राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको उद्घाटन सत्र अहिले चलिरहेको छ। काठमाडौंको भृकुटीमण्डपमा भएको उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूले शुभकामना सन्देश दिएका छन्।
शुभकामना सन्देश दिने क्रममा नेकपा (माले) का महासचिव सीपी मैनाली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच घोचपेच भएको छ।
पहिला शुभकामना मन्तव्य राखेका मैनालीले राजा महेन्द्रको प्रशंसा गर्दै उनी राष्ट्रवादी भएको बताएका थिए। उनले नेपालका विभिन्न समयमा भएका परिवर्तनमा विदेशी एजेन्डा पनि सँगै आएको तर्क गरेका थिए।
२०६३ मा माओवादी शान्ति प्रक्रियामा आउँदा पनि भारतका केही एजेन्डा बोकेर आएको मैनालीको जिकिर थियो। आफूले पहिला राजाको विरोध गरेर गल्ती गरेको उनको भनाइ थियो।
मैनालीभन्दा पछि शुभकामना मन्तव्य दिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपासँग आफ्नो मत नमिले पनि दुबै राष्ट्रवादी भएकाले एउटै गोत्रका भएको बताए।
हालै चितवनमा सम्पन्न एमालेको दसौं महाधिवेशनलाई लक्षित गर्दै उनले पार्टी तीन टुक्रा बनाएर एकताको महाधिवेशन भनिएको बताए।
‘राप्रपाका तपाईंहरू तीन जना अध्यक्षहरू सँगै भएर एकता महाधिवेशनको नाम दिनुभयो। तपाईंहरूले जे भन्नुभयो त्यही गर्नुभयो तर यहाँ त पार्टी तीन टुक्रा भएका बेला पनि एकता महाधिवेशन गरेको देखियो,’ प्रचण्डले भने।
त्यसपछि उनले सीपी मैनालीलाई जवाफ फर्काए।
‘म उहाँले भनेजसरी त भन्न सक्दिनँ। तर उहाँले नै हो हिजो राजाको विरोध गर्नुपर्छ भनेर टाउको काट्न सिकाएको,’ प्रचण्डले भने, ‘आज त उहाँले यसरी भन्नुभयो कि मानौं राप्रपाको अध्यक्ष नै हुनलाग्नुभयो। त्यस्तो हो भने उहाँलाई शुभकामना छ।'
प्रचण्डले हिजोका दिनमा राष्ट्रलाई स्वतन्त्र राख्न नेपालीले देखाएको वीरता र त्यसलाई नेतृत्व गरेका राजा-महाराजामा गर्व गर्न सकिने भए पनि एक्काइसौं शताब्दीमा लोकतन्त्रको परिभाषा बदलिसकेको उल्लेख गरे।