हितका मित’ भए। सँगै खाने, खेल्ने हितैषी भए। गनीको घरमा ईद आएका बेला रामनारायण र रामनारायणको घरमा छठ र होली लागेका बेला यी दुई मित एक–अर्काको घरमा देखिएनन् भने दुवैले यी चाडको रौनक नै गुमाउँछन्।
अब ईद–उल–फित्र नजिकिँदैछ। चाडवाडमा मितेरी साइनो गाँसिएपछिको रौनकतामा गनी पुलकित छन्। मित भेट्न आतुर छन्।
मितेरी साइनोसँग फरक धर्म सम्प्रदायको हुनुका नाताले उनले एउटा रमाइलो किस्सा सुनाउन बाँकी राखेनन्। मितको बिहेको कुरा रहेछ। मितले आफ्नो बिहेमा जन्त लैजान शेरवानी किनिदिएका रहेछन्। गनीले त्यो लगाए। मितका आफन्तले गनीको हातमा मेहन्दी लगाउनुपर्ने कुरा राखेछन्।
गनीले भने, ‘बिहे मेरो हो र?’
‘हैन, दुलाहाको मितले पनि लगाउनुपर्छ।’
गनीले मेहन्दी लगाए। उनका लागि यो नौलो भए पनि बिहेको रौनकताले त्यो दिनभर मेहन्दीको ख्याल नै भएन। जब बिहे सकियो, शेरवानी उत्रियो। तर, हातको मेहन्दी उस्तै चहकिलो रहिरह्यो। मेहन्दी छोप्न गर्मी महिनामा पनि गनीले लामो बाहुला भएको लुगा लगाएर हिँड्नुपर्यो। कसैले देख्ला कि भन्दै त्यही बाहुलालाई पञ्जा बनाउँथे।
आजभोलि मितेरी साइनो गाँस्ने चलन हराउँदै गएकोमा गनीको चिन्ता बढेको छ। सानी भतिजीले आफूलेजस्तै हिन्दु सम्प्रदायकी बालिकासँग मितेरी साइनो गाँसेकी छन्। भतिजीलाई देख्दा उनको खुसी दोब्बर हुन्छ, मितसँगका सम्बन्ध सम्झिएर र फरक धर्म सम्प्रदायबीच साइनो गाँसिएकोमा।
जब उनी मितको घर पुग्छन्, हिन्दु मितको घरमा गनीका लागि हलाल गरेको मासु तयार हुन्छ। गनी आजसम्म काठमाडौं पनि यस्तै सत्कार पाइरहेको बताउँछन्।
जतिबेला उनी काठमाडौं पढ्न आए, उनका कोठा साझेदार पनि हिन्दु नै थिए। राम शाह र गनी बिए पढुन्जेल चार वर्षसम्म सँगै बसे। ‘काठमाडौंमा त अझ कस्तो भयो भने दिनभर रोजा बसेर साँझ हिन्दु साथीले बनाएको इफ्तार खाएर म काममा जान्थेँ,’ गनी आफूले भोगेको काठमाडौं सहिष्णुता व्यक्त गर्छन्, ‘म रिपब्लिका दैनिकमा काम गर्दा प्रधान सम्पादक र समाचार सम्पादक भन्नुहुन्थ्यो– इफ्तार खाएपछि मात्र समाचार लेख। म रामले बनाइराखेको खाना खाएर न्युज लेख्न अफिस जान्थेँ।’
गनीले अहिलेसम्म जति ठाउँमा काम गरे, फरक धर्म सम्प्रदायको भएका कारण कुनै विभेद खेप्नु नपरेको सुनाउँछन्। बरु उल्टै सहयोग पाइरहेको उनको भनाइ छ।
‘यो रमजानभर त झन्, म व्रत बस्छु भनेर गाह्रो काम गनीलाई दिनुहुँदैन है भन्थे,’ गनी भन्छन्, ‘मैले अफिसदेखि साथीसम्मले मेरो धार्मिक अभ्यासमा सहयोग पु¥याइरहेका छन्।’
गनी हलाल गरेको मासु मात्र होइन, मुस्लिम समुदायमा वर्जित रक्सी सेवन पनि गर्दैनन्। तर, कसैको भोजभतेरमा गनीका लागि छुट्टै व्यवस्था भएको हुन्छ। घरमा खाना खान बोलाउने साथीले उनका लागि हलाल गरेको मासु छुट्टै ल्याइदिएको हुन्छ। रक्सी पिउनेहरुको भीडमा उनी रक्सीविनै साथीहरुसँग ‘इन्जोय’ गरिदिन्छन्।
चौतर्फी हिन्दु साथीहरूबाट घेरिएका गनी आफ्नो धर्ममा जति अनुशासित छन्, अरू धर्म मान्नेलाई पनि चोट पुग्ने वचन बोल्दैनन्। उनलाई मुस्लिम हुनुको कारणले कसैले कटुवचन पनि बोलेका छैनन्।
उनलाई त इस्लाम धर्मबारे जति थाहा छ, हिन्दु धर्मका धार्मिक मान्यता र सामाजिक मान्यता उति नै थाहा छन्। अरू धर्मलाई पनि उनी मनैदेखि स्वीकार्छन्।
त्यसैले त गनी आफ्नो धर्ममा हुँदै नभएका कुरालाई पनि लेख्दा या बोल्दा अपनाउँछन्। जस्तोः गनीले मान्ने धर्ममा पूर्व र पुनर्जन्म शब्द नै छैनन्। जे जति धर्म गर्नुछ, सच्चा मनले यही जन्ममा गर्नुपर्ने विश्वास छ। गनी पनि यसैमा पूरा विश्वास राख्छन्। तर, गनी अर्को धर्मका विश्वासलाई पनि श्रद्धा गर्छन्।
त्यसैले त उनी भन्छन्, ‘पुनर्जन्म हुने भए फेरि नेपालमै मुस्लिम भएर जन्मिन चाहन्थेँ। थप सहिष्णुताले मेरा रमजानहरू झन् विशेष हुन्थे। मेरा ईदहरू अझ खास हुन्थे।’
सबै तस्बिर : अनिश रेग्मी/सेतोपाटी