उमेरले जाँगरलाई छेक्दो रहेनछ। नेपाली लोकलयका पुराणपात्र कुमार बस्नेतलाई पनि ढल्कदै गरेको पाको उमेरले गीत संगीतबाट अलग्याउन सकेको रहेनछ। सत्तहत्तर वर्षको पाको उमेरमा सिड्नीको चिसिदै गरेको मौसममा बस्नेतका ताता लोकभाकाले प्रशंसकहरुलाई जुरुक जुरक पारेको थियो।
‘तिम्रो बाउलाई सलाम छ, आमालाई नमस्ते..., आमा भन्दा छोरी तरूनी.... ,लप्सीको गेडा चुसेर.... जस्ता अजम्बरी गीतलाई जोशिलो मुद्रामा प्रस्तुत गरेका कुमार बस्नेतलाई अस्ट्रेलियाका लोकभाकाका पारखीले गर्विलो सम्मानसहित स्वागत गरेका थिए।
झापाली समाज अस्ट्रेलियाको आयोजनामा सम्पन्न सांगीतिक साँझमा बस्नेतले करिब एक दर्जन लोकभाका पस्केर पुराना दिनको सम्झना ताजा गराए।
चिटिक्क परेर स्टेजमा उत्रेका बस्नेतले उमेरको पर्वाह नगरी लोकभाकामा आफ्नो समपर्णलाई निकै जोशिलो मुद्रामा प्रस्तुत गरेका थिए। ६ दशक लामो अनुभव बोकेका बस्नेत सात समुन्द्रपार अस्ट्रेलियामा प्रवासी नेपालीहरुले दर्शाएको मायाप्रती निकै गौरन्वान्बित देखिन्थे।
मुलुक भित्र समपर्ण र त्यागको कुनै सम्मान र माया पाइन छाडिसक्यौ,अब बिदेशमा रहेका नेपालीहरुले बरू आफ्नो भाषा र भाकालाई माया गरेका कारण कलाकारले केही राहत पाएका छन्।
सुमधुर सांगीतिक साँझमा नायिका नीता ढुंगानाले आकर्षक नृत्य तथा सिड्नीका गायकहरु दिल तामाङ र गायिका सुजाता उपाध्यायले गीत संगीत प्रस्तुत गरेका थिए। कार्यक्रममा झापाली समाजले आफ्ना सहयोगी तथा प्रायोजकलाई समेत सम्मान गरेको समाजका सचिब रुपराज मैनालीले बताए।
समाजका अध्यक्ष दिपक खनाल, संरक्षक दिनेश पोखरेल र अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष भवानी ओलीले कार्यक्रममा समाजको गतिबीधीबारे प्रष्टाएका थिए।