निर्वाचन अधिकृतको कार्यालयले काठमाडौं महानगरपालिकाको कार्यापालिका निर्वाचनको तालिका प्रकाशित गरेको छ। महानगरपालिका सञ्चालनको कार्यकारी समिति कार्यापालिकामा थपिने ८ पदका लागि जेठ २६ गते शुक्रबार निर्वाचन हुने काठमाडौंका मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिए।
काठमाडौं महानगरपालिकाको कार्यापालिकामा जम्मा ४२ सदस्य रहनेछन्। जसमध्ये मेयर, उपमेयर र ३२ जना वडाध्यक्ष रहनेछन्। बाँकी ८ जना भने नगरसभाले निर्वाचित गर्नुपर्ने छ। गत वैशाख ३१मा भएको निर्वाचनबाट निर्वाचित नगरसभा सदस्य मध्येबाट यी ८ जना छानिने छन्। काठमाडौं महानगपालिकाको नगरसभामा १६२ जना निर्वाचित भएका छन्।
मेयर, उपमेयर, वडाअध्यक्ष र प्रत्येक वडाका ४-४ सदस्य नगरसभामा रहनेछन्। नगरसभाले आफूमध्येबाट ५ जना महिला र ३ जना दलित तथा अल्पसंख्यक निर्वाचित गर्ने छ। स्थानीय तह निर्वाचन ऐनले नगर कार्यपालिकामा ५ महिला र ३ दलित तथा अल्पसंख्यक तथा गाउँ कार्यपालिकामा ४ महिला तथा २ दलित तथा अल्पसंख्यक रहने व्यवस्था गरेको छ। उनीहरूलाई नगरसभाले आफूमध्येबाट निर्वाचित गर्नेछ।