साउदी अरेबिया र उसको प्रभाव क्षेत्रमा रहेका छिमेकीले स्वतन्त्र विदेश नीति अंगिकार गर्ने कतारको हठविरुद्ध विगतमा समेत बारम्बार चेतावनी दिँदै आएका थिए। सोमबार भने उक्त चेतावनी यथार्थमा बदलियो, जब साउदीसहित मध्यपूर्वका ६ वटा देशले कतारसँगको कूटनीतिक सम्बन्ध एक्कासि अन्त्य गरे।
कतारले सायदै सोचेको थियो, आफूलाई दण्डित गर्ने योजनाअन्तर्गत छिमेकी देशहरु यो हदसम्म जालान्।
सन् २०१४ मा पनि साउदी र उसका छिमेकीले कतारबाट आफ्ना राजदूत फिर्ता बोलाएका थिए। तर, त्यो छोटो समयका लागि थियो। साउदीसँग द्विपक्षीय वार्तापछि अस्थायी रुपले नै किन नहोस्, समस्या समाधान भएको थियो।
यसपालि भने साउदी, बहराइन र युएईले एक्कासि कतारसँग कूटनीतिक सम्बन्ध अन्त्य मात्र गरेनन्, जल, जमिन र हवाई सम्पर्क पनि विच्छेद भएको घोषणा गरे। साउदीको नाकाबन्दीपछि स्थलमार्गले जोडिएको त्यताको व्यापारिक नाका अब बन्द भएको छ। यति मात्र होइन, आफ्नो देशमा रहेका कतारका नागरिकलाई पनि साउदीले फर्कन आदेश दिएको छ। साउदीका रक्षामन्त्री तथा सहायक उत्तराधिकारी मोहम्मद बिन सलमानले यमन विद्रोह दमन गर्न आफ्नो नेतृत्वमा खटिएको सैन्य गठबन्धनका एक हजार कतारी सेनालाई समेत फर्काइदिएका छन्।
यो नयाँ घटनाक्रमसँगै मध्यपूर्वमा भू-राजनीतिक अनिश्चय बढेको छ। वित्तीय बजारमा हलचल पैदा भएको छ। कतारमा मानिसहरु अत्तालिएका छन्। दैनिक उपभोग्य सामग्री किन्न पसलहरुमा घुइँचो लागेको छ।
कतार प्राकृतिक ग्यास निर्यात गर्ने संसारकै दोश्रो ठूलो राष्ट्र हो। २७ लाख मात्र जनसंख्या भएको यो सानो खाडी मुलुक समृद्ध छ। आफ्नो क्षेत्रमा छुट्टै पहिचान बनाउने र प्रभाव विस्तार गर्ने कतारको नीति छ। ऊसँग प्रसिद्ध वायुसेवा कतार एयरवेज छ। प्रसिद्ध टेलिभिजन च्यानल ‘अलजजिरा’ छ। अनि सन् २०२२ मा हुने फिफा विश्वकप उसैले आयोजना गर्दैछ। प्रसिद्ध फुटबल क्लब बार्सिलोनासमेत उसैको पैसाले चल्थ्यो। विश्वका नामुद बहुराष्ट्रिय निगम कतारमा छन्। पछिल्लो भूराजनीतिक घटनाले भने कतारमाथि नराम्ररी प्रहार गरेको छ।
कतारले अलकाइदा लगायत आतंककारी संगठनलाई सहयोग गरेका कारण छिमेकी राष्ट्रले कतारविरुद्ध पछिल्लो कदम उठाएको बताएका छन्। तर, कतार मात्र होइन, साउदी राज्य आफैं वा उसका नागरिकलाई समेत बारम्बार आतंकवादलाई सहयोग गरेको वा पैसा दिएको आरोप लाग्ने गरेको छ। त्यस्ता आरोपलाई साउदीले बारम्बार खण्डन र इन्कार गर्दै आएको छ।
वास्तवमा अहिले समस्याको जरो भनेको भूराजनीतिक स्वार्थ तथा राजनीतिमा इस्लाम धर्मको भूमिकाले उत्पन्न गराएको विवादमा केन्द्रित छ।
पश्चिमी खाडीमा रहेको कतारलाई साउदीको पकडमा रहेको क्षेत्रीय संस्था ‘गल्फ कोअपरेसन काउन्सिल’ को स्वार्थविपरित फरक नीति लिएको आरोप लाग्ने गरेको थियो। उक्त क्षेत्रीय संगठनमा रहेका सदस्य राष्ट्रमध्ये कतार, ओमन र कुवेतले साउदीको प्रतिद्वन्द्वी राष्ट्र इरानसँग सुमधुर सम्बन्ध स्थापना गरेका छन्। आणविक कार्यक्रमसमेत सञ्चालन गरिरहेको इरानलाई साउदी मध्यपूर्वमा एक्ल्याउन चाहन्छ। कतार-इरान सम्बन्ध बलियो भएको पनि ऊ देख्न चाहँदैन।
केही समयअघि साउदीले इरानप्रति लिएको शत्रुतापूर्ण सम्बन्धबारे कतारका अमिर अल थानीले आलोचना गरेको समाचार प्रसारण भएको थियो। कतारले ‘मुस्लिम ब्रदरहुड’ नाम गरेको अरबी संस्थालाई प्रश्रय दिन्छ। युएईले ‘मुस्लिम ब्रदरहुड’ लाई आतंककारी संस्था मान्छ र कतारको उक्त नीतिको विरोध गर्छ। त्यस कारण कतारको युएईसँग सम्बन्ध पनि राम्रो थिएन।
कतारले आफ्नो देशको लगानीमा 'अलजजिरा' नामक समाचार संस्था सञ्चालन गर्ने गरेको छ। अलजजिराले कतारको आन्तरिक राजनीति र प्रजातान्त्रीकरणका बारेमा त बोल्दैन, तर राजतन्त्र रहेका अन्य देश वा अरब देशका सरकारविरोधी आवाजलाई प्रसारण गर्नेगर्छ। कतारले अलजजिरामार्फत् अरब क्रान्ति र त्यसपछिका सशस्त्र विद्रोह फैलाउन सहयोग गर्यो भन्ने आरोप पनि छ।
निसन्देह भू-राजनीतिक रंगमञ्चमा कतार आफ्नो भूमिका बढाउन चाहन्छ। तर अझै पनि कतारको राजपरिवारले साउदी र छिमेकीसँग मुकाबिला चाहेको छैन। कतार धनी मुलुक हो तर शक्तिशाली होइन। साउदी र छिमेकीले कूटनीतिक सम्बन्ध विच्छेद गरिसक्दा कतारका विदेश मन्त्रीले केवल ‘खेद’ मात्र प्रकट गरेका छन्। विगतमा जस्तो उसले मुस्लिम ब्रदरहुडलाई पनि समर्थन गरेको थिएन। मुस्लिम ब्रदरहुडको प्यालेस्टिन शाखा ‘हमास’ का वरिष्ठ नेतालाई उसले देश निकाला पनि गर्यो। कतारमा निर्वासित साउदी सरकारविरोधी एक नेतालाई सुपुर्दगी पनि गरेकै थियो। कतारका अमिरले इरानलाई समर्थन गरे भन्ने समाचार पनि उसले खण्डन गर्यो। र, भन्यो, 'समाचार वेबसाइट ह्याक गरेर उक्त खबर कसैले फैलाइदियो।'
यति गर्दागर्दै पनि कतार एक्लिएको छ र त्यसको चाँडो समाधान हुने सम्भावना देखिँदैन। साउदीले पनि कतारसँग सम्बन्ध पुनर्स्थापनाका लागि प्रस्ट माग राखेको छैन। यस्तो अवस्थामा कतारले अन्य छिमेकी मुलुकबाट सहानुभूति र समर्थन पाउने सम्भावना कम छ। उल्टो कतारले पाएको दण्डलाई उनीहरुले स्वागत नै गर्दै छन्।
मुस्लिम ब्रदरहुडको समर्थनमा राष्ट्रपतिमा निर्वाचित मोहमद मर्सीलाई सन् २०१३ मा सैन्य कूमार्फत् अपदस्त गरिँदा अलजजिराले विरोध गरेको थियो। अहिले इजिप्टका नयाँ राष्ट्रपति र उनीनिकट सेनाका जर्नेल अलजजिरा र मुस्लिम ब्रदरहुड समर्थन गर्ने कतारसँग खुसी छैनन्। त्यसैले उसले साउदीको समर्थन गर्यो र कतारसँग कूटनीतिक सम्बन्ध तोड्यो। उता साउदी समर्थित यमन सरकार स्वत: कतार विरोधी हुने भयो। युएईको समर्थन रहेको लिबिया सरकारले पनि कतारविरोधी बाटो समात्यो।
विगतमा साउदीको दादागिरीबाट बच्न कतारले आफ्नो क्षेत्र बाहिरका देशको सहयोग लिएको थियो। सन् १९२० दशकमा बेलायतले आफ्नो प्रभावमा रहेको कतार लगायत तटीय क्षेत्रमा राज्य विस्तार गर्न साउदीलाई रोकेको थियो। पछिल्लो समय कतारले आफ्नो रक्षाका निम्ति इजरायल, इरान, टर्की र अमेरिकाको सहयोग लिएको छ। हालै राष्ट्रीय सुरक्षाका लागि उसले बनाएको गठबन्धनको अवस्था सही अवस्थामा छैन।
कतारले अमेरिकी सहयोग प्राप्त गर्नेमा पनि शंका छ। पछिल्लो समय डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकाले क्षेत्रीय सन्तुलनको भूमिका खेल्नेभन्दा साउदीले उठाएका कदमलाई थपडी मारेर समर्थन गर्छ भनेर कतार चिन्तित भएको छ। गत महिना ट्रम्पले आफ्नो विदेश भ्रमणको पहिलो गन्तव्य साउदी राजधानी रियादलाई बनाएका थिए। उनलाई साउदीले भव्य स्वागत गर्यो र कयौं हतियार खरिद सम्झौतामा हस्ताक्षरसमेत भयो।
विगतमा कतारको मित्र इजरायलले साउदीसँग सुरक्षा सम्बन्ध बलियो बनाउँदै लगेको छ। अमेरिकाको मध्यपूर्वमा सबैभन्दा ठूलो सैन्य अखडा कतारमा छ। साउदी सीमानजिकै रहेको उक्त अखडालाई साउदीले आफ्नो देशमा सम्भावित आक्रमणविरुद्ध पर्खाल मान्दै आएको छ। अहिले आएर भने कतारले अमेरिकी सहयोग प्राप्त गर्नेमा पनि शंका छ। पछिल्लो समय डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकाले क्षेत्रीय सन्तुलनको भूमिका खेल्नेभन्दा साउदीले उठाएका कदमलाई थपडी मारेर समर्थन गर्छ भनेर कतार चिन्तित भएको छ। गत महिना ट्रम्पले आफ्नो विदेश भ्रमणको पहिलो गन्तव्य साउदी राजधानी रियादलाई बनाएका थिए। उनलाई साउदीले भव्य स्वागत गर्यो र कयौं हतियार खरिद सम्झौतामा हस्ताक्षरसमेत भयो।
ट्रम्पका विदेश नीति सल्लाहकार र युएईका राजकुमार मोहमद बिन जाएदबीच निकट सम्बन्ध रहेको मानिन्छ। जाएदले लामो समयदेखि अमेरिकालाई कतारबाट आफ्नो सेना हटाउन माग गरिरहेका छन्। गत महिना ट्रम्पले खाडी मुलुक भ्रमण गर्दा उनले युएई र साउदीलाई दिएको महत्वका कारण पनि साउदीले कतारलाई पेलेको केही विश्लेषकको दाबी छ।
मुस्लिम ब्रदरहुडप्रति नरम अर्को राष्ट्र भनेको टर्की हो। कतारले टर्कीलाई सहयोग निम्ति गुहार्न सक्छ। तर, आन्तरिक समस्यमा परेका टर्कीका राष्ट्रपति एर्डोगन इच्छुक नहुन सक्छन्। त्यसको कारण साउदीसँगको सम्भावित टकराव हो।
यो स्थितिमा अन्तत: कतारका लागि मित्रराष्ट्र इरान हुनसक्छ। इरान र कतारको समुद्री क्षेत्रमा ९ हजार ७ सय वर्गकिलोमिटरमा फैलिएको प्राकृतिक ग्यास भण्डार छ, जसलाई उनीहरुले साझा मानेका छन्। करिब ४३ ट्रिलियन क्युबिक मिटरको उक्त क्षेत्र संसारको सबैभन्दा ठूलो ग्यास भण्डार हो। यही ग्यास भण्डारका कारण पनि विगतमा इरान र कतार नजिक भएका हुन्। इरान र कतारबीच सुरक्षा सन्धि पनि छ, जसले साउदीविरुद्ध कतारलाई सुरक्षा प्रत्याभूति दिएको छ।
मध्यपूर्वमा भू-राजनीतिक सन्तुलन बिग्रँदै जाँदा इरानले कतारलाई आवश्यक परे खाद्य सामग्री पठाइदिने वचन दिइसकेको छ। साउदीको कच्चा नीतिका कारण कतार इरानको प्रभाव क्षेत्रमा जाने सम्भावना बलियो हुँदैछ। यसले साउदी र सिया राज्य इरानबीच सशस्त्र मुकाबिलाको सम्भावना पनि बढाउने छ। त्यस्तो सम्भावना र अनिश्चयका कारण तेलको मूल्य पनि वृद्धि हुँदैछ।