नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत अहिले केन्द्रीय सदस्यहरूको मतगणना भइरहेको छ।
आइतबार खुलातर्फमा ३५ जना केन्द्रीय सदस्यको टुंगो लागेको छ। खुला केन्द्रीय सदस्यमा निर्वाचित सबै जना पुरूष छन्।
खुलामा कांग्रेस केन्द्रीय सदस्य बन्न ९९ जनाले उम्मेदवारी दिएका थिए। खुलामा उम्मेदवारी दिने सबै पुरूष थिए।
खुलामा सबै पुरूषले जिते पनि कांग्रेस केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित छ।
त्यसका लागि विभिन्न क्लस्टरमा महिलाको सहभागिता सुनिश्चित गरिएको छ। खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्य हुन्छन्। ९ जनाका लागि ३० जना उम्मेदवार छन्। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणा पनि खुला महिलातर्फ उम्मेदवार बनेकी छन्।
हरेक प्रदेशमा पनि महिलाको सहभागिता निश्चित गरिएको छ। हरेक प्रदेशबाट १ जना महिलाका दरले सात प्रदेशबाट ७ जना महिला केन्द्रीय समितिमा आउँछन्।
क्लस्टरअनुसार दलिततर्फ ४, आदिवासी/जनजातितर्फ ७, खसआर्यतर्फ ६, मधेसीतर्फ ४, मुस्लिमतर्फ १, थारूतर्फ २ जना महिला केन्द्रीय सदस्य हुन्छन्।
कांग्रेसमा १२१ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुन्छन्। तीमध्ये ४० जना महिला हुन्छन्। अर्थात् ३३ प्रतिशतभन्दा बढी महिला निर्वाचन जितेर कांग्रेस केन्द्रीय समितिमा आउँछन्।
कांग्रेस विधानले ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था गरेको छ। मनोनित गर्दा पनि समावेशी सिद्धान्तअनुसार गर्नुपर्छ। ३३ जना मनोनित गर्दा कम्तीमा ३३ प्रतिशत महिला हुनैपर्छ।
कांग्रेसको १३ सदस्यीय पदाधिकारीमा महिलाको सहभागी निकै कम छ। सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ बाहेक अरू सबै पदाधिकारी पुरूष छन्। डिनाले महिलातर्फको सहमहामन्त्री जितेकी हुन्।
१४ औं महाधिवेशनमा उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी दिए पनि उनी पराजित भएकी छन्।