नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो चितवनबाट काठमाडौं फर्किँदैछन्।
गत बिहीबार भरतपुर पुगेका ओली दसौं महाधिवेशन सकेर काठमाडौं फर्कन लागेका हुन्।
भरतपुरको नारायणी किनारमा भएको एमालेको दसौं महाधिवेशनको उद्घाटन समारोहमा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न पार्टीका नेताहरूलाई स्वागत गरेका थिए।
एमालेको महाधिवेशनमा शुभकामना दिन राप्रपाका अध्यक्ष कमल थापा पनि पुगेका थिए।
बुधबार राजधानीमा सुरू भएको राप्रपाको महाधिवेशनमा भने थापाले ओलीलाई स्वागत गर्न नपाउने भएका छन्। राप्रपाले ओलीलाई महाधिवेशनमा शुभकामना दिन निम्तो पठाएको थियो।
ओलीको सचिवालयका अनुसार अध्यक्ष ओली दिउँसो साढे तीन बजेमात्रै भरतपुरबाट काठमाडौंका लागि जहाज चढ्ने छन्।
एमालेका तर्फबाट अब वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल वा महासचिव शंकर पोखरेल सहभागी हुने छन्।
ओली समयले नभ्याएरमात्रै राप्रपाको महाधिवशेनमा नआएका हुन् कि अरू नै कारण छ भन्ने एकिन छैन। किनकी राप्रपा महाधिवेशन उद्घाटन सत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी छन्।
यसअघि एमालेले महाधिवेशनमा आउन दिएको निम्तो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्वीकार गरिदिएका थिए। प्रचण्डले नेता लीलामणि पोखरेललाई एमाले महाधिवेशनमा पठाएका थिए।
एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भने एमालेले निम्तो नै दिएको थियो।
नेपाली नेताहरूबीच जतिसुकै तिक्तता भए पनि उनीहरूले आपसमा संवादलाई जारी राख्ने गरेको इतिहास छ। तर पछिल्लो समय ओली, प्रचण्ड र नेपालले एउटै मञ्च ‘सेयर’ गर्न पनि नचाहेको देखिन्छ।
पार्टी विभाजनका बेला एक-अर्काको चर्को आलोचना गरेका यी नेताहरूको संवादहिनता कहिलेसम्म जारी रहन्छ भन्ने एकिन छैन।
मंसिर २४ गते सुरू हुने नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटनमा उनीहरूले मञ्च सेयर गर्ने सम्भावना छ।