राप्रपाको अध्यक्ष पदमा कमल थापाले मनोनयन दर्ता गरेका छन्।
भृकुटीमण्डपमा जारी महाधिवेशनमा आज उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्।
थापा पक्षले उपाध्यक्ष र महामन्त्री पदमा पनि उम्मेदवारी दर्ता गराएको छ।
उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै थापाले अब कहिल्यै पार्टी नफुट्ने दाबी गरेका थिए।
मन, बचन र कर्मले आफूसहित अध्यक्षद्वय पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी पार्टी एकताको पक्षमा लागेको पनि उनले बताएका थिए।
‘राप्रपा कहिल्यै फुट्दैन ढुक्क भए हुन्छ,’ उनले भने। उनले आफूलाई मतदाताले नेतृत्वमा स्थापित गर्ने विश्वाससमेत राखेको बताए।
थापाले विक्रम पाण्डेसँग सल्लाह गरेरै आफूहरूले टिममा राखेको बताए। राप्रपा महामन्त्रीमा पाण्डेलाई थापा र लिङ्देन दुबै पक्षले नाम राखेको छ।