नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि समूहगत छलफलपछि संयोजकले निष्कर्षहरू प्रस्तुत गरिसकेका छन्।
महाधिवेशनको पाँचौ दिन तथा बन्द सत्रको चौथो दिन साँझ ५ बजेसम्ममा सबै २५ समूहले गरेको छलफलपछिको निष्कर्ष प्रस्तुत गरेका हुन्।
महाधिवेशनको बन्द सत्रमा बुधबारबाट समूहगत प्रस्तुति राख्ने कार्यक्रम सुरु भएको थियो। बुधबार साँझसम्म ११ वटा समूहले प्रस्तुति राखेका थिए। बिहिबार थप १४ वटा समूहले छलफलको निष्कर्ष प्रस्तुत गरेपछि अब भोलि यसमाथि उठेको प्रश्नको जवाफ प्रचण्डले दिनेछन्।
भोलि दिउँसो १ बजे प्रचण्डले उठेका छलफलमाथि जवाफ दिने कार्यक्रम छ। त्यसपछि विधान पारित हुने र त्यसपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिका प्रमुख विष्णु पुकार श्रेष्ठले जानकारी दिए।
‘भोलि विधान पारित भएपछि हामी निर्वाचन कार्यतालिका सार्वजनिक गर्छौ। सम्भवत निर्वाचन हुन्छ होला,’ उनले भने, ‘२ सय ९९ जनाको केन्द्रीय कमिटी बनेपछि पादाधिकारीको निर्वाचन कार्यतालिका बनाउने हाम्रो तयारी छ।’
केन्द्रीय कमिटीले चाहे मात्रै केही दिन पदाधिकारीको निर्वाचन धकेलिने उनले बताए। श्रेष्ठका अनुसार महाधिवेशनलेनै पदाधिकारी चयन गर्दा सकारात्मक सन्देश जानेछ।
निर्वाचन आयोगमा ढिलोमा पनि १ महिना भित्र नयाँ कार्यसमितिको नामावली दिन पर्ने भएकोले पदाधिकारी चयनमा धेरै ढिलो गर्न नमिल्ने उनको भनाई छ।