पुरुष प्रधान समाजका धेरै ठाउँको नेतृत्व पुरुषले नै गरिरहेका छन् । राजनीतिमा त अझ बढी हाबी छ पुरुष नेतृत्व । हालै सम्पन्न स्थानीय चुनावको विवरण पल्टाएर हेर्ने हो भने पोखरा महानगरका ३३ वटा वडामध्ये ३ ठूला पार्टीले ६ वटा वडामा मात्र महिलालाई वडाध्यक्षको उम्मेदवार बनाएका थिए ।
ती ६ जनामध्ये वडा नं १ मा मात्र महिला नेतृत्व आउन सफल भयो । नेकपा एमालेले वडा नम्बर १ का शारदा पराजुलीलाई उम्मेदवार बनाउँदा कांग्रेसले शारदा गिरीलाई ८ उठाएको थियो । नेकपा माओवादी केन्द्रले भने ४ वटा वडामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । ९ मा यमुना गुरुङ, १७ मा मनुमाया खत्री, २९ मा चिजकुमारी सुनार र ३० मा संगीता पुन माओवादीबाट उम्मेदवार थिए । तर वडा नं १ मा पराजुलीले बाहेक अन्य कुनै पनि महिला उम्मेदवारले जित हाँसिल गर्न सकेनन् ।
विगतमा पनि वडाको विकासको काममा नेतृत्व लिएर होला पराजुलीलाई जनताले सजिलै पत्याए । आफूलाई सबैले पत्याएको हुनाले नै विजयी भएको सुनाइन् पराजुलीले । ‘सबैभन्दा पहिले पार्टीले विश्वास गरेर अघि बढ्न बाटो खोलिदियो अनि जनताले काम गर्छ भनेर विजयीको टीका लगाइदिए,’ उनले भने, ‘परिवारको साथ त छँदै थियो ।’
महिला भएकै हुनाले महिलाको क्षेत्रमा पनि उत्तिकै समानुपातिक ढंगले काम गर्ने विश्वास थियो स्थानीयको । हुन पनि पराजुलीले अध्यक्षको पदभार सम्हालेकै पहिलो दिन तीन निर्णयमध्ये सबैभन्दा महत्वका साथ गर्भवती महिलालाई पौष्टिक आहारका लागि सहयोग रकम दिने निर्णय पराजुलीले गरिन् । आफू पनि चार सन्तानकी आमा पराजुलीले महिलाहरुको सवालमा लिएको त्यो निर्णय अन्य वडाको भन्दा निकै पृथक रह्यो । पराजुलीको अध्यक्षतामा बसेको पहिलो बैठकले गर्भवती महिलालाई पौष्टिक आहारबापत १० महिनासम्म प्रतिमहिना ५ सय रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । विशेष गरी विपन्न परिवारलाई लक्ष्य गरेर यो निर्णय गरिएको पराजुलीले बताइन् । ‘यतिकै रकमले पुग्ने भन्ने होइन तर यसले थपथाप गर्न मद्दत पुग्छ,’ उनले भनिन्, ‘मद्दतमात्र होइन गर्भवतीलाई पौष्टिक आहार खुवाउनु पर्छ भन्ने एउटा सन्देश पनि हो यो।’
पराजुलीले पदभार ग्रहण गर्दाको कार्यक्रम पनि पोखरामा उत्तिकै चर्चाको विषय बन्यो । पदभार ग्रहण गर्दा स्थानीय र नेताहरु मात्र आएनन् विभिन्न धर्मगुरु शुभकामना दिन त्यहाँ पुगेका थिए । भीमकाली मन्दिरका गुरु शशिधर अधिकारी, गाईघाटका कृष्ण अधिकारी, सुखावती गुम्बा गाईघाटका लामा गुरु मनबहादुर गुरुङ, पादरी टेकबहादुर थापा र इमाम हाजी जमालले संयुक्त रुपमा पदाधिकारीलाई आशीर्वाद दिएका हुन् । यसरी सबै धर्मका गुरुहरु राखेर कुनै पनि वडामा पदभार गरिएको छैन ।
पराजुलीलाई जिताउन जसरी एमालेका कार्यकर्ता लागे त्यसैगरी परिवारको समेत उत्तिकै साथ रह्यो । शारदाका श्रीमान् प्राडा विश्वकल्याण पराजुली, देवर अधिवक्ता जनकल्याण पराजुली तथा सुकल्याण पराजुलीसमेत परिवारका सबैको राजनीतिक तथा सामाजिक पृष्ठभूमि राम्रो भएको हुनाले शारदालाई जित हात पार्न सजिलो भएको स्थानीय बताउँछन् । विजयको झण्डा फहराउन सबैको उत्तिकै हात रहेको पराजुलीले बताइन् । ‘सबै आआफ्नो ठाउँबाट लाग्नु भयो,’ उनले भनिन्, ‘परिवारको साथले आत्मविश्वास यसरी बढ्यो कि हार्छु भन्ने कहिल्यै नि सोचिनँ ।’ परिवार नै राजनीतिक पृष्ठभूमि भएको हुनाले पनि पराजुलीलाई चुनावमा होमिन र जित्न सजिलो भएको हो ।