पाँचथर जिल्ला अस्पताल पूर्वी पहाडी जिल्लाको केन्द्रमा छ। यहाँ पाँचथर जिल्लासहित ताप्लेजुङ, इलाम र तेह्रथुमको पूर्वी आठराई क्षेत्रका स्थानीयहरु अस्पताललाई यस क्षेत्रकै मुख्य अस्पतालका रुपमा लिने गरेका छन् ।
विगतमा जिल्ला अस्पतालमा पुग्ने नागरिकको न्युनतम सेवा समेत लिन पाँउदैन थिए । तर अहिले भने अस्पतालले नै मुहार फेरेको छ । फोहोरमैला ब्यवस्थापनदेखि दैनिक बिरामी जाँचसम्मका सेवामा पछिल्लो केही समय सकारात्मक परिवर्तन देखिएको छ ।
विगत वर्षहरुवाटै उच्च स्तरको प्रसुति सेवा उपलव्ध गराउँदै आएको पाँचथर अस्पतालमा यतिखेर अस्पताल व्यवस्थापन समितिसहीत स्वास्थ्यकर्मी, कर्मचारीहरु समेत लागिपरेका छन् ।
केही समय अगाडि अस्पताल व्यवस्थापन समितिमा आएका फिदिमका युवा दिपक नेपालले आफुले विगत भन्दा धेरै कुराहरु परिवर्तन गर्न सफल भएको बताए। जिल्ला अस्पताल पाँचथर सहित देशभरका अस्पतालका लागि भौतिक सुधारमा उल्लेख्य परिवर्तन ल्याउने भन्दै स्वास्थ्य मन्त्रालयले ८४ करोड रकम बिनियोजन समेत गरेको छ। सोही रकम मध्ये ६० लाख रुपैया जिल्ला अस्पताल पाँचथरका लागि छुटिएको छ। सोही रकमको सही सदुपयोग रहेर अस्पतालमा देखिने गरिको परिवर्तन ल्याउने भन्दै ब्यवस्थापन समिति लागि परेको नेपालको भनाई छ ।
गएको ६ महिनाको अवधिमा जिल्ला अस्पताल पाँचथरमा देखिने गरिका केही परिवर्तन भएका छन्। अस्पताल सुधारका विषयमा आम नागरिकले भएका पछिल्ला परिवर्तनको प्रसंसा गर्ने गरेका छन्।
अस्पतालमा फार्मेसी सुरू
सरकारले सवै सरकारी तथा सामुदायीक अस्पतालहरुमा आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने नीति तय गरेपछि पाँचथर अस्पताल फार्मेसी सञ्चालन गर्नेमा पूर्वाञ्चलमा चौथो र देशमा ७० औं स्थानमा परेको छ ।
नेपाल सरकारले निःशुल्क रुपमा घोषणा गरेका ७० प्रकारका औषधिहरु बाहेक करिब एक सय प्रकारका औषधिहरु अब पाँचथर अस्पतालको फार्मेसीमा उपलव्ध हुने पाँचथर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. पवनकुमार शाहले बताए। बाहिरी औषधि पसलमा भन्दा अस्पतालबाट सञ्चालित फार्मेसीबाट औषधि खरिद गर्दा अधिकतम खुद्रा मुल्यमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
अस्पतालमा फार्मेसी नहुँदा सेवाग्राहीले महंगो मुल्यमा औषधि पसल तथा मेडिकलबाट औषधि खरिद गर्दै आएका थिए। अस्पतालले नै आफ्नै फार्मेसी सञ्चालनमा ल्याएपछि सर्वसाधारणले राहत महसुस गरेका छन्।
अस्पतालमा चार टेण्डर एकैसाथ आँउदै
अस्पतालको भौतिक ब्यवस्थापन सुधार गर्न एक साथ ४ काम हुने भएका छन्। बिरामी कुरुवाहरुका लागि बाहिरी परिसरमा आवश्यक बिश्राम स्थल, सेफ्टी ट्याकी सहित लुगा धुने ब्यवस्थीत ठाउँको निर्माण र चमेना गृह निर्माणका लागि टेण्डर प्रकृया अन्तिम चरणमा पुगेको अस्पताल ब्यवस्थापन समितिले जनाएको छ ।
स्वास्थय मन्त्रालयले भौतिक सुधारका लागि छुट्याएको ६० लाख रकम मध्येबाट काम गर्न लागिएको हो । त्यस बाहेक शव गृहको ब्यवस्थापनका लागि पनि काम भईरहेको छ । १५ शैयाको पाँचथर अस्प्ताललाई असारको अन्तिम सम्ममा ५० शैयाको अस्पताल भवन निर्माणका लागि प्रकृया अन्तिम चरणमा पुर्याईएको छ।
विगतमा पनि पाँचथर अस्पतालमा पवनजंग रायमाझिले सफल व्यवस्थापन सहित अस्पतालको मुहार फेर्न निकै ठूलो प्रयास गरेको साथै महिला तथा वालवालिकाको क्षेत्रमा कार्यरतर युनिसेफले अस्पतालको वृति विकासको लागि गरेको प्रयासले पनि जिल्ला अस्पतालको मुहार फेर्न सहयोग भएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेले बताए।