राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता राजेन्द्र लिङ्देनले पार्टीका दुई जना अध्यक्षले जस्तै केन्द्रीय कार्यकारिणी भूमिकाबाट अलग हुन अध्यक्ष कमल थापालाई आग्रह गरेका छन्।
काठमाडौंमा भएको राप्रपाको महाधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै लिङ्देनले अध्यक्षद्वय पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई धन्यबाद पनि दिएका थिए।
राणा र लोहनी र थापा अहिले राप्रपा अध्यक्ष छन्। यीमध्ये थापा फेरि पनि अध्यक्षमा उम्मेदवारी दिँदैछन् भने राणा र लोहनीले उम्मेदवारी नदिने बताइरहेका छन्।
राप्रपा अध्यक्षका लागि सांसदसमेत रहेका पूर्वमहामन्त्री लिङ्देन पनि चुनावी मैदानमा छन्। थापा र लिङ्देनबीच अध्यक्षमा प्रतिस्पर्धा हुने भएको छ।
‘दुई अध्यक्ष (राणा र लोहनी)ले हिजो राजनीतिक जीवनको सर्वोत्तम दिनको निर्माण गर्नुभएको छ। उहाँहरूप्रति पार्टी ऋणी र कृतज्ञ रहनेछ,’ मञ्चबाटै लिङ्देनले भने, ‘उहाँहरूलाई धन्यबाद र आभार। यही कुरा अर्का अध्यक्ष (कमल थापा) लाई सादर अनुरोध गर्दछु। समयको पदचापलाई बुझ्नुस्। अगाडि जाने बाटो खोलिदिनुस्।’
उनले तीनै जना अध्यक्षलाई कार्यकारिणी भूमिकाभन्दा अलग हुन पनि आग्रह गरेका थिए।
‘तपाईंहरूको भूमिका अझै पनि चाहिन्छ तर यो कार्यकारिणी भूमिकामा परिवर्तन गर्नुपर्यो,’ उनले भने।
लिङ्देनले राप्रपा राष्ट्रिय मान्यताप्राप्त पार्टीसमेत बन्न नसकेको भन्दै नेतृत्वको आलोचना पनि गरेका थिए।
‘राप्रपा कहाँ छ भनेर खोज्नुपर्ने अवस्था छ। महाधिवेशनमा अहिले चल्मलाएको छ,’ उनले भने, ‘पूर्णरूपमा गतिविधि शून्य छ पार्टीको।’