नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमले निर्वाचन बहिष्कार गरेर अान्दोलन घोषणा गरेकाे राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावको उपयोग गर्न अनुरोध गरेका छन्। अाइतबार संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रतिक्रान्तिकारीहरुको षड्यन्त्रलाई परास्त गर्न तथा आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै पहिचान र अधिकार सहितको सङ्घीयता प्राप्तिको आन्दोलनलाई थप उचाइमा पुर्याउनका लागि निर्वाचनलाई समेत आन्दोलनको रुपमा उपयोग गर्न राष्ट्रिय जनता पार्टी अनुरोध गरेका हुन्।
'वर्तमान संविधानलाई अधिकतम स्वीकार्य बनाउन संविधान संशोधन लगायतका विषयहरुमा नेपाल सरकार र आन्दोलनरत दलहरुबीच भएका सहमतिलाई कार्यान्वयन गर्ने, मधेश तथा थरुहटमा भएको जनविद्रोहको क्रममा शहादत प्राप्त सबै व्यक्तिहरुलाई शहीद घोषणा, राजबन्दीको रिहाई, झुठा मुद्दाहरु फिर्ता तथा क्षतिपूर्ति लगायतका विषयहरुलाई यथाशीघ्र कार्यान्वयन गरी सबै शक्तिहरुलाई निर्वाचनमा आउने वातावरण निर्माण गर्न हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौं', विज्ञप्ति भनिएको छ,'साथै देशमा भइरहेको प्रतिक्रान्तिकारीहरुको षड्यन्त्रलाई परास्त गर्न तथा आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै पहिचान र अधिकार सहितको सङ्घीयता प्राप्तिको आन्दोलनलाई थप उचाइमा पुर्याउनका लागि निर्वाचनलाई समेत आन्दोलनको रुपमा उपयोग गर्न राष्ट्रिय जनता पार्टी लगायत सबै आन्दोलनरत दलहरुलाई पनि हामी हार्दिक अनुरोध गर्दछौं।'
राजपाले अाइतबारमात्रै सरकारसँग वार्ताको अौचित्य सकिएको भन्दै अामहड्तालसहित अान्दोलनका कार्यक्रम घोषणा गरेको छ।
यसैबीच दुई दलले पहिलो चरणमा जस्तै दोस्रो चरणमा पनि तालमेल गरेर चुनावमा भाग लिने भएका छन्। ' वर्तमान स्थानीय निर्वाचनमा अग्रगामी परिवर्तनकारी शक्तिहरुलाई मजबुत बनाउन तथा स्थानीय तहबाट विकास र समृद्धि तथा सुशासनका लागि अगाडि बढ्न हामी दुई दलहरु पहिलो चरणदेखि नै गठबन्धन/तालमेल गर्दै आइरहेका छौं । आगामी दोस्रो चरणको निर्वाचनमा पनि त्यसलाई कायम राख्दै अझै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं', विज्ञप्तिमा भनिएको छ।