मुक्ताकुमारी यादवले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सर्वाधिक मत पाएकी छन्। हालसम्मको मतगणनामा धनुषाकी यादवले सबैभन्दा धेरै करिब ४ हजार मत पाएकी छन्।
मधेशी महिलातर्फ केन्द्रीय सदस्यमा विजयी भएकी मुक्ताले खसेको ४६७१ मतमध्ये ३९६० मत प्राप्त गरिन्। अर्थात मुक्ताले करिब ८५ प्रतिशत मत प्राप्त गरेकी छन्।
अहिलेसम्म गणना भएको मतको परिणाममा निर्वाचित उम्मेदवारले प्राप्त गरेको यो नै सबैभन्दा धेरै मत हो ।
यसअघि खुला केन्द्रीय सदस्यतर्फ शशांक कोइरालाले ३८३६ मत प्राप्त गरेका थिए। मुक्ताले शशांकभन्दा १२४ मत बढी ल्याइन्।
मधेसी महिलातर्फ समूहगत उम्मेदवारको नामावलीमा सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र उपसभापति विमलेन्द्र निधि गरेर तीनवटै प्यानलमा उनको नाम थियो।
धनुषा क्षेत्र नम्बर २ स्थित शहीदनगर-१ बालाबाखर निवासी ४४ वर्षीया यादव संविधानसभा सदस्य एवं राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल पूरा गरेकी निवर्तमान सदस्य हुन्।