राप्रपा महाधिवेशनमा पूर्वमन्त्री विक्रम पाण्डेलाई कमल थापा र राजेन्द्र लिङ्देन दुबै समूहले आफ्नो प्यानलमा राखेका छन्।
तर, पाण्डे आफू भने कुन पक्षको आधिकारिक उम्मेदवार हो भन्नेबारे खुलेका छैनन्।
राप्रपामा चार उपाध्यक्ष रहने व्यवस्था छ। पाण्डेलाई लिङ्देन पक्षले सुरूमा आफ्नो प्यानलमा राखेको थियो।
बिहीबार मध्यराति थापा समूहले आफ्नो प्यानल घोषणा गर्दै पाण्डेलाई समेट्यो। थापा-लिङ्देन दुबै पक्षले अहिलेसम्म पाण्डेलाई टिममा राखेका छन्।
‘उहाँ हाम्रो टिममा हो, उतापट्टी सल्लाह नै नगरी राखे भन्ने छ,’ थापा पक्षका नेता राजाराम बर्तौला भन्छन्।
तर, लिङ्देन पक्षका नेता मोहन श्रेष्ठले पाण्डे यताको प्यानलमा रहेको भन्दै घोषणापछि जानकारी दिएका थिए।
प्रचार विभागको नेतृत्व सम्हालेका श्रेष्ठ पहिले थापापट्टी नै थिए। महाधिवेशनको मुखमा उनी लिङ्देनतिर खुलेका छन्।
उनी आफैंले आफू कुन समूहमा हो भन्नेबारे नखुलाएका कारण उम्मेदवारी दर्ताको समयसम्म अन्योल छ।