नेकपा माओवादीका केन्द्रीय सदस्य राम कार्कीले संघीयतालाई व्यवस्थित गर्न नसके जनतालाई पीडा प्रदान गर्ने बुख्याँचा सावित हुनसक्ने चेतावनी दिएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि पुरक प्रस्ताव राख्दै उनले उत्पीडित हिस्साको सहभागिता सुनिश्चित नभएसम्म प्रजातन्त्रको सर्वाङ्गीण विकास हुन नसक्ने उल्लेख गरेका छन्।
कार्कीले केही पुरक,केही नविन धारणाहरु शीर्षकमा १२ पृष्ठको प्रस्ताव राखेका छन्।
'नीति निर्माणमा जनताको विशेषतः चौरमा, चौतारामा, विद्यालय परिसरमा, गुन्द्री, राडीपाखी आदिमा बसेर कुलो, कुलेसो, पुलपँधेरा, बाटोघाटो, स्वास्थ्यकेन्द्र, विद्यालय आदिबारे नीति निर्माण गर्न सकियोस् भन्ने उद्देश्यका साथ हामीले संघीयतालाई आफ्नो राजनीतिक मुद्दा बनाएका हौं’, कार्कीले भनेका छन्, ‘यो निर्धन मुलुकका जनप्रतिनिधिहरू करोडौंको गाडीमा सवार भएर न्वारान, पास्नी, जन्मदिन मनाउने आतिथ्य सत्कार गरुन् भन्ने उद्देश्य हाम्रो कदापि थिएन। संघीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा त ल्याईदियो तर, त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन सकेको छैन।'
उनले पार्टीका सम्मेलन, वैठक, अधिवेशन र महाधिवेशनहरूमा नीति प्रधान कार्यक्रम बनाइनुपर्ने धारणा राखेका छन्।
उनले मार्क्सवाद, लेनिनवाद, माओवादको आलोकमा समाज, इतिहास, अर्थतन्त्र, राजनीति आदिको थप अध्ययन, थप छलफल, थप व्याख्या गर्नुसँगै माक्र्सवाद, लेनिनवाद, माओवादकै पनि थप अध्ययन, थप छलफल, थप व्याख्या गर्न जरुरी रहेको प्रस्ताव गरेका छन्।
नेपालको गणतन्त्र जात व्यवस्था विनाश गर्ने प्रभावी हतियार बनेर विकसित हुनुपर्नेमा जोड दिएका छन्।
‘हाम्रो गणतन्त्रले पितृसत्तात्मक सोचलाई क्रमशः निर्मुल गर्दै जानुपर्दछ। हाम्रो गणतन्त्रले परम्परा, स्वायत्तता आदिको मुखुण्डो लगाएर बाँचिरहन चाहने जडतालाई समाप्त गर्न सक्नुपर्दछ,’ उनले भनेका छन्, ‘राजनीतिक रुपमा स्थापित भएको गणतन्त्रलाई हाम्रो विद्यालयमा, कामका विभिन्न क्षेत्रहरूमा (यहाँसम्म कि घरमा) विस्तार गर्न, विकसित पार्न चुक्यौं भने हाम्रो गणतन्त्रले आफ्नो अर्थ, मूल्य र ग्राह्यता गुमाउनेछ।'
दशकौंदेखि शिक्षामा सुधार ल्याउन गरिनुपर्ने आन्दोलनबाट विद्यार्थी संगठनहरु टाढा रहेको भन्दै उनले किसानहरु सडकमा चुपचाप दुध बगाउने तर आन्दोलनका लागि अगाडि नआउने बताएका छन्।
उनले हरेक पटक अन्तरविरोधहरू सतहमा आउन लाग्दा यो बेलामा अन्तरविरोध चर्किदा पार्टीलाई गम्भीर क्षति हुन्छ भनेर त्यसलाई पन्छाउने गरिएको टिप्पणी गरेका छन्। अहिले पनि उपचारको पूरानै विधि अपनाउनथालेको भन्दै उनले खटिरालाई क्यान्सर हुनदिने प्रवृत्ति त्याग्न सुझाव दिएका छन्।
हेर्नुहोस् पूर्ण पाठ
यो पनि हेर्नुहोस्