इस्लामिक आतंककारी संगठन आइएसले इरानमा बुधबार गरेको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
राजधानी तेहरानस्थित इरानको संसद भवन र पूर्व सर्वोच्च नेता आयतोला खोमेनीको चिहान भएको स्थानमा एकैपटक उनीहरुले आक्रमण गरेका थिए।
संसद भवन सुरक्षाकर्मीले आक्रमणकारीलाई गोलि हानी मारेका छन् र उक्त क्षेत्रलाई पूर्णरुपले आफ्नो नियन्त्रणमा लिएका छन्।
त्यहाँ आतंककारीले सर्वसाधारणलाई नियन्त्रणमा लिएको समाचार पनि आएको थियो। त्यस्तै, खोमेनीको चिहान नजिक एक आत्मघाती विष्फोट गराउने अर्को आतंककारीको पनि सुरक्षा फौजको गोलिबाट निधन भएको छ।
इरानी अधिकारीका अनुसार आइसको तेश्रो आक्रमण विफल भएको छ। घटनामा ४ जना आतंककारीको मृत्यु भएको छ।
आइएसले उक्त आक्रमणको जिम्मेवारी लिएको छ। इरानभित्र आइएसले पहिलो पटक त्यस्तो आक्रमण गर्न सफल भएको हो। उसले आफ्नो वेबसाइटमा उक्त क्षेत्रमा आक्रमणका समयमा लिएको भिडियो पनि राखेको छ।
बन्दुकधारीले आक्रमणका लागि एके-४७ हतियार प्रयोग गरेका थिए। समाचारमाध्यमका अनुसार आक्रमणकारीहरु महिलाको भेषमा संसद भवन प्रवेश गरेका थिए जसमा ४ जनामध्ये १ भने महिला नै थिइन।
इरानभित्र आक्रमण गराउन यो वर्ष आइएसले निकै धेरै प्रोपागाण्डा गरेको थियो l केही महिनाअघि देखाइएको एक भिडियोमा आइएसले इरानका सर्वोच्च नेता आएतुला अली खामेनी र धार्मिक राज्यको निन्दा गरेको थिए।
सुनी धार्मिक सम्प्रदाय मान्ने आइएसले सिया राष्ट्र इरानलाई शत्रु मान्छ।