संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम बिथोल्ने चेतावनी दिएको राजपा कार्यकर्ताले उपेन्द्र यादवमाथि आक्रमणको प्रयास गरेका छन्। सर्लाहीमा उपेन्द्र यादवलाई कार्यक्रम नै गर्न नदिने धम्की दिएर अवरोधमा उत्रिएका राजपा कार्यकर्तालाई फोरम नेपालका कार्यकर्ताले लखेटेका छन्।
सर्लाहीको क्षेत्र नम्बर ५ को मधुवन गोठमा आइतबार दिउँसो आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न हिडेका यादवलाई राजपाका करिब दुई सय कार्यकर्ताले अवरोध गर्न खोजेका थिए। केही स्थानमा उनीहरुले कालो झन्डा समेत देखाए।
करिब दुई सयको संख्यामा रहेका राजपा कार्यकर्ताले फोरम नेपालको कार्यक्रम विथोल्ने प्रयास गरेका थिए। तर, उपस्थित फोरम कार्यकर्ताले राजपाको अवरोधलाई विफल पारिएको संघीय समाजवादी फोरमले जनाएको छ।
सर्लाही राजपा अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गृहजिल्ला हो।
राजपाका कार्यकर्ताहरुले बिहानैदेखि टायर बालेर सडक अवरोध गर्न खोजेका थिए। कालो झन्डा देखाउन खोजेपछि राजपा र फोरम नेपालका कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो।
मधेशको एजेन्डामा प्रष्ट हुन राजपालाई यादवको सुझाव
यादवले मधेशको माग र एजेन्डामा प्रष्ट हुन राजपालाई सुझाव दिएका छन्। सर्लाहीको मधुवनमा आयोजित पार्टी प्रवेश कार्यक्रमर्लाइ सम्बोधन गर्दै अध्यक्ष यादवले एजेन्डाभन्दा बाहिर गएको राजपालाई मधेशका जनतालाई दिग्भ्रमित नपार्न पनि सुझाव दिए।
‘राजपा आफ्नै एजेन्डामा प्रष्ट छैन । कहिले यो कहिले त्यो भन्छ । जाने कहाँ हो, पुगिने कहाँ हो, त्यसमा उनीहरु आफै क्लियर छैनन्’, यादवले भने। स्थानीय चुनावलाई संघर्षको कार्यदिशा बनाउनु पर्नेमा मधेशलाई विकासबाट बञ्चित गर्ने दुष्साहस नगर्न समेत उनले राजपालाई सुझाव दिए।
लोकतान्त्रिक गणतन्त्रको रक्षा, आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न, मधेशलाई विकासको मूलसँग जोड्न र आगामी आन्दोलनको लागि शक्ति सञ्चय गर्ने उद्देश्यले फोरम नेपाल चुनावमा होमिएको यादवले प्रष्ट पारेका छन्।