दक्ष कामदार सम्बन्धी चर्चीत ४५७ भिसा बन्द गर्ने निर्णयको ४८ घण्टा बित्दा नबित्दै अस्ट्रेलियन सरकारले विदेशीहरुलाई प्रदान गर्दै आएको नागरिकता सम्वन्धमा ब्यापक कड़ाईका साथै नीति परिवर्तन गरेको छ।
योग्यता पुगेका विदेशीलाई प्रदान गरिने नागरिकता नीतिमा गरिएको परिवर्तनबाट अब बन्ने नागरिकहरू अंग्रेजी भाषामा दक्ष र अष्ट्रेलियाली नियम, कानुन र यसका मूल्य मान्यताहरुसँग सहज रूपले घुलमिल हुने विश्वास अस्ट्रेलियन सरकारले लिएको छ।
परिवर्तित नियम अनुसार अब पीआर (स्थाई अनुमति) पाएको ४ वर्ष पछि मात्र नागरिकताको लागि आवेदन दिन सक्नेछन्। यसअघि पीआर पाएको एक वर्ष र अस्ट्रेलियामा बसोबास गरेको चार वर्ष पुगेकालाई सहजै नागरिकता प्रदान गर्थ्यो।
त्यसै गरी अब सरकारले निर्धारण गरेको अंग्रेजी परीक्षा पास गरेर नागरिकताको विशेष परीक्षा समेत पास गर्नुपर्नेछ । यस्ता परीक्षामा एक व्यक्ति कम्तिमा ३ पटक मात्र सामेल हुन पाउने प्रावधान पनि परिवर्तित नियमले गरेको छ।
तीन पटक फ़ेल भएमा केही वर्षका लागि नागरिकता आवेदन दिन अयोग्य हुन छ। अस्ट्रेलियामा बालबालिका र महिलासम्वन्धी दुर्ब्यबहार गर्नेहरूका लागि नागरिकताको आवेदनमा कड़ाई समेत गरिने भएको छ। ‘यो अष्ट्रेलियन सरकारले बिदेसीहरुलाई फिल्टर गर्नका लागि ल्याएको नयाँ नीति मात्र हो’, अध्यागमन क्षेत्रमा विज्ञ डा. शमसेरसिंह थापाले सेतोपाटीसँग भने,‘यो नियमले मुख्य गरेर शरणार्थीहरुलाई मुख्य असर गर्नेछ। अहिले अन्तर्राष्ट्रियस्तरमा देखिइरहेको राष्ट्रवादी नीतिको पछिल्लो नक्कल पनि हो।’