माओवादी केन्द्रको जारी महाधिवेशनमा पार्टीभित्रको वर्ग विभेदको विषय जोडतोडका साथ उठेको छ। बिहीबार बन्दसत्रमा बोल्ने सबैजसो नेताहरूले नेतृत्व पंक्तिको विलासी जीवनको आलोचना गरेका छन्।
उनीहरूले सँगै युद्ध लडेका कार्यकर्ता अरबको मरूभूमिमा श्रम गर्न बाध्य भएको तर नेपालमा बसेका केही नेता अर्बपति भएको भन्दै व्यंग्य गरेका थिए। यो विभेद हटाउन सबभन्दा पहिला स्थायी कमिटी सदस्यहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ।
लुम्बिनी प्रदेशको सांसदसमेत रहेका महाधिवेशन प्रतिनिधि सुदर्शन बरालले पार्टीभित्रका सम्पत्तिवाल १० जना नेताको सम्पत्ति सार्वजनिक गर्न माग गरेका थिए।
'पार्टी अध्यक्षले संसारका १० धन कुवेरको सम्पत्ति कति छ भनेर सार्वजनिक गर्नुभएको छ। योसँगै हाम्रो पार्टीको पनि कुरा आउनुपर्छ,' बरालको भनाइ उद्धृत गर्दै एक प्रतिनिधिले भने, 'पहिला हाम्रै पार्टीभित्रका १० धन कुवेरको आर्थिक हैसियत थाहा पाउनुपर्ने भयो।'
महाधिवेशन प्रतिनिधिहरूले विभिन्न समूहमा बाँडिएर अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेका थिए। छलफलको निष्कर्ष सुनाउने क्रममा समूहका केही टोली नेताले प्रचण्डले खुमलटारको घर छाड्नुपर्ने सुझाव पनि दिए।
केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले खुमलटार छाडेर कार्यकर्ताले बनाइदिएको घरमा बस्न आग्रह गरेका थिए।
'एउटा व्यापारीको घरमा हाम्रो अध्यक्ष बसेको राम्रो भएन। अध्यक्षले त्यो घर छाड्नुपर्छ भन्ने साथीहरूको धारणा छ,' पराजुलीको भनाइ उद्धृत गर्दै एक महाधिवेशन प्रतिनिधिले भने, 'अध्यक्षका लागि पार्टी सदस्यहरूले नै घर बनाइदिन्छन्।अब अध्यक्षले खुमलटार छाड्नुपर्छ।'
प्रचण्ड २०७४ सालदेखि ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन्।
'हामी ८ लाख पार्टी सदस्य छौं। सबैका तर्फबाट धेरैथोरै सहयोग गरौं। त्यही पैसाले व्यवस्थित घर बनाएर पार्टी अध्यक्षलाई राख्न सकिन्छ,' टोली नेताहरूले भनेका थिए, 'जो अध्यक्ष बन्छ ऊ त्यही घरमा बस्छ। अध्यक्ष बस्ने ठेकेदार बसेको बंगलाको कुरा सुन्दा सुन्दा हाम्रो कान थाकिसकेको छ।'