सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको भैरवकुण्ड सहजै घुम्न मिल्ने नयाँ गन्तव्यको रूपमा परिचित हुँदै गएको छ।
भैरवकुण्ड हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वासका कुण्ड भएको स्थानीय पेम्बा शेर्पाले बताए।
'कुण्डहरूको पनि आमा अर्थात् पाँच पोखरी र गोसाईकुण्डभन्दा ठूलो भैरव कुण्ड रहेको जनविश्वास छ,' उनले भने, 'त्यसैले शेर्पा समुदायले भैरवकुण्डलाई आमा छयूमेनका रूपमा पूजा गर्छन्।'
यस्तै भैरव कुण्डमा भगवान् शिव पार्वतीको वासस्थान रहेको किंवदन्ती समेत छ।
महादेवको अग्ररूप भैरव सम्हारकर्ताको रूपमा मानिन्छ। भगवान् शिवको क्रिडास्थलको रूपमा भैरवकुण्डलाई लिइन्छ भने जनैपूर्णिमाका दिन हजारौं भक्तजनको उपस्थितिमा भैरव कुण्डमा ठूलो मेला लाग्दै आइरहेको उनले बताए।
समुन्द्री सतहबाट ४ हजार २५० मिटर उचाइमा रहेको भैरवकुण्ड ‘फुर्वी घ्याचु भञ्ज्याङग’ को फेदीमा अवस्थित छ।
भैरव कुण्ड जाँदा बाटामा ‘सम्मुख जुगल हिमशृङ्खला' को मनोरम दृश्य अवलोकन गर्न पाइन्छ।
प्राकृतिक सुन्दरताले भरिएको भैरव कुण्ड काठमाडौं उपत्यकाबाट तीन दिनमै घुमेर फर्किन सकिन्छ। आफ्नै सवारी साधन हुनेहरू त दुई दिनमै समेत घुमेर फर्किने गरेको शेर्पाले बताए।
पछिल्लो समय नयाँ पर्यटकीय गतव्यको रूपमा विकास भइरहेको भैरवकुण्ड जान व्यवस्थित ढुंगा छापेर बाटाहरू बनाइएका छन्। बीच बाटामा आराम गर्नका लागि पाटीहरू समेत बनाइएका छन्।
भैरवकुण्ड जान काठमाडौंस्थित जडिबुटी बसपार्कबाट दिनहुँ बगामसम्म जाने लोकल गाडि लाग्ने गर्छ। बगाममा खान बस्न होटलहरूको सुविधा छ।
भोलिपल्ट बिहानै उठेर ६-७ घण्टा हाइकिङ गरेर भैरवकुण्ड पुग्न सकिन्छ। त्यहाँ केहीबेर बसेर दृश्य अवलोकन गरी सोही दिन बगाम फर्किएर तेस्रो दिन काठमाडौं फर्किन सकिन्छ।
निजी सवारी साधन लिएर जानेहरू भने पहिलो दिन नै चोकरमोकर गएर बस्न सक्छन्। त्यहाँ सीमित होटलहरू भएको सिजनमा खान बस्ने सुविधा अभाव हुन सक्छ। यदी चोकर मोकरमै गएर बस्ने योजना छ भने फोन गरेर जाँदा उपयुक्त हुन्छ। दोस्रो दिन दुई घन्टा हाइकिङ गरेर भैरवकुण्ड पुगेर सोही दिन आरामले काठमाडौं फर्किन पनि सकिन्छ।
भर्खरै चर्चामा आइरहेको भैरवकुण्ड साँखुबाट घुम्नका लागि आशिष मगर ७ जना साथीसहित भैरवकुण्ड पुगेका थिए। काठमाडौंबाट छोटो समयसमै राम्रो घुम्ने ठाउँ पाउँदा एकदमै हर्ष लागेको उनले बताए।
'पहिलो पटक ट्रेकिङ आएको एकदमै राम्रो ठाउँ रहेछ,' उनले भने, 'छोटो समयमा नै यस्तो राम्रो ठाउँ देख्न पाइएला भन्ने सोचेको थिएन। त्यसमाथि हामी कुण्डमा भइरहेको बेला नै हिउँ पर्यो। हिउँ पर्दा र नपर्दाको दुवै दृश्य हेर्न पायौं एकदमै खुसी लागिरहेको छ।'
तर चोकर मोकरसम्मै सवारी साधन लग्न दिएकोमा भने उनी गुनासो पोख्छन्।
'हामीलाई आउन सहज भयो तर पर्यटकीय स्थलको रूपमा विकास गर्ने हो भने यहाँसम्म सवारीसाधन ल्याउन दिन हुँदैन। बरू बीचमा बीचमा खाने बस्ने सुविधाको व्यवस्थापन गर्यो भने राम्रो हुन्छ। अहिले जतासुकै पनि मोटरबाटो पुर्याएर नराम्रो गरिएको छ। सबै ठाउँमा मोटर बाटो पुर्याउने हो भने आगन्तुकहरूको बसाईं एकदमै छोटो समय हुन्छ, यसले व्यवसायमा पनि असर गर्छ।'
यस्तै भैरवकुण्ड पुगेका सरिता तामाङको अनुभव पनि उस्तै छ। बीचबीचमा फोहोरहरू जताततै फालेको देख्दा मन दुख्ने उनी बताउँछिन्।
'कुनै पनि नयाँ घुम्ने ठाउँले चर्चा पाएपछि त्यहाँ एकदमै छिटो फोहोर भएको हुन्छ,' उनले भनिन्, 'यसरी चर्चा बटुल्नासाथ फोहोर भएको देख्दा मन दुख्छ। घुम्न जाने साथीहरूले पनि आफ्नो फोहोर आफैंले बोकेर सम्बन्धित ठाउँमा मात्रै फाल्ने बानी बसाल्नुपर्छ। यसमा यहाँका स्थानीयहरूले ध्यान दिनुपर्छ।'
हेर्नुहोस् भिडिओः