नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कुनै बहस र छलफल नगरी प्रचण्डपथ छाड्नु गलत रहेको निष्कर्ष निकालेका छन्।
पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा प्रचण्डले दोस्रो राष्ट्रिय सम्मेलनको निर्णयलाई केन्द्रीय समिति, राष्ट्रिय भेला वा सम्मेलन आयोजना गरेर कुनै बहस छलफल नगरी प्रचण्डपथ हटाउँदा गम्भीर शंका पैदा भएको उल्लेख गरेका छन्।
'प्रचण्डपथबारे पार्टीभित्र गम्भीर बहस, छलफलसहित सम्भव भए राष्ट्रिय सम्मेलन, त्यो सम्भव नभए कम्तीमा केन्द्रीय कमिटीको बैठकमार्फत् त्यसबारे एकरूप धारणा बनाएर निर्णय लिनुपर्थ्यो। तर शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस, छलफल गरी निष्कर्ष निकाल्ने काम गर्न सकिएन,' प्रचण्डले भनेका छन्, 'यी दुवै कुरा नगरी अत्यन्त हल्का ढंगले विषयलाई पन्छाइनु गलत भएको छ। यस सन्दर्भमा कतिपय कोणबाट पुनः प्रचण्डपथ स्थापित गर्नुपर्ने हो कि भन्ने तर्क उठेको देखिन्छ। अब त्यसरी सोच्नु बिल्कुल पश्चगामी सोच हुन पुग्छ।'
उनले प्रचण्डपथ ब्युँताउने कि भनेर सोच्न नहुनेसमेत उल्लेख गरेका छन्।
उनले समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत नयाँ विचार संश्लेषण निम्ति अध्ययन, अनुसन्धान, चिन्तन, मनन, बहस र संघर्षलाई अगाडि बढाउनु आजको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख गरेका छन्।