राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ४३ सय बढी महाधिवेशन प्रतिनिधि तीन दिनसम्म काठमाडौंमै रहने भएका छन्।
आइतबार उद्घाटन सत्र सकिएको छ। बन्दसत्र सकिएपछि बिहीबार दिनभर निर्वाचनको मनोनयन, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम छ।
त्यसपछि शुक्रबार मात्रै मतदान हुने भएको छ। यो अवधिसम्म महाधिवेशन प्रतिनिधिहरू काठमाडौंमै रहन्छन्।
उनीहरूका लागि होटल र गेष्ट हाउसको व्यवस्था मिलाइएको छ।
नेता राजाराम बर्तौलाका अनुसार सबै प्रदेश अध्यक्षहरूलाई आफ्ना प्रतिनिधिलाई बस्ने व्यवस्था मिलाउने जिम्मेवारी छ।
खाना र खाजाको लागि भने भृकुटीमण्डपमै क्याटरिङको व्यवस्था मिलाइएको छ।
यसपालि राप्रपाले सबै स्थानीय तह, प्रदेश प्रतिनिधि, जिल्ला अध्यक्षहरू, प्रदेश अध्यक्षहरूलाई महाधिवेशन प्रतिनिधि बनाएको छ।
राप्रपाको इतिहासमा पहिलो पटक महाधिवेशन प्रतिनिधिमार्फत् नेतृत्व चयन गर्न लागिएको हो।
राप्रपामा ठ्याक्कै कति महाधिवेशन प्रतिनिधि हुन् भन्ने चाहिँ नामावली प्रकाशन भइसकेको छैन। बुधबार बिहान नै नामावली प्रकाशन गर्ने भनिए पनि अध्यक्ष कमल थापा र अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन पक्षबीच विवाद छ।
विवाद टुंग्याइएको भनिए पनि बन्दसत्र सकिन लाग्दा पनि नामावली प्रकाशन भइसकेको छैन।