आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा ल्याउने प्रयास स्वरूप सरकारले अहिले वार्ता गरिरहेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी वार्तामा सत्तारुढ कांग्रेस, माओवादी, नेपाल लोकतान्त्रिकका साथै राजपाका शीर्ष नेताहरु सहभागी छन्। यसअघि शनिबार भएको वार्तामा राजपाले असार १४ को चुनाव सार्न माग गरेको थियो। तर, सत्तारुढ दलहरुले अस्वीकार गरेका थिए।
हिजोको बैठकमा चुनावपछि संविधान संशोधनको अधिकतम् प्रयास गर्न आफूहरू प्रतिवद्ध रहेको दोहोर्याउँदै प्रधानमन्त्री देउवाले सबैले चुनावमा भाग लिनु पर्नेमा जोड दिएका थिए। जवाफमा उपस्थित सबै मधेसी नेताले यथास्थितिमा चुनावमा भाग लिन सक्ने अवस्थामा आफूहरू नरहेको बताएका थिए।
अहिले नै संविधान संशोधन गर्न नसक्ने हो भने मधेसमा पर्ने २ र ५ नम्बर प्रदेशको चुनाव तत्काललाई रोक्नु पर्ने राजपा नेताहरूले प्रस्ताव गरेका थिए।
उनीहरूले प्रधानमन्त्री देउवालाई भने, ‘प्रचण्डले पहिलो चरणमा तीन प्रदेशमा चुनाव गराउनु भयो। तपाईँ पनि १ र ७ नम्बर प्रदेशमा चुनाव गराउनुहोस्। २ र ५ नम्वर प्रदेशमा संविधान संशोधनपछि गराउनुहोला।’
जवाफमा देउवाले सारा मुलुकले आफूहरूलाई चुनाव समयमा सम्पन्न गर्न सक्छन् कि सक्दैनन् भनेर हेरिरहेको भन्दै चुनाव सार्न नसकिने बताएका थिए।
‘समयमा चुनाव सम्पन्न गर्नु राष्ट्रिय एजेण्डा हो। यसमा तलमाथि गरे हामी फस्छौं, त्यसैले चुनाव सार्ने कुरा नगरौं’ देउवालाई उद्धृत गर्दै उनका प्रेस सहयोगी बद्री सिग्देलले सेतोपाटीसँग भने।
सत्तारुढ गठबन्धनका अरु नेताले पनि चुनाव कुनै पनि हालतमा रोक्न नमिल्ने तर्क गरेका थिए।
बरु राजपा चुनाबमा भाग लिनका लागि एउटै चुनाव चिन्ह, र पार्टीको एउटै नाम दिलाउनका लागि निर्वाचन आयोगमा पहल गर्ने उनीहरूले बताएका थिए।
दोस्रो चरणको चुनावका लागि उमेद्वारले मनोनयन गर्ने मिति निर्वाचन आयोगले असार २ गतेलाई तय गरेको छ।
२ गते अघि नै मधेसमा बन्दसहितको सशक्त कार्यक्रम गरेर काठमाडौंलाई दवाब दिने रणनीतितर्फ राजपा अघि बढेको छ।
सबै राष्ट्रिय दलसहित उपेन्द्र यादव र विजयकुमार गच्छदारले नेतृत्व गरेका दुवै फोरम चुनावमा जाने देखिएपछि राजपा दवाबमा छ।
अरु सबै पार्टीले उमेद्वारी दिइसकेपछि तुलनात्मक रुपमा कमजोर संगठन रहेको राजपालाई मधेसमा चुनाव रोक्न कठिन हुनेछ। सम्भवत त्यही कारण असार २ गतेको उमेद्वारी मनोनयअघि नै मधेसमा ‘कडा’ आन्दोलन गरेर दबाब सिर्जना गर्ने रणनीतिमा राजपा देखिन्छ।
राजपाका नेताहरुले आजको वार्ता निर्णायक हुने बताएका छन्। यदि आज सहमति नजुटे दिउँसो बैठक बसेर आन्दोलन घोषणा गर्ने उनीहरुको तयारी छ।