नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसबाट एमालेलाई बढार्नुपर्छ भन्नेहरु चुनावपछि आफैं बढारिने बताएका छन्।
नेपालगन्ज उपमहानगरपालिका एमालेका उम्मेदवारको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तराई मधेसका जनताले हत्या हिंसा नभई समाजिक सदभाव र विकास चाहेको बताए।
एमालेका मेयरका उम्मेदवार समशुद्दिन सिद्दिकीकालाई भोट माग्दै एमाले अध्यक्ष ओलीले भने एमाले चुनावको मैदानमा मात्रै होइन अखडा (खेलको मैदान)मा पनि समशुद्दिन सिद्दिकीसंग लड्नु पर्यो भने धेरै विचार पुर्याउनु पर्छ । जो कोहिले लड्ने आँट नै गर्दैन। किनभने एमाले बलियो छ एमालेका उम्मेदवार बलिया छन्।
एमाले सबै जातजाती भाषा भाषीहरुको पार्टी भएको बताउदै अध्यक्ष ओलीले नेपालगन्जमा मुस्लिम समदुदायबाट समशुद्दिन सिद्दिकीलाई मेयर र पहाडी समुदायबाट शान्ति ढकालको उप मेयरको उम्मेदवार बनाएर सामाजिक सदभावको पक्षमा उभिएको बताए।
एमालेको सरकारले तराई मधेसको विकासका लागि विशेष कार्यक्रमसहित ठूलो परिमाणमा बजेट छुट्याएको बताउँदै अध्यक्ष ओलीले तराई मधेशका जनताले विकास र समाजिक सद्भाव चाहेको बताए।