राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारी एकता महाधिवेशनमा केन्द्रीय सदस्य पदमा राप्रपा अध्यक्ष कमल थापाकी छोरी र उनका भतिजा उम्मेदवार बनेका छन्।
थापाकी छोरी प्रतिष्ठा र भतिजा अभिषेक थापा केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका हुन्।
अध्यक्षमा उम्मेदवारी दिएका कमल थापाको प्यानलबाट प्रतिष्ठा र अभिषेक उम्मेदवार बनेका हुन्।
थापाकी छोरी प्रतिष्ठा महिलातर्फ केन्द्रीय सदस्य र अभिषेक खुलातर्फ केन्द्रीय सदस्य उम्मेदवार उठेका हुन्।
अभिषेक कमल थापाका भाइ गणेश थापाका छोरा हुन्। राप्रपाको बुधबारदेखि जारी महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ।
प्रतिष्ठा २०६३ सालमा राप्रपा नेपालबाट राजनीति सुरू गरेकी थिइन्। उनी अहिले काठमाडौं ५ (क) बाट महाधिवेशन प्रतिनिधि बनेकी हुन्।
अभिषेकले २०६३ सालदेखि राप्रपाको विद्यार्थी संगठन राजनीति थालेका थिए। उनी हाल राप्रपाको युवक संगठनमा सचिव छन्।
उनी मकवानपुरबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए।
राप्रपा महाधिवेशनमा अहिलेसम्म अध्यक्ष कमल थापाले पुन: अध्यक्षका लागि र नेता राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
लिङ्देन पक्षले अध्यक्षसहित उपाध्यक्ष र महामन्त्रीमा उम्मेदवार टुंग्याएको छ। तर, थापा पक्षले अध्यक्षबाहेकका उम्मेदवार टुंगो लगाएको छैन।