दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको लागि रूपन्देहीका स्थानीय तहमा केहीले ठूलो रस्साकस्सीका बिच उम्मेद्वारको टुंगो लगाएको भएपनि केहीको अझै टुंगो लगाएका छैनन्।
बुटवलबाट मेयरमा पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, केन्द्रिय सदस्य टंकमणि वञ्जाडे र जगतबहादुर पोखरेलको नाम सिफारिस गरेको नेकपा माओवादी केन्द्रले मेयर र उपमेयरको आफैं टुंगो लगाउन नसकेपछि प्रदेश कमिटीलाई जिम्मेवारी दिएको छ। उप मेयरका लागि पनि कृष्ण पोखरेल, टिका ओली र मञ्जु भुसालको नाम सिफारिस गरी प्रदेश कमिटीमा पठाएको छ ।
एमालेले बुटवल उपमहानगरपालिकाको प्रमुखमा जिल्ला अध्यक्ष शिवराज सुवेदी र उपप्रमुखमा गोमा आचार्यलाई उम्मेदवार बनाएको छ । स्थानीय पार्टी कमिटीले बावुराम भट्टराई, गोपाल राना र सुवेदीको नाम सिफारिस गरेकोमा पार्टी स्थायी कमिटीले सुवेदीको नाममा निर्णय गरेको हो ।
२०४६ सालपछि पहिलो पटकको स्थानीय तह निर्वाचनमा प्रमुख उपप्रमुख जितेको कांग्रेसले यसपटक मेयरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपी उपमेयर भने अझै कसलाई बनाउने भन्ने अन्यौल देखिन्छ ।
कांग्रेसमा क्षेत्रीय अध्यक्ष हरी लम्साल र उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले दावी गर्दै आए पनि केन्द्रिय समितीले नगर अध्यक्ष खेलराज पाण्डेलाई निर्णय गरेर पठाएको छ ।
त्यसैगरी बुटवलसँग सीमा जोडिएका तिलोत्तमा, सैनामैना, देवदह तथा पुरानो नगरको रुपमा रहेको सिद्धार्थनगर तथा लुम्बिनी सांस्कृतिक नगरपालिकामा सबै पार्टीले उम्मेदवारहरुको टुंगो लगाईसकेका छन् ।
एमालेले तिलोत्तमा नगरपालिकाको मेयरमा बासुदेव घिमिरे, उपमेयरमा जागेश्वरीदेवी चौधरी, सैनामैना नगरको मेयरमा चित्रबहादुर कार्की र उपमेयरमा बिना रानामगर, सिद्धार्थनगर मेयरमा हरिप्रसाद अधिकारी र उपमेयरमा उमा काफ्ले, देवदहको मेयरमा टिकाराम चापागाई र उपमेयरमा विद्यालक्ष्मी गुरुङ र लुम्बिनी सांस्कृतिक नगरको मेयरमा इन्साफ मुसलवान र उपमेयरमा गोमा गुरुङलाई उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेसले देवदह नगरपालिकाका लागि हिरा केसी, सैनामैना नगरपालिकाका लागि फणेन्द्र शर्मा, सिद्वार्थ नगरपालिकाका लागि मातृका यादव, तिलोत्तमा नगरपालिकाका लागि रामकृष्ण खांण र लुम्बिनी सांस्कृतिक नगरपालिकाका लागि मोहम्द सईद खां लाई मेयरको उम्मेदवार बनाएको छ ।
कांग्रेसले तिलोत्तमामा राष्ट्रिय जनमुक्ती पार्टिलाई उपमेयर दिएको छ । तर रुपन्देहीका अन्य कुनै पनि नगरमा उपमेयरको निर्णय नहुँदा कार्यकर्ता अन्यौलमा छन् । कार्यकर्ताहरु भने लामो समय उम्मेदवारको सिट खाली राख्दा निर्वाचनलाई प्रभाव पार्नसक्ने भन्दै छिटो निर्णय गर्न दवाव दिईरहेका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बिच गठबन्धन गरेर जाने निती अनुरुप उपमेयरको टुंगो लगाउन बांकी राखेर सहकार्यका लागि बातावरण बनाएको बुझिएको छ ।
नेकपा माओवादी केन्द्र रुपन्देहीले गत आईतबार बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देहीका १६ मध्ये १३ तहका लागि उम्मेदवारीको नाम घोषणा गरेको छ। त्यस्तै सिद्धार्थ नगरपालिकाको मेयरका लागि फेजअहमद् खां र उपमेयरका लागि कमला थापालाई अगाडी सारिएको छ ।
देवदह नगरपालिकाको मेयरमा नवराज पुरी र उपमेयरमा टिका गौतमको नाम घोषणा गरिएको छ भने तिलोत्तमा नगरपालिकाको लागि मेयरमा लक्ष्मण खनाल, उपमेयर राधा पौडेलको नाम घोषणा गरिएको छ । त्यस्तै सैनामैना नगरपालिकामा मेयरमा चोपनारायण न्यौपाने र उपमेयरमा दिपिका शर्माको नाम घोषणा गरिएको छ ।
भित्रभित्रै निर्वाचनको तयारी गरी रहेका मधेशबादी दलहरुले भने अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।
एमाले सुस्त, कांग्रेस आक्रामक
प्रदेश नं ५ को राजधानीको रुपमा अपेक्षित बुटवलमा पछिल्लो पटक उम्मेदवार टुंगो लगाएको कांग्रेसले एकाएक सबैलाई चकित पार्ने गरी निर्वाचन अभियान थालेको छ ।
बिभिन्न ढंगले आफ्नो पक्षमा दवाव दिएर टिकट पाउने आशामा काठमाण्डौमा बसेका स्थानीय कार्यकर्ता तथा नेताहरु फर्केपछि कांग्रेसमा निर्वाचनको उत्साह देखिएको छ ।
बुटवल उपमहानगरपालिकाको मेयरको उम्मेदवारी टुंगो लगाएर काठमाण्डौबाट फर्केका खेलराज पाण्डेलाई लिन बुटवलबाट सयौं गाडी तथा मोटरसाईकल गौतमबुद्ध बिमानस्थल भैरहवा पुगेका थिए । खेलराजलाई टिकट दिंदा कांग्रेस भित्र सँच्चै नै न्याय भएको भन्दै कार्यकर्ताहरु उत्साहित देखिएका छन् ।
कांगेस भित्र शशांक कोईराला नजिक मानिएका पाण्डेले टिकट पाएपछि संस्थापन पक्षले असहयोग गर्छ की ? भन्ने अनुमान रहेपनि देउवा पक्षीय रामकृष्ण खांणले तिलोत्तमा मेयरको टिकट पाएपछि उताको समेत निर्वाचन प्रभाव पार्न सक्ने भएकोले कार्यकर्तालाई एक हुनुपर्ने दवाव श्रृजना भएको छ।
रुपन्देही कांग्रेसका सचिव समेत रहेका रामकृष्ण खांण कांग्रेस केन्द्रिय सदस्य बालकृष्ण खांणका भाई हुन् । बुटवलको असन्तुष्टिको असर तिलोत्तमामा पर्ने भएकोले पनि बुटवलमा देउवा निकटहरु पाण्डेको पक्षमा लाग्नुपर्ने नैतिक दवावमा रहेका छन् ।
पटक पटक आफुले जित्दै आएको क्षेत्रमा आफ्नै भाईले हार्दा आफ्नो राजनिती नै संकटमा पर्ने भएकोले पनि खांणलाई तिलोत्तमामा कोईराला खेमाको मन जित्न आवश्यक रहेको कांग्रेसका एक जिल्ला सदस्यले बताए । “अब रामकृष्णलाई जिताउन पनि बुटवलमा एक हुनु जरुरी छ ” उनले भने।
कांग्रेसमा खेलराज पाण्डे र रामकृष्ण खांण चुनावी योजनाका राम्रा खेलाडीका रुपमा मानिन्छन् । उनिहरु झण्डा बोकेर घरदैलो भन्दा व्यक्ति व्यक्तिलाई भित्र भित्रै भेटेर चुनाव जित्ने रणनितीमा रहेको देखिन्छ ।
शूरुका दिनमा व्यापक रुपमा प्रचार प्रसारमा लागेको एमाले पछिल्ला केही दिन यता सुस्ताएको देखिन्छ । पहिलेका केहि निर्णय स्थायी कमिटीले उल्ट्याएपछि बिग्रह जस्तै देखिएको एमालेमा रहेको असन्तोष साम्य हुन सकेको देखिदैन । जसले चुनावी अभियानका प्रभाव पार्न सक्ने खतरा देखिएको छ ।
एमालेका महासचिवद्धयको निर्वाचन क्षेत्र रहेको बुटवल र तिलोत्तमाको असन्तुष्टि साम्य पार्न दुवै नेता अहिले रुपन्देहीमा सक्रिय देखिएका छन् । तिलोत्तमाको निर्णयप्रति सुरुमा आक्रोशित देखिएका एमाले कार्यकर्ता टंक पाण्डेले मेयरमा बागी उठ्ने धम्की दिदै पत्रकार सम्मेलन गरेपनि उनी अहिले चुप लागी सकेका छन् ।
यसका साथै स्थायी कमिटी सदस्य छबिलाल बिश्वकर्माको निर्वाचन क्षेत्रको रुपमा रहेको देवदहमा उनकै दवावमा उम्मेदवार परिवर्तन गरिएपछि भित्र भित्र असन्तुष्टि देखिएको छ । देवदहमा राम्रो छबि बनाएका निलकण्ठ पौडेललाई फिर्ता गर्दा त्यस क्षेत्रका केही प्रभावशाली एमाले कार्यकर्ताहरु निष्कृय देखिएका छन् । कतिपयले उक्त असन्तुष्टि सामाजिक सञ्जालबाट व्यक्त गरिरहेको देखिन्छ ।
आन्तरीक बिवाद र खिचातानीले गर्दा सधै पार्टि सदस्य संख्या भन्दा कम मत पाएको सिद्धार्थ नगरमा भने एमाले अहिले सबैभन्दा बढी एकताबद्ध देखिएको छ । बिगतमा आआफ्नै कमजोरी र खुट्टा तानातानले हारिएको भन्दै एमाले कार्यकर्ताहरु यसपटक उक्त पराजयबाट पाठ सिकेको बताउन थालेका छन् ।
राप्रपा नेता दिपक बोहराको गृहनगर रहेको सिद्धार्थनगरमा एमाले गुटबन्दीको फाईदा लिएर उनले जित्दै आएका थिए । पछिल्लो पटकको स्थानीय निकाय निर्वाचनमा राप्रपा संग गठबन्धन गरेर उपमेयर हात पारेको एमाले २० बर्षपछि आफुले हात पार्ने गरी एमाले कार्यकर्ताहरु लागेको देखिन्छ । त्यस बेलाका मेयर राप्रपाका सागर प्रताप राणा र उपमेयर एमालेका हरी अधिकारी अहिले मेयरको प्रतिस्पर्धामा उत्रिएका छन् ।