फ्रान्सका निर्वाचित राष्ट्रपति इम्यनुएल माक्रों १६ वर्ष उमेरमा आफ्नो विद्यालयकी ३९ वर्षीया शिक्षिका ब्रिजिट ट्रोगनिउक्ससँग प्रेममा परे। त्यो समय ब्रिजिट विवाह गरेर तीन छोराछोरीकी आमा भइसकेकी थिइन्। अहिले ३९ वर्षीय माक्रों फ्रान्सका राष्ट्रपतिमा भएका छन् भने ६४ वर्षीया ब्रिजिट फ्रान्सकी प्रथम महिला।
त्यतिबेला आफ्नो छोराको प्रेम सम्बन्धबारे थाहा पाएपछि माक्रोंका आमाबाबुले कस्तो महशुस गरे होलान्?
आफ्नो किशोर छोराको उक्त प्रेमकथाले माक्रोंका आमाबाबुलाई ठूलै मनोवैज्ञानिक झट्का लागेको उनको प्रकाशित जीवनीमा उल्लेख छ।
माक्रोंको जीवनीअनुसार ब्रिजिट उत्तरी फ्रान्सको ‘ला प्रोभाइडेन्स’ नामको स्कुलमा शिक्षिका थिइन्। माक्रों त्यही स्कुलमा विद्यार्थी थिए।
लेखिका आने फुल्डाको ‘इम्यनुएल माक्रों: अ पर्फेक्ट यङ म्यान’ भन्ने पुस्तकमा माक्रोंको प्रेमकथालाई उनका बाबुआमाले कसरी लिए भन्नेबारे वर्णन गरिएको छ।
वास्तवमा माक्रोंका अभिभावकलाई आफ्नो छोरा ब्रिजिटकी छोरीसँग प्रेममा परेका थिए भन्ने लागेको थियो। परिवारनिकट एक जनाले जब माक्रों छोरीसँग होइन, आमासँग प्रेममा परेका छन् भन्ने तथ्य खोलिदिए, माक्रोंका बाबुआमालाई मनोवैज्ञानिक रुपले ठूलो झट्का लागेको किताबमा उल्लेख छ। त्यसपछि उनीहरुले किशोर छोरालाई पेरिसस्थित अर्को विद्यालयमा भर्ना गरेका थिए।
‘सुरुमा हामीलाई उनीहरुबीच प्रेम सम्बन्ध छ भन्नै विश्वासै लागेन,' माक्रोंकी आमा फ्रानकोइस नोग्यु-माक्रों भन्छिन्, 'हामीले तिमीहरुले राम्रो काम गर्दैछौ भनेर भन्नै सकेनौं।’
त्यो प्रेम सम्बन्ध क्षणिक नभई लामो समय चल्ने बुझेपछि मक्रोंकी आमाले ब्रिजिटलाई भनिन्, ‘तिमीले आफ्नो जीवन भोग्यौ, तर मेरो छोराको तिमीबाट सन्तान हुने छैन भन्ने तिमीलाई थाहा छ।’
माक्रोंका बाबु जिन-माइकल माक्रों पनि आफ्नो किशोर छोराको प्रेमकथामा विश्वासै नलागेको बताउँछन्। उनका अनुसार छोराको प्रेमबारे थाहा पाएपछि उनी आफू बसेको कुर्सीबाट झन्डै खसेका थिए। ‘हामीले निश्चय पनि उनीहरुलाई वाह क्या बात् भनेर प्रशंसा गर्न सकेनौं,’ उनी भन्छन्।
छोराको प्रेम कहानीले झट्का दिएका बाबुआमाले शिक्षिका ब्रिजिटलाई भेटे। उनीसँग १८ वर्ष नपुगेसम्म त्यस किसिमको सम्बन्ध नराख्न अनुरोध गरे।
जवाफमा ब्रिजिटले त्यस्तो प्रतिज्ञा गर्न आफू असमर्थ रहेको जानकारी दिइन्।
माक्रोंकी हजुरआमा मानेटले भने दुईबीचको सम्बन्ध र उनीहरुको भावनालाई सम्मान गरिन्।
‘मेरी आमाले आफ्ना छोराछोरीले त्यस्तो सम्बन्ध राखेको थाहा पाए इन्कार गर्ने थिइन् होला, तर नातिको प्रेम सम्बन्धमा उनी खुला र सहिष्णु भइन्,’ माक्रोंकी आमा सम्झन्छिन्।
माक्रोंको प्रेम सम्बन्धकै कारण उनलाई अर्कै विद्यालय भर्ना गरिदिएको आरोप भने उनीहरु खण्डन गर्छन्। उनीहरुका अनुसार विद्यालय स्तरको अन्तिम पढाइका लागि पेरिस जाने योजना पहिलेदेखि नै थियो।
दक्षिणी फ्रान्सको विद्यालयमा नाटक पढाउने ब्रिजेट त्यतिबेला आफ्ना विद्यार्थी माक्रोंको सामाजिक विषयवस्तु बुझ्ने प्रतिभा र सोच्ने शैलीबाट प्रभावित भएको बताउँछिन्। आफूले ‘ला प्रोभेन्स’ विद्यालयमा पढाउन सुरु गर्दा त्यहाँका सबै शिक्षकले माक्रोंका बारेमा राम्रो कुरा गरेको उनले सुनेकी थिइन्।
ब्रिजेट र माक्रोंले एउटा संयुक्त नाटक पनि लेखेका थिए। वास्तवमा उक्त नाटक लेख्ने क्रममा नै उनीहरु एकअर्कासँग निकट भएका थिए।
ब्रिजेटले आफ्ना एक जना साथीलाई भनेकी थिइन्, ‘माक्रोंसँग मिलेर नाटक लेखेको दिन नै मलाई महशुस भयो, म मोजार्टसँग काम गर्दैछु। नाटक लेख्नु उनीसँग निकट हुने बाहना पनि भयो। मलाई लाग्यो हामीले पहिलेदेखि नै एकअर्कालाई चिनेका थियौं।’
फ्रान्सकी प्रथम महिला ब्रिजिटले ‘पेरिस म्याच म्यागजिन’लाई भनेअनुसार आफ्नो रोमान्सप्रति प्रतिबद्ध माक्रोंले १७ वर्ष हुँदा नै विवाह गर्ने प्रतिज्ञा गरेका थिए। विद्यालय छाडेर पेरिस जाने बेफा पनि माक्रोंले ब्रिजेटलाई भनेका थिए, 'म तिमीलाई भेट्न पेरिसबाट फर्किन्छु र तिमीसँग विवाह गर्छु।'
‘तिमी मबाट मुक्त हुन सक्दैनौं। म फर्कन्छु र तिमीलाई नै विवाह गर्छु,’ उनले ब्रिजेटलाई भनेका थिए।
ब्रिजेट र माक्रोंको जोडी सन् २००७ मा विवाह बन्धनमा बाँधिएको हो। त्यतिबेला माक्रों २९ र ब्रिजेट ५४ वर्षकी थिइन्। विवाहपछि उनी तीन सन्तानका सौतेनी बाबु भएका थिए। विवाह भोजमा उनले ब्रिजेटका छोराछोरीलाई भनेका थिए, ‘हामीलाई स्वीकार गरेकोमा धन्यवाद। हामी त्यति सामान्य जोडी होइनौं।’
३९ वर्षीय माक्रों फ्रान्सका सबैभन्दा कान्छा राष्ट्रपति हुन्। जब उनी ब्रिजेटसँग प्रेममा परे, त्यो समय ब्रिजेटको उमेर पनि ३९ वर्ष नै थियो।
उनीहरुबीच उमेरको फरक छ भनेर मानिसले यति धेरै चर्चा गर्नु महिलाप्रति हेपाहा प्रवृत्ति भएको केही टिप्पणीकारको भनाइ छ। शक्तिशाली वृद्ध पुरुषले आफूभन्दा अन्त्यन्तै कान्छी महिलासँग विवाह गरेका प्रशस्त उदाहरण छन्। यसबारे सञ्चार माध्यम र मानिसले कमै चर्चा गर्छन्।
ब्रिजेटले प्रथम महिला भएपछि फ्रान्समा कस्तो भूमिका निर्वाह गर्ने हुन् भन्नेबारे अझै प्रस्ट छैन। भूतपूर्व शिक्षिकाका हैसियतले उनले शिक्षा सुधारमा भूमिका खेल्ने अपेक्षा भने गरिएको छ।