यो कथा त्यो ठाउँको हो, जहाँ कथाहरू सजीव हुन्छन्।
आज काठमाडौंका हलमा फिल्म हेर्दा यस्तो लाग्छ, यी हलहरू सधैं यस्तै सुविधायुक्त थिए।
थिएनन्।
हामीलाई न्यून गुणस्तरको प्रोजेक्सन, कमसल अडिओ र सिनेमा हलको अस्तव्यस्त अवस्थाबाट मुक्ति दियो 'क्युएफएक्स' ले, आजभन्दा २५ वर्षअघि।
यो त्यही कम्पनीको निर्माण र उदयको कथा हो।
यो कम्पनीको निर्माण तीन जनाले मिलेर गरेका हुन् — भाष्कर ढुंगाना, नकिम उद्दिन र राजेशसिद्धि।
यी तीन जनाको स्वभावमा दुइटा कुरा साझा थियो — उनीहरू कुनै पनि अफिसमा जागिर खाएर टिक्न सक्ने मान्छे थिएनन्। र, तीनै जनाको सपना ठूलो थियो।
कथाको सुरूआत अमेरिकाको मिनियापोलिसबाट हुन्छ, जहाँ भाष्कर र राजेशसिद्धिको भेट भयो। उनीहरू घनिष्ठ मित्र भए। दुवैमा नेपाल फर्केर केही नयाँ काम गर्ने हुटहुटी थियो।
त्यही हुटहुटी बोकेर उनीहरू लगभग सँगसँगै नेपाल फर्के।
सुरूमा सूचना प्रविधि लगायत केही क्षेत्रमा हात हाले। त्यसले उनीहरूको दोस्ती गहिरो त बनायो, तर काममा खासै ठूलो सफलता दिएन।
त्यही क्रममा उनीहरू दरबारमार्गमा एउटा सपिङ मल खोल्ने योजनामा लागे।
त्यति बेला राजपरिवारका सदस्यको एउटा खाली जग्गा उनीहरूले भेटेका थिए। त्यसैलाई भाडामा लिएर सपिङ मल बनाउने योजना थियो। त्यस निम्ति आर्किटेक्ट कम्पनीसँग कुराकानी पनि गरे। कम्पनीले अत्याधुनिक सपिङ मलको डिजाइन तयार पारिदियो।
तर जब जग्गा भाडामा लिने कुरा आयो, उनीहरूले सोचेजस्तो भएन।
'खासमा त्यो जग्गा भाडामा दिने वा बेच्ने उनीहरूको कुनै मनसाय नै रहेनछ,' भाष्करले भने, 'उनीहरूले हुन्छ भनेका भए पनि हामीसँग जग्गा भाडामा लिने पैसा थिएन।'
'गोजीमा एक पैसा नभए पनि हामी सपना ठूलो देख्थ्यौं। हाम्रो आइडिया पनि ठूलै हुन्थ्यो,' भाष्करले हाँस्दै भने।
दरबारमार्गमा सपिङ मल खोल्ने तयारी साकार नभए पनि उनीहरूको सपना मरेको थिएन। केही नयाँ गर्ने हुटहुटी थामिएको थिएन।
त्यो सपना र हुटहुटीले फेरि उफान मच्चायो, जब काठमाडौंमा रिलिज भयो अस्कर मनोनीत फिल्म — क्याराभान।
त्यो फिल्म जयनेपाल हलमा रिलिज भएको थियो। त्यति बेला जयनेपालको अवस्था एकदमै रूग्ण थियो। उडुस, उपियाँ लाग्ने थोत्रा सिट थिए। फिल्म हेरिरहँदा शौचालयको दुर्गन्ध नाकमा ठोक्किन आइपुग्थ्यो। त्यसमाथि सिनेमा हलको प्रोजेक्सन र साउन्ड सिस्टम दुवै अत्यन्तै खराब थिए।
अमेरिकाका सुविधाजनक थिएटरमा फिल्म हेरेर आएका भाष्कर र राजेशसिद्धिलाई जयनेपाल हलको अवस्थाले एकदमै भावुक बनायो।
उनीहरू हल भाडामा लिएर पुनर्निर्माण गर्न सकिन्छ कि भन्ने योजनामा लागे। उनीहरूले जयनेपालका प्रबन्धकलाई सोधे, 'यो हल लिजमा पाइन्छ?'
ती प्रबन्धकले हल मालिकलाई भेटेर कुरा गर्नू भने।
हल मालिकसँग कुरा गर्दा सकारात्मक सुनिए।
'खासमा जयनेपालका मालिकले हामीलाई हल भाडामा दिनुको कारण रहेछ,' भाष्करले भने, 'हामीले हल पुनर्निर्माण गरेर टिकट दर १७५ रूपैयाँ राख्ने भनेका थियौं। यस्तो योजना सुनेर हलवालालाई लागेछ — यो दरमा त हल चल्नै सक्दैन, यिनीहरू केही समयपछि आफै बाहिरिनेछन् र एउटा राम्रो हल हामीले चलाउन पाउँछौं।'
तर उनीहरू छाड्ने मनसायले यो व्यवसायमा छिर्न लागेका थिएनन्।
हलको कुरा मिलेपछि भाष्कर र राजेशसिद्धि नकिमकहाँ गए र उनलाई पनि योजनामा साझेदार बनाए।
करिब एक करोड रूपैयाँमा पुनर्निर्माण गर्ने भनेर उनीहरूले जयनेपाल हलको काम सुरू गरे। निर्माण पूरा हुँदासम्म लागत तीन करोड पुग्यो।
उनीहरूले सुरूमा हलिउड फिल्म मात्र देखाउने उद्देश्यले जयनेपाल हल खोलेका थिए। सुरूकै दिनमा के बुझे भने काठमाडौंमा हलिउड फिल्म मात्र प्रदर्शन गरेर हल चलाउन सकिँदैन।
नयाँ स्वरूपमा सुरू भएको जयनेपाल हलले काठमाडौंको फिल्म प्रदर्शनमा क्रान्ति नै ल्यायो। सुविधाजनक हलमा बसेर गुणस्तरीय प्रोजेक्सन र गुणस्तरीय साउन्ड सिस्टममा फिल्म हेर्नुको मजा के हुँदो रहेछ भन्ने दर्शकहरूले बल्ल थाहा पाए।
कल्पनाशील व्यवसायीहरूको सपना असीमित हुन्छ। जो जोखिम मोल्न डराउँदैन, उसका लागि व्यवसाय विस्तारको कुनै सीमा हुँदैन।
भाष्कर, नकिम र राजेशसिद्धिको सपना पनि असीमित थियो। उनीहरू जयनेपाल हलमै रोकिएनन्।
उनीहरूले त्यसपछि कुमारी हल भाडामा लिए। सिभिल मलमा पनि थिएटर खोले।
यति मात्र होइन, यी सबै हललाई ब्रान्डिङ गरेर 'क्युएफएक्स' को रूप दिए।
आज यिनै तीन जनाको समूहले ललितपुरमा लबिम मल सञ्चालन गरिरहेको छ। र, देशका विभिन्न ठाउँमा सिनेमा हल चलाइरहेको छ।
सेतोपाटीको यो भिडिओ स्टोरीमा भाष्कर ढुंगानाले 'क्युएफएक्स' ब्रान्ड निर्माणसँग जोडिएको कथा वर्णन गरेका छन्। जुन सपना उनीहरूले अमेरिकामा देखेका थिए, त्यसलाई कसरी पूरा गरे र त्यस क्रममा के–कस्ता चुनौती आए; ती सबै वृत्तान्त उनले यो भिडिओमा सुनाएका छन्।
यसबीच एउटा आरोप पनि लाग्यो — उनीहरू हिन्दी र अंग्रेजी फिल्म मात्र प्रवर्द्धन गर्छन्, नेपाली फिल्मलाई वास्ता गर्दैनन्। यो आरोपको जबाफ पनि भाष्करले दिएका छन्।
हेर्नुहोस्, 'क्युएफएक्स' ब्रान्ड निर्माणको भिडिओ कथा —