महाभारत युद्धमा अर्जुनको ज्यान जोगाउन श्रीकृष्णले दिउँसै रात पारेको कथा हामीले सुन्दै आएका छौं।
आज वैज्ञानिकहरू यस्तै खालको एउटा ऐतिहासिक अभियानमा लागेका छन्। उनीहरू कृत्रिम सूर्यग्रहण सिर्जना गर्दै छन्।
हो, तपाईंहरूले ठिक पढ्नुभो — कृत्रिम सूर्यग्रहण।
युरोपियन स्पेस एजेन्सी (इएसए) को यो अभियानका लागि अहिले दुइटा उपग्रह अन्तरिक्षको ऐेतिहासिक यात्रामा निस्केका छन्। यो यात्राको लक्ष्य नै कृत्रिम सूर्यग्रहण सिर्जना गरेर सौर्य वायुमण्डलको बाहिरी सतहको थप अध्ययन गर्नु हो।
डिसेम्बर ५, अर्थात् मंसिर २० गते।
बिहीबारको दिन।
समय — साँझ ४ बजेर २० मिनेट।
भारतको आन्ध्र प्रदेशमा रहेको अन्तरिक्ष अनुसन्धान संगठनका वैज्ञानिकहरूले दुइटा उपग्रह अन्तरिक्षमा पठाए। यसलाई 'प्रोबा-३ मिसन' नाम दिइएको छ।
अन्तरिक्षमा पठाइएका दुई उपग्रहमध्ये एउटाको नाम ओकल्टर स्पेसक्राफ्ट हो। अनि अर्को, कोरोनाग्राफ स्पेसक्राफ्ट।
ओकल्टर स्पेसक्राफ्टको तौल २४० किलोग्राम छ। कोरोनाग्राफ स्पेसक्राफ्ट त अझै गह्रुंगो छ। यसको तौल ३१० किलोग्राम छ।
अब तपाईंहरूलाई लाग्यो होला, यी दुई उपग्रहले कसरी नक्कली सूर्यग्रहण सिर्जना गर्छन्?
यी उपग्रहले अब पृथ्वीलाई फनफनी घुम्न थाल्ने छन्। पृथ्वी र उपग्रहहरूबीचको दुरी कम्तीमा ६०० किलोमिटरदेखि बढीमा ६० हजार किलोमिटरसम्म हुनेछ।
पृथ्वीबाट सबभन्दा टाढाको विन्दुमा गुरूत्वाकर्षण शक्ति सबभन्दा कमजोर हुन्छ। गुरूत्वाकर्षण कमजोर भएको त्यही विन्दुबाट ओकल्टर स्पेसक्राफ्टले सूर्यलाई पूरै छेक्छ र कृत्रिम सूर्यग्रहण ल्याउँछ। यो ग्रहण पृथ्वीबाट भने देखिने छैन। अन्तरिक्ष वैज्ञानिकहरूको अनुसन्धानका लागि मात्र हो।
ग्रहण लाग्दा कोरोनाग्राफ उपग्रह छायामा परेको हुन्छ। छायामा परेको कोरोनाग्राफले सौर्य वायुमण्डलको सबभन्दा बाहिरी सतह मापन गर्नेछ।
त्यसले सौर्य वायुमण्डलको बाहिरी सतहका तस्बिरहरू खिच्नेछ। यी तस्बिर र तथ्यांकबाट वैज्ञानिकहरूले सौर्य वायुमण्डलबारे राम्रोसँग बुझ्न सक्ने छन्।
यो अभियानका लागि यी दुई उपग्रह करिब १५० मिटर दुरीमा निरन्तर उड्ने छन्। यिनीहरू बीचको दुरी १ मिलिमिटर अर्थात् मानिसको नङको मोटाइभन्दा धेरै तलमाथि हुने छैन। यसरी निश्चित दुरी कायम गर्दै दुइटा उपग्रह उडाउन लागिएको पहिलोपटक हो।
यहाँ प्रश्न उठ्छ — कृत्रिम सूर्यग्रहण सिर्जना गर्दै सौर्य वायुमण्डलको अध्ययन किन गर्नुपर्यो? यो अभियानको महत्त्व के हो?
यसका लागि हामीले सूर्यग्रहण कसरी हुन्छ, त्यो बुझ्नुपर्छ।
चन्द्रमा जब सूर्य र पृथ्वीको बीचमा आउँछ, तब त्यसले सूर्यको प्रकाशलाई पृथ्वीसम्म आइपुग्नबाट आंशिक रूपमा छेक्छ। त्यसलाई खण्डग्रास सूर्यग्रहण भनिन्छ। जब सूर्य, चन्द्रमा र पृथ्वी एउटा सिधा रेखामा हुन्छन्, त्यस्तो बेला बीचमा रहेको चन्द्रमाले सूर्यलाई पूरै छेक्छ। त्यसलाई पूर्ण सूर्यग्रहण भनिन्छ।
पूर्ण सूर्यग्रहण हुँदा चन्द्रमा वरिपरि देखिने उज्यालो भाग नै सौर्य वायुमण्डलको बाहिरी सतह हो।
पूर्ण सूर्यग्रहण प्राय: प्रत्येक १८ महिनामा एकचोटि हुन्छ। यस्तो ग्रहण पृथ्वीको कुनै सानो भागबाट मात्र हेर्न सकिन्छ। कुनै कुनै ठाउँबाट त एकचोटि पूर्ण सूर्यग्रहण देखिएपछि फेरि ४०० वर्षसम्म नदेखिन सक्छ।
कहिलेकाहीँ बादलले पनि पूर्ण सूर्यग्रहणलाई ढाक्न सक्छ। मौसम सफा भएर पूर्ण सूर्यग्रहण हेर्न मिल्यो भने पनि त्यसको अवधि केही मिनेट मात्र हुन्छ। त्यसैले वैज्ञानिकहरूले सौर्य वायुमण्डलको अध्ययन गर्न पर्याप्त समय र अवसर पाउँदैनन्।
अहिले अन्तरिक्षमा पठाइएका दुई उपग्रहले वैज्ञानिकहरूलाई यो अध्ययन गर्न यथेष्ट समय दिनेछ। किनभने, यी दुई उपग्रहले प्रत्येक २० घन्टामा पृथ्वीको एक परिक्रमा गर्दा ६ घन्टा लामो कृत्रिम सूर्यग्रहण सिर्जना गर्न सक्छ।
यी उपग्रहले आवश्यकताअनुसार प्रत्येक साता कम्तीमा दुईचोटि कृत्रिम सूर्यग्रहण ल्याउन सक्छन्। यो भनेको दुई वर्षभित्र कुल १००० घन्टाभन्दा बढी हो।
अब कुरा गरौं, यो अभियानबाट के हासिल हुन्छ?
सौर्य वायुमण्डलको बाहिरी सतह सूर्यभन्दा अत्यधिक तातो हुन्छ। सूर्यको सतहको तापक्रम ५ हजार ५ सय डिग्री सेल्सियस छ। तर यसको वायुमण्डलको बाहिरी सतहको तापक्रम १० लाखदेखि ३० लाख डिग्री सेल्सियससम्म हुन सक्छ।
यस्तो किन हुन्छ त भन्ने प्रश्नको सही उत्तर वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाउन सकेका छैनन्।
यी उपग्रहले पठाउने तस्बिर र तथ्यांकले यो रहस्य बुझ्न मद्दत गर्ने वैज्ञानिकहरूले बताएका छन्। सूर्यमा हुने विभिन्न गतिविधि र त्यसले पृथ्वीमा पर्ने असरको अध्ययन गर्न पनि यो अभियानलाई महत्त्वपूर्ण मानिएको छ।
यसबाट सौर्य गतिविधिहरूको अझै राम्रो पूर्वानुमान गर्न सकिने वैज्ञानिकहरू विश्वास गर्छन्।
यति मात्र होइन, पछिल्लो समय विश्वलाई नै चिन्तित बनाएको जलवायु संकटबारे थप बुझ्न यसले मद्दत गर्नेछ। सौर्यमण्डलमा धेरै टाढा रहेका ग्रहहरूका बारेमा अध्ययन गर्न पनि सजिलो हुन्छ।
यो अन्तरिक्ष अभियानको कुल लागत बीस करोड युरो अर्थात् झन्डै २९ अर्ब रूपैयाँ रहेको छ। सन् २०२५ को मार्चसम्म यी उपग्रहले पहिलो खेपका तस्बिरहरू पठाउने अपेक्षा गरिएको छ।
यो अभियान दुई वर्ष सञ्चालन हुनेछ। त्यसपछि यी उपग्रह बिस्तारै पृथ्वीतर्फ झर्नेछन्। र, सम्भवत: पाँच वर्षभित्र वायुमण्डलमा जलेर नष्ट हुनेछन्।
***